ग्लोबल नेपाली
२८ वर्षअघि दाङका सञ्जीव शर्माले आइएससी पास मात्र गरेका थिए। त्यो बेला १८ वर्षका उनलाई विदेश पढ्न जाने मन भयो।
मध्यम वर्गीय परिवारका उनी काठमाडौं आएर पढेका थिए। अगाडिको तह सूचना-प्रविधि (आइटी) पढ्ने भनेर उनी अस्ट्रेलिया गए।
त्यो समय पढ्नका निम्ति विदेश जानेको संख्या निकै कम थियो। जानेहरूलाई पनि अहिले जस्तो सहज थिएन। नयाँ ठाउँ, भाषा र जानकारी नहुँदा अनेक समस्या झेल्नुपर्थ्यो। त्यसमाथि सञ्जीवको कलिलो उमेर। उनका सुरूआती दिन संघर्षमै बिते।
जसोतसो उनी अस्ट्रेलियामा अडिए र आइटी र फाइनान्सिङमा विषयमा स्नातकोत्तर सके। पढाइपछि उनले अकाउन्टिङको काम गरे।
आफ्नो अनुभवका आधारमा उनले आफन्त र साथीभाइलाई अस्ट्रेलिया अध्ययन र आप्रवासनबारे सुझाव पनि दिन्थे। झन्डै एक सय जनालाई सुझाव तथा परामर्श दिएर सहयोग गरेको उनले बताए।
केही समयपछि उनले बद्री अर्यालसँग मिलेर एक्सपर्ट कन्सल्टेन्सी सुरू गरे।
'पढेर फर्किन्छु भनेर अस्ट्रेलिया गएको थिएँ। तर उतै बस्ने भएपछि मैले अस्ट्रेलिया जान खोज्नेलाई सघाउन थालेँ,' सञ्जीवले भने, 'त्यो बेला अस्ट्रेलिया जान खोज्ने कम थिए। सहयोग गर्ने कन्सल्टेन्सी झन् कम थिए। व्यावसायिक रूपमा काम गर्नुपर्छ भनेर बद्रीजीसँग मिलेर कन्सल्टेन्सी सुरू गरेँ।'
सन् २००३ मा सञ्जीव र बद्रीले सिड्नीबाट सुरू गरेको एक्सपर्ट एजुकेसन २४ देशमा फैलिएको छ। यसका सबै शाखा जोड्ने हो भने ६५ पुगिसकेका छन्। एक्सपर्ट ग्रुप अन्तर्गत नेपाल र नेपाल बाहिर कन्सल्टेन्सी र कलेजहरू सञ्चालनमा छन् भने नेपालमा हस्पिटालिटी र हाइड्रोपावरमा पनि लगानी छ।
'रूकुममा हाइड्रोपावर र रारा ताल नजिकै सुविधा सम्पन्न रिसोर्ट बनाउने प्रक्रिया सुरू भएको छ,' उनले भने।
'माइग्रेसन ल' (आप्रवासन कानुन) समेत पढेका सञ्जीव अहिले भने अलि फरक भूमिकामा सक्रिय छन्। उनी पछिल्लो समय व्यावसायिकभन्दा सामाजिक काममा धेरै व्यस्त छन्। गत असारमा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको वाणिज्य दूत नियुक्त भएपछि उनी सामाजिक काममा धेरै केन्द्रित भएका हुन्।
हुन त वाणिज्य दूत कार्यकारी पद होइन, तर राज्यको प्रतिनिधि भएपछि स्वाभाविक रूपमा जिम्मेवार बन्नैपर्छ। न्यू साउथ वेल्स राज्यमा बस्ने नेपाली र नेपाली समुदायलाई पर्ने समस्या समाधानमा उनको पहलकदमी अनिवार्य छ। त्यसका लागि उनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नैपर्छ। साथै, नेपाललाई अस्ट्रेलियामा चिनाउन, पर्यटन, व्यापार र दुई देशको सम्बन्ध सुधार्न पहल गर्ने नै छन्।
झन्डै तीन दशकदेखि अस्ट्रेलिया बस्दै आएका सञ्जीव विद्यार्थीले जीवनमा एक समय संघर्ष गर्नैपर्ने बताउँछन्। अन चुनौतीहरूलाई अवसरमा परिणत गर्दै जानुपर्ने उनको भनाइ छ।

'विदेशमा पढ्न जाने हो भने सुरूआती दिनमा संघर्ष गर्नैपर्छ,' उनले भने, 'हामी आत्तिन र मात्तिन हुँदैन। म यो ठाउँमा यसरी बस्छु, पढेपछि यसो गर्छु भनेर योजना बनाउन जरूरी छ। जिन्दगीमा उतारचढाव आइरहन्छन् भन्ने सोच राखेर अघि बढे मानसिक समस्याको समेत सामना गर्न सकिन्छ।'
उनी अस्ट्रेलिया जाने बेलामा अहिले जस्तो सामाजिक सञ्जाल थिएन। संसारको अर्को कुना कति फरक हुन्छ भन्ने उनलाई जानकारी पनि थिएन। त्यो बेला पढाइका सामग्री खोज्नदेखि डेरा खोज्नसम्म पनि अनेकन चुनौती खेप्नुपर्थ्यो।
आप्रवासन क्षेत्रमा काम गरेकाले नेपाली समुदायका समस्यासँग लामो समयदेखि परिचित सञ्जीवले वाणिज्य दूत भएपछि यसलाई अझ नजिकबाट नियालेका छन्। सिड्नीस्थित उनको कार्यालयमा धेरैले गर्ने गुनासो आउने चाहिँ पासपोर्टकै विषयमा हो। पासपोर्ट नवीकरणका लागि सिड्नीबाटै सहजीकरण गर्न पाए नेपालीको एउटा महत्वपूर्ण समस्या हल हुने उनको बुझाइ छ।
'पासपोर्ट नवीकरणका लागि क्यानबेरास्थित नेपाली दूतावास पुग्नुपर्छ। समय र पैसा दुवैको खर्च बढ्छ,' उनले भने, 'यसको सहजीकरण कसरी गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौं। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र दूतावाससँग समन्वयको पहल गर्नेछौं।'
अस्ट्रेलियामा नेपाली डायस्पोरा ठूलो भइसकेको र यसलाई नेपालको हितमा कसरी लगाउन सकिन्छ भनेर पनि आफूले प्रयास गर्ने उनले बताए। त्यस्तै, अस्ट्रेलियामा हुर्किएको नेपाली मूलको नयाँ पुस्तालाई नेपालसँग जोड्ने प्रयासमा छन् उनी। नेपालमा पर्यटन, लगानी कसरी बढाउन सकिन्छ भनेर अस्ट्रेलियाका विभिन्न क्षेत्रमा पहल गरिरहेको पनि उनी बताउँछन्।
'नेपाल र अस्ट्रेलियाबीचको व्यापार सम्बन्ध बढाउन, नेपालमा लगानी भित्र्याउन र अस्ट्रेलियासँगको सम्बन्ध अझै गाढा बनाउन पहल गरिरहेको छु,' उनले भने, 'हामीले लगानीकर्तालाई स्वागत गर्न सहजीकरण गर्न जरूरी छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]