म कहिलेकाहीँ सोच्दछु यदि मेरो चोर औंलामा सुदर्शन चक्र हुने हो भने संसारमा भइरहेको हरेक अराजकता र असत्यमाथि सजिलै विजय पाउँथेँ होला।
यदि मेरो हातमा दुर्गा माताले बोक्नुभएको जस्तो त्रिशूल हुने हो भने संसारका हरेक बलात्कारीहरू त्यही त्रिशूलले चिराचिरा पारिदिन्थेँ होला अनि कैयौं निर्मलाहरूलाई न्याय दिन्थेँ होला।
यदि मसँग भगवान शिवको जस्तै तेस्रो नेत्र हुन्थ्यो भने देशद्रोही, भ्रष्टाचारी, शोषक र सामन्तीहरूलाई भष्म गरिदिन्थेँ होला। र, उनै भगवान शिवको जस्तो धैर्यता र अथाह सहने शक्ति हुने हो भने जगत भलोको लागि सजिलै कालकुट विष पिइदिन्थेँ होला।
किताबमा लेखिएको जस्तो र हामीलाई सुनाइएको जस्तो सर्वसम्पन्न गुणले भरिपूर्ण म त्यो भगवान होइन र त्योसँगै भयानक रूपमा प्रस्तुत गरिएका जस्तो दानव पनि होइन। तर यसो भनिरहँदै गर्दा अलिअलि भगवान र अलिअलि दानव मिसिएको म एउटा मानव हुँ।
यही मानवको कर्म कहिलेकाहीँ अलि बढी राम्रो हुँदा भगवान् हुन जान्छ भने अलि बढी खराब हुँदा दानव हुन जान्छ।
यदि हामी मानव भगवान भइरहने हो भने हामीबाट कहिले पनि केही गल्ती नहुनु पर्ने हो र यदि दानवै हो भने पनि हाम्रो मनमा कुनै केही चिजप्रति दया नै नहुनुपर्ने हो।
हामी मानवबाट हजारौं गल्ती भइरहँदा हजारौं पुण्यको काम पनि भइरहेको छ।
हामीले कति पाप गरेका छौं, कति पुण्य गरेका छौं, त्यसको लेखा जोखा हामी आफैंले गरेका छौं होला। तर पनि हामी पुण्यको काम गरेर जितिरहेका छौं अनि हजार गल्तीहरू गरेर हारी पनि रहेका छौं।
हामी हार्दै जितिरहेका छौं। हामी जितेर हारिरहेका छौं। हामी लड्दा लड्दै उठेका छौं अनि उठेर हिँड्दा हिँड्दै लडेका पनि छौं।
आजकाल अलि बढी सोसल मिडियामा देख्ने गर्छु। मानवहरूलाई छानीछानी देवत्वकरण गरिरहेका छन् र छानीछानी दानवीकरण पनि गरिरहेका छन्।
भगवान र दानव बनाउने होडबाजीमा तिनीहरू मानव हुन् भनेर बिर्सिरहेका छौं। विडम्बना हामीले असल मानवलाई असल मानवको दर्जा दिनतिर लागिरहेका छैनौं र खराब मानवलाई खराब मानवको संज्ञा दिनतिर लागिरहेका छैनौं। हामीलाई त वस् कि भगवान बनाउँनुछ कि त दानव।
एउटा मानवले एकदमै असल काम गर्यो भने ऊ एकक्षणमै भगवान भइहाल्छ र त्यही मानवबाट केही गल्ती भयो र केही कमजोरी देख्यो भने उत्तिनै खेर दानव भइहाल्यो।
एउटै व्यक्तिलाई भगवानको सुनको ताज लगाउन हामी तछाडमछाड गर्छौं अनि एकैछिनमा त्यो ताज निकालेर उसलाई बहिष्कार र विरोध गर्न केही क्षण पनि लगाउँदैनौं।
हामीले उनीहरूलाई भगवान र दानव बनाउँदा बनाउँदा मानव बन्नै दिँदैनौं। मानवलाई मानव भएर बाँच्नै दिँदैनौं।
मानवलाई मानवीकरण गरेर प्रशंसा र विरोध गरेको राम्रो देखिन्छ र मानवलाई मानव भएर नै बाँच्न सिकाउनु पनि पर्छ।
बहसको विषय भगवान र दानवभन्दा पनि मानवको हुनुपर्दछ।