अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेटर अभिनास बोहरालाई एनआरएन अस्ट्रेलिया एनएसडब्लुका सचिव विनोद कुँवरले सिड्नीमा नगदसहित सम्मान गरेका छन्।
सिड्नीमा पढाइ सकेर सम्बन्धित विषयमा कामको खोजीमा रहेका विद्यार्थीहरूलाई प्राविधिक शिक्षासहित जागिर लगाउने उनको शिक्षालय एक्स्ट्राटेकमार्फत् विनोदले अभिनासलाई सिड्नीमा सम्मान गरेका हुन्।
कार्यक्रममा सम्मानित राष्ट्रिय क्रिकेटर बोहराले अस्ट्रेलियामा रहेको एनआरएन लगायतका नेपाली समाजले सम्भावना बोकेका युवा क्रिकेटरलाई दुई तीन महिने अस्ट्रेलिया प्रशिक्षणमा बोलाइदिए मुलुकको क्रिकेटको विकासमा टेवा पुग्ने बताए।
सम्मान कार्यक्रममा बोल्दै युवा व्यवसायी विनोद कुँवरले खेलाडी राष्ट्रका गहना भएकोले उनीहरूलाई स्वदेशमा खेलेरै सम्मानित जीवनयापन गर्ने अवस्थामा पुर्याउनु राज्यको दायित्व भएको बताए।
आधुनिक विश्वमा खेलुकद मुलुक चिनाउने माध्यम भएकोले खेलाडीहरू सद्भावना राजदूत समेत भएको जिकिर गर्दै उनीहरूलाई सम्मान गर्नु सबैको कर्तव्य भएको सुनाए।
एनआरएनको आसन्न निर्वाचनमा उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजकका उम्मेदवार समेत बनेका विनोदले नेपालको भैरहवामा आफ्नै लगानीमा निजी रंगशाला समेत निर्माण गर्दैछन्।
उनको यो परियोजनाको प्रारम्भिक कार्यको थालनी समेत भैसकेको छ।
क्रिकेटको विकासको लागि भौतिक पूर्वाधार अहिलेको आवश्यकता भएको उनको ठहर छ।
कार्यक्रममा प्राध्यापक राजु मानन्धर,जनसम्पर्क समितिका एनएसडब्लु राज्य संयोजक शितल खाण, ग्रानभिल क्लबका अध्यक्ष भिम बस्नेत, युवा व्यवसायीहरू राज पाख्रीन,सन्तोष श्रेष्ठ, कल्याण खड्का, रोशन भट्टराई लगायतले अविनाशलाई खादा ओढाएर सम्मान गरेका थिए।