कोभिड १९ को महामारीपछि मानसिक स्वास्थ्य तथा व्यवसायमा परेका असर न्युनिकरणबारे सिड्नीमा एक कार्यक्रम आयोजना गरिएको छ।
साउथ वेस्ट नेप्लिज कम्युनिटीले न्यु साउथ वेल्स राज्यको बहुसांस्कृतिक विभागको सहयोगमा आयोजना गरिको कार्यक्रम नेपाली समुदायलाई लक्षित गरि आयोजना गरिएको हो।
कोभिड १९ ले जनजीवन नराम्रोसँग प्रभावित पारेको भन्दै त्यसले मानसिकरूपमा निकै असर पारेको सहभागिले बताएका थिए।
कार्यक्रममा मानसिक स्वास्थ्यको असर कसरी कम गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र समेत प्रस्तूत गरिएको थियो।
सहभागिले मानसिक स्थास्थ्य कायम राख्न खानपान तथा व्यायाममा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए। यस्तै व्यापार व्यवसायसमेत कोभिडले चौपट्ट पारेको भन्दै सहभागिले कोभिडपछि कसरी पुरानै लयमा फर्किन सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा लिवरल पार्टीका संघीय निर्वाचनका उम्मेद्वार नेपाली मुलका अष्ट्रेलियन नागरिक विनोद पौडेलले नेपाली कम्युनिटीको हितका लागि यस्ता कार्यक्रमको आवश्यकता भएको भन्दै आफू निर्वाचित भए संघीय संसदमा कोभिडका कारण अन्य समुदाय जस्तै नेपाली समुदायमा पनि असर परेको भन्दै संसदमा कुरा उठाउने बताए।
कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सांसद एनालग चान्थीभोमले न्यु साउथ वेल्सका विभिन्न स्थानमा नेपाली समुदायको उपस्थिति रहेको भन्दै नेपाली समुदायले अष्ट्रेलियाको सामाजिक कार्यमा सयहोग गरेको भन्दै प्रशंशा गरेका थिए।
यस्तै क्याम्बेटाउन सिटी काउन्सिलका मेयर जर्ज ग्रेसीसले आगामी दिनमा पनि नेपाली कम्युनिटीले समाजिक सेवा लगायतका विषयमा निरन्तरता दिने विश्वास व्यक्त गरे।
साउथ वेस्ट नेप्लिज संस्थामा करिब दश हजार नेपालीको सहभागिता छ। न्यु साउथ वेल्स राज्यको सबैभन्दा ठूलो नेपाली सामुदायिक संस्थाले यसअघि कोभिडबाट संक्रमितमित सहयोग गरेको थियो।
यस्तै संस्थाले अष्ट्रेलिया आएका नेपाली विद्यार्थी र घुम्न आएका अभिभावकलाई विभिन्न अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ।