अस्ट्रेलियामा नेपाली
पश्चिम अस्ट्रेलियामा पर्ने पर्थ सिटीको क्यानिङ्टनमा म्याङ्गलेसी अर्ली लर्निङ सेन्टर छ। यो चाइल्ड केयर सेन्टरमा ६ हप्तादेखि १२ वर्षसम्मका बच्चाहरूलाई हेरचाह गर्ने, खेलाउने र पढाउने गरिन्छ।
यो चाइल्ड केयरका सञ्चालक हुन् नविन भण्डारी। अस्ट्रेलियाभरीमै यस्ता चाइल्ड केयर सेन्टर सायदै छन्, जसमा नेपाली भाषीको लगानी छ। अन्य नेपालीले गर्नेभन्दा फरक क्षेत्रमा भण्डारीले लगानी गरेका छन्। उनको लगानीमा अस्ट्रेलियाको पर्थमा म्याङ्गलेसी अर्ली लर्निङ सेन्टर र सामसुङ किन्डरगार्टेन गरी दुई वटा चाइल्ड केयर सेन्टर छन्।
अस्ट्रेलियामा आएर चाइल्ड केयर सेन्टर खोल्नु उनका लागि आकस्मिकता भने होइन।
उनी सन् २००८ मा अस्ट्रेलिया आउँदैमा उनलाई एकदिन यो काम गर्छु भन्ने लागेको थियो। अस्ट्रेलियाको सिड्नीमा दुई वर्षे अर्ली चाइल्डहुडको पढाइ सकेपछि उनले केही वर्ष अस्ट्रेलियाको दुर्गम क्षेत्रमा काम गरेका थिए।
सन् २०१३ मा पर्थ आएका उनले त्यसपछि यहाँका विभिन्न चाइल्ड केयर सेन्टरको नेतृत्वमा रहेर काम गरे। २०२० देखि उनले बाबा एजुकेसन ट्रष्ट सुरू गरेका हुन्। बाबा एजुकेसन ट्रष्ट राख्नुको पछाडिको कारण भनेको उनका बुवा हुन्।
उनका बुवा स्व. थानेश्वर भण्डारीले बालकुमारी कलेज नारायणगढमा लामो समय पढाएका थिए। बुवाकै सम्झनामा उनले अस्ट्रेलियामा बाबा एजुकेसन ट्रस्ट स्थापना गरेका हुन्। नविनका दाजु शरद भण्डारी पनि शिक्षा क्षेत्रमै आबद्ध थिए।
एसओएसको नेतृत्व तहमा रहेर काम गरेका शरद २००८ देखि अमेरिकामा छन्। नारायणगढमा भण्डारी परिवारले स्थापना गरेको इडर्न गार्डेनमा नविनले १० वर्ष सम्म काम गरेका थिए। नेपालको पारिवारिक विरासतलाई नविनले अस्ट्रेलियामा आएर समेत निरन्तरता दिएका छन्। एक छोरा र छोरीका बाबु ४४ वर्षीय नविनलाई उनकी श्रीमती विद्या शर्माले साथ दिएकी छन्। अर्थात् दुई जनाको नेतृत्वमा अरू १५ जनाले रोजगारी पाएका छन्।
‘मैले गरेको काम नेपालीहरूको लागि नौलो हो। हुन त सबै काममा चुनौती नहुने भन्ने हुँदैन। यसमा अझै चुनौती छ जस्तो मलाई लाग्छ,’ नविनले सेतोपाटीसँग भने, ‘जस्तोसुकै काम गरे पनि आफू टिक्न सकियो भने लगानी खेर जाँदैन। मैले जुन चुनौती मोलेर लगानी गरेको थिएँ। अब विस्तारै प्रतिफल आउन थालेको छ।’
आफैले केही गर्नुपर्छ भन्ने उनको सोच अस्ट्रेलिया आएदेखि नै थियो। तर समय जुरेको थिएन। त्यो समय उनका लागि २०२० मा सहज बन्यो। त्यसपछि उनले पर्थको सामसुङ भन्ने ठाउँमा सामसुङ किन्डरगार्टेन स्थापना गरे।
त्यो किन्डरगार्टेनमा ३ देखि ५ वर्षका बच्चाहरूलाई राखिन्छ। सन् २०२३ मा क्यानिङटनमा म्याङ्गीलेसी अर्ली लर्निङ सेन्टर खोलेका हुन्। यो चाइल्ड केयर सेन्टरमा अधिकांश बच्चाहरू नेपाली समुदायका छन्।
अस्ट्रेलियामा चाइल्ड केयर सञ्चानल गर्नका लागि धेरै प्रक्रिया पूरा गर्नुपर्छ। सरकारले अनुदान दिने र बच्चाहरुको हेरचाह जस्तो संवेदनशील क्षेत्र भएकाले चाइल्ड केयर सेन्टरमा तिनै तहका सरकारले निगरानी गर्छन्। सरकारले ५ वर्ष मुनिको एउटा बच्चालाई दैनिक १ डलर खर्च गर्दा त्यो बच्चा १८ वर्ष पुगेपछि दैनिक रूपमा राज्यको १७ डलर जोगिने विभिन्न तथ्यांकले देखाएको छ।
त्यो भनेको एउटा बच्चालाई उचित र अनुशासित शिक्षा दिन सकियो भने उसका लागि राज्यको व्ययभार कम हुन्छ भन्ने हो। त्यसैले एउटा बच्चाको लागि अस्ट्रेलिया सरकारले हप्तामा झण्डै ७ सय ५० डलरसम्म लगानी गर्छ।
कुन बच्चाको लागि कति खर्च गर्ने भन्ने निर्धारण उसका अभिभावकको कमाइको आधारमा हुन्छ। राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर बालबालिकाको लागि खर्च गर्ने भएकाले यहाँ बेलामौकामा नियम समेत परिवर्तन भइरहने नविनले बताए।
‘पर्थको हकमा यो व्यक्ति अर्लि चाइल्डहुड चलाउन सक्षम छ भनेर डिपार्टमेन्ट अफ एजुकेसन वेस्टर्न अस्ट्रेलियाबाट लाइसेन्स लिएको हुनुपर्छ। डिपर्टमेन्टमा निवेदन दिएर उनीहरू आएर सबै अनुगमन गरेपछि मात्र अनुमति पाइन्छ,’ उनले भने, ‘चाइल्ड केयर सेन्टरको भवन, कम्पाउण्ड, किचन, ट्वाइलेट लगायतका सबै पूर्वाधारको समेत अनुगमन र निगरानी हुन्छ।’
उनका अनुसार अस्ट्रेलियामा चाइल्ड केयर महँगो छ र छैन पनि। महँगो यस अर्थमा छ कि दैनिक शुल्क धेरै छ। महँगो किन छैन भने सरकारले सहयोग गर्छ। अर्थात् सरकारले एउटा बच्चाको लागि ९५ प्रतिशतसम्म सहयोग गर्छ। यो उसको अभिभावकको आम्दानी र हैसियतमा भर पर्छ। यो सहुलियत संघीय सरकारले दिने हो।
मेडिकेयर सुविधा नभएका अभिभाकहरूले भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म राख्दा आफ्ना बच्चाको लागि दैनिक ९० डलर खर्च गर्नुपर्छ। चाइल्ड केयर सेन्टरले पाएको कोटाभन्दा एक जना पनि बच्चा धेरै राख्न पाइँदैन। बच्चाहरूको सिकाइ कसरी भइरहेको छ, उनीहरू कस्तो वातावरणमा खेलिरहेका छन्, सरसफाइ अनि स्वस्थ खानाबारे काउन्सिलले जुनसुकै बेला पनि छड्के निगरानी गर्न सक्छ।
अधिकांश क्षेत्रमा अनुगमन गर्नुभन्दा पहिला यहाँको सम्बन्धित निकायले जानकारी गराउँछ तर चाइल्ड केयर सेन्टरमा जुनसुकै बेला पनि आकस्मिक अनुगमन हुनसक्ने नविनले बताए।
बच्चाहरूको लागि कोटा खाली भयो भने सबैभन्दा पहिला चाइल्ड प्रोटेक्सन डिपार्टमेन्टले राख्न चाहेको बच्चा राख्नु पर्छ।
‘हामीसँग कोटा बाँकी छ भने चाइल्ड प्रोटेक्सन डिपार्टमेन्टले सिफारिस गरेका बच्चा राख्नुपर्छ। त्यो भनेको जोखिममा रहेका अनि पारिवारिका हिंसामा परेका बच्चाहरू हुन्,’ उनले भने।
दुई वटा चाइल्ड केयरमध्ये म्याङ्गलेसी अर्ली लर्निङ सेन्टरमा स्कुल होलिडेमा समेत बच्चाहरू राखिन्छ। यहाँका चाइल्ड केयर सेन्टरमा अभिभावकले आफ्नो काम गर्ने समयका आधारमा बच्चालाई राख्छन्।
चाइल्ड केयर सेन्टरमा बच्चाहरूको लागि एउटा रूटिङ बनाउनुपर्ने उनले बताए। त्यो भनेको प्रकृतिसँग खेल्न दिने, बच्चाहरूको चाहना अनुसार खेलाउने, खुवाउने, सुताउने लगायत हो।
‘लाइसेन्स लगायतका प्रक्रिया पूरा गर्न धेरै गाह्रो भए पनि चाइल्ड केयर सेन्टर चलाउन कठिन भने छैन,’ उनले भने, ‘आफूसँग अनुभव हुने र कामप्रतिको लगाव हुने हो भने कोटा अनुसारको बच्चा राख्न गाह्रो छैन। यसका लागि संवेदनशील भएर काम गर्नुपर्छ।’