आगामी अगष्ट २९ देखि सिड्नीमा आध्यात्मिक महोत्सव हुने भएको छ।
प्रस्तावित ग्रेटर सिड्नी नेपाली बहुसाँस्कृतिक केन्द्र निर्माणका लागि आयोजित सिड्नी आध्यात्मिक महोत्सव ३ दिनसम्म चल्ने छ।
नेपालीहरूको साझा केन्द्र, ग्रेटर सिड्नी नेपाली बहुसाँस्कृतिक केन्द्र निर्माणका लागि सिड्नी सेरोफेरोमा रहने सम्पूर्ण नेपालीहरूमा सचेतना फैलाउन र आवश्यक अर्थ संकलनका लागि यो आध्यात्मिक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष विष्णु हमालले जानकारी दिए।
महोत्सवमा वाचन प्रविण पण्डित दीनबन्धु पोख्रेलको प्रमुख आतिथ्यतामा स्थानीय पण्डितहरूले समेत कथा, धार्मिक एवं आध्यात्मिक प्रवचन दिनेछन्। महोत्सवमा कलश यात्रा पूजाआजा, आरती र भजन कृतन गरिने अध्यक्ष हमालले जानकारी दिए।
सिड्नी आध्यात्मिक महोत्सवलाई सफल बनाउन सम्पूर्ण व्यवसायीलाई आफ्नो क्षमता अनुसार सहयोग गरिदिन र सर्वसाधारण सबैलाई सदस्यता लिन संस्थाका उपाध्यक्ष उमेश पन्तले अनुरोध गरे।
आध्यात्मिक महोत्सवको पहिलो दिन कलश यात्राबाट सुरू हुनेछ। सिड्नीमा रहेका १००८ महिला दिदीबहिनी कलश यात्रामा सहभागी हुनेछन्। यसको संयोजन सचिव मीना शर्माले गर्नेछिन्।
यो अभियान सिड्नीमा नेपाली बहुसाँस्कृतिक केन्द्र स्थापना गर्ने मूल उद्देश्यले स्थापित एउटा साझा अभियान भएको अध्यक्ष हमालले जानकारी दिए।
'यो सम्पूर्ण नेपालीले अपनत्व महसुस गर्ने बहुसाँस्कृतिक केन्द्र हो जुन हाम्रो आगामी पुस्ताले आफ्ना अग्रजले गरेको सुकर्मका रूपमा सगौरव पुस्तान्तरण गरिएको अमूल्य चिनोको रूपमा ग्रहण गर्नेछन्। र समयको गतिसँगै यसमा अरू विस्तार गर्दै र परिष्कृत बनाउँदै जाने छन्,' उनले भने।