सुन्दर भविष्यको कल्पनासँगै उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका कैयौं विद्यार्थी यतिखेर सहजकर्ता र कलेजको फेरो अनि आफैंले मेलो विराएपछि बाध्यताको शिकार बन्न पुगेका छन्।
नर्सिङ कलेजहरूमा विद्यार्थीहरूलाई नजानिदो तवरले डिप्लोमा अफ नर्सिङको धागो बुनेर ल्याइँदै गर्दा सयौं विद्यार्थीहरू फेरि पनि भाषागत कक्षा(आइएलटीएस वा पीटीइ)को आवश्यक अंकको चक्करमा फसेर अन्यौलमा पर्न थालेका छन्।
सन् २०१८ को मध्यतिर अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफरी एक्रिडिएसन काउन्सिल(एन्म्याक)ले भाषागत परीक्षामा प्रत्येक विषयमा सात अंक ल्याउने विद्यार्थीले मात्र डिप्लोमा अफ नर्सिङ पढेर इनरोल नर्स बन्न पाउने प्रावधान ल्याएपछि यो समस्या विकराल रूपमा देखापरेको हो।
यतिखेर तीस, चालिस जनाको क्षमता भएका कलेजको पनि होडबाजी छ। उनीहरूले पाँच, सात सय विद्यार्थीहरूलाई डिप्लोमा अफ नर्सिङ पढाउँदै छन्।
यतिमात्र हैन विद्यार्थीहरू डिप्लोमाका लागि सर्टिफिकेट फोर समेत पढिरहेका छन्।
कतिपयले डिप्लोमा नै पढाइरहेको अवस्था पनि छ। कलेजहरूलाई थाहा छ,भाषा परीक्षामा सात अंक नल्याएका विद्यार्थीलाई डिप्लोमा अफ नर्सिङ पढाएर इनरोल नर्सको दर्जा दिन पाइँदैन भनेर। तर पनि कलेज चलाउन र पैसा कमाउन भर्ना प्रक्रिया रोकिएन।
परामर्शदाताहरूले पनि पैसाको जालो बुन्न सर्टिफिकेट फोर टु डिप्लोमा अफ नर्सिङ भनेर कमिसनको जालो बुनेको देखिन्छ। नत्र नेपालमा १२ कक्षा पास गरेका विद्यार्थीलाई किन सिधै ब्याचलर अफ नर्सिङ पढ्न प्राविधिक शिक्षालय (टेफ) र विश्वविद्यालय पठाउने सल्लाह किन दिएनन् शैक्षिक परामर्शदाताहरूले?
अस्ट्रेलियामा सरकारी प्राविधिक शिक्षालयका रूपमा रहेको टेफमा भने निकै स्तरीय पढाइ हुने गर्दछ। जसलाई अस्ट्रेलियन सरकारले पनि प्राथमिकताको सूचीमा राखेको छ।
सर्टिफिकेट फोर र डिप्लोमा अफ नर्सिङ पढेर इनरोल भइसक्दा पनि ब्याचलर डिग्रीका लागि एक वर्ष क्रेडिट पाइन्छ र इनरोल नर्सका रूपमा काम गर्ने मौका पाइन्छ।
तर सर्टिफिकेट फोर डेढ वर्ष पढेर,चौबिसे महिने डिप्लोमा पढिसकेपछि ब्याचलरका लागि एक वर्ष क्रेडिट पाउने विषयलाई बढावा दिने विद्यार्थी र अभिभावक स्वंय पनि हुन्। ग्लोबल भिलेजको जमानामा संसार जान्ने नयाँ पिँढीहरू आफू के पढदैछु र यो पढेपछि के पाइन्छ? भन्ने विषयमा समेत अन्यौलमा हुनु उनीहरूको कमजोरी पनि हो भन्नुपर्छ।
केही पढ्दै नपढी बुझ्दै नबुझी अस्ट्रेलिया जाने भनेपछि जता सुकै अफर लेटर र सिओइमा हस्ताक्षर ठोकिहाल्ने बानीले पनि पिरोलेको छ।
अफर लेटरमै हस्ताक्षर गरेपछि विद्यार्थी कानुनी रूपमा पहिलो पटक चुक्छन्,जँहा लेखिएको हुन्छ, म मेरो अभिभावकको खर्चमा अस्ट्रेलिया पढ्न जाँदैछु र पढाइ सकेर मेरो देश फर्कनेछु भनेर।
त्यसपछि अफर लेटरमा ससाना अक्षरमा लेखिएका एन्म्याकसँगका सम्वन्धन र अन्य विषयहरू त ख्यालै गर्दैनन् उनीहरू ।
यसरी नबुझीकन पचासौं लाख खन्याएर पढ्न पठाउने अभिभावक र भिसा लगाएर उड्न पाए भयो भन्ने मानसिकताका विद्यार्थीहरूको पनि कमजोरी हो।
साथै कलेजको मात्र होइन कन्सलटेन्सी उत्तिकै जिम्मेवार हुनुपर्दछ।
कानुनी रूपमा हस्ताक्षर गराएर वा मीठो भाषा मिलाएर विद्यार्थीलाई अस्ट्रेलिया ल्याइपु्र्याएपछि उनीहरूको कमिसनको खेलो सकिन्छ । तर त्यसपछि विद्यार्थीको गाइडेन्स उनीहरूको कर्तब्यभित्र पर्छ कि पर्दैन? यो नैतिक प्रश्न हो। नेपालबाट विद्यार्थी ल्याउँदै गर्दा शुल्क र कमिसन लिएपछि उनीहरूको भविष्यको सकारात्मक बाटो पहिल्याइदिने जिम्मेवारी परामर्शदाताहरूको पनि हो।
यस्ता कलेजले विद्यार्थीको कुल फिबाट पन्ध्रदेखि चालिस प्रतिशतसम्म कमिसन एजेन्टहरूलाई दिने गर्छन् जुन सबभन्दा चासोको विषय हो ।
अस्ट्रेलिया आएर कलेज देखाएपछि परामर्शदाताहरूको काम सकियो।
अस्ट्रेलियाको शिक्षा पनि बडो विचित्रको छ, संसारमा कहलिएका विश्वविद्यालय पनि यही छन् अनि नेपालमा नबिक्ने डिप्लोमाका ठेलीहरू पनि यतै छन्।
पचासौं हेक्टरमा फैलिएका विश्वविद्यालयको ताँती अनि नेपालका ट्युसन सेन्टरजस्ता कलेजहरू पनि खचाखच छन् यहाँ।
यस वर्ष मात्र सरकारी निकाय अस्ट्रेलियन स्कील क्वालिटी अथोरोटी (अस्क्वा)ले नियमनभित्र नपरेका एक सय ६० कलेजलाई खारेजी गरेको कुराले यहाँको शैक्षिक क्षेत्रको आरोह र अवरोहलाई सहजै ठम्याउन सकिन्छ।
नेपाली समाज बाक्लिँदै जाँदा व्यवसाय र उद्योगहरूमा पनि पहुँच बढेकै छ। शैक्षिक उद्योगमा पनि करिब दुई दर्जन नेपालीहरू बजारमा प्रतिस्पर्धा गर्दैछन्।
अन्य विषयगत कुरामा भेट कोर्ष अर्थात् तल्लो डिभिजनहरूका लागि अवसरका रूपमा अनि डिप्लोमा र एडभान्स डिप्लोमा पढ्दै पैसा कमाउँदै ब्याचलर पढ्ने तर्क प्रोभाइडरको रहन्छ। जानेर थोरै पैसामा कमाउँदै पढाइ अगाडि बढाउँदै गर्नेका लागि यो अवसर पनि होला । तर प्राय विद्यार्थीको लागि सहज बाटो भए पनि उच्च अध्ययनको सन्दर्भमा दिगो भने देखिँदैन। तर कमजोरका लागि पढाइभन्दा पनि कमाइ र बसाइका लागि सहज शिक्षा भने हो यो।
पछिल्लो समस्या र कलेजको सन्दर्भमा नर्सिङ चलाइरहेका अस्ट्रेलियाका कलेजहरूमा लगभग दुई हजार नेपाली विद्यार्थीहरू सातको चक्करमा रुमल्लिरहेका छन्। त्यतिमात्र होइन कलेजमा पढेका विद्यार्थीलाई रिलिज नदिएर जेलाउने खतरा पनि बढेको छ। पछिल्लो वर्षमात्र यहाँको शैक्षिक निकायले रिलिजको जिम्मेवारी प्रोभाइडरको हातमा सुम्पेपछि उनीहरूको दादागिरी पनि बढेको छ।
भर्खरै मात्र एउटा कलेजमा डिप्लोमा पढिसकेर अर्को विश्वविद्यालय जान्छु भन्ने केही विद्यार्थीलाई रिलिज नदिएको घटनाले बजार तातेको छ।
विश्वविद्यालय विद्यार्थी अर्को विश्वविद्यालय वा शैक्षिक निकायमा जाँदा एजेन्टको कमिसन गुम्ने र प्रोभाइडरको फिस पनि नआउने कारण पनि विद्यार्थीलाई झुलाउने प्रचलन बढेको छ।
यसले साँच्चीकै सुन्दर भविष्यको सपना बोकेर आउने नेपाली विद्यार्थीको शैक्षिक जीवनमाथि खेलवाड गरेका देखिन्छ।
पछिल्लो परिदृष्यमा अस्ट्रेलिया संभावनाको एउटा उद्गम थलो पनि हो तर नबुझेर अनि नजानेर आउँदै गर्दा भडखालोमा परेकाको पनि कमी छैन।
एन्क्याकले भाषागत परीक्षामा सात नल्याई नर्सिङ एन डिप्लोमा पढ्न नपाउने व्यवस्था गरे पनि अहिले पनि केही कलेजमा सात पूर्णांक ल्याउन नसकेका करिब ८० प्रतिशत विद्यार्थी पढिरहेका देखिन्छ। यी कलेजहरू एन्क्याकसँग आवद्धता भए पनि यिनीहरूले भाषागत परीक्षामा सात नल्याएका विद्यार्थीलाई पढाएता पनि इनरोल नर्सको आधिकारिकता दिन सक्दैनन्। फेरि समस्याको जरो त्यहीँबाट प्रारम्भ हुन्छ।
विद्यार्थीहरूको सपना यसै बिन्दुबाट तुहिन्छ। जे पढ्ने भनेर लाखौं रकम खर्चेर कलेज भर्ना भए त्यही चिज नपाएपछि के काम!
पछिल्ला घटनाक्रमले देखाएको परिस्थिती हेर्ने हो भने यस्ता कलेजले उचित व्यवस्थापन गरेर विद्यार्थीहरूलाई आफ्नो पक्षमा राख्न सकेन भने फेरि पनि एक हजार विद्यार्थीको समस्या चाँडै नै बाहिर आउने पक्का छ ।
कुनै पनि पेशा आफैंमा खराब र नराम्रो हुँदैन , हरेक पेशामा इमानदार पनि छन् र बेइमान पनि । शैक्षिक परामर्शको क्षेत्रमा पछिल्लो समयमा देखिएका केही विसंगति केलाउँदा देखिएको यो एउटा समस्या हो।
राम्रा भन्दा हाम्राले पश्रय पाउँदा यस्ता समस्याहरू आउन थालेका हुन्। पेशामा इमानदारिता र नैतिकता, मूल्य र मान्यता भित्रका परिसूचक हुन्।
त्यस बाहेक पनि एन्म्याकसँग एक्रिडिएट नभएका अन्य कलेजले पनि सयौं नेपाली विद्यार्थीहरूलाई यस्तै समस्या देखिएको छ।
एन्म्याकले पछिल्लो पटक दर्ता नभएका कलेजले नर्सिङ विद्यार्थी भर्ना नलिनु भनेर प्रेस रिलिज जारी गरिसकेको अवस्थामा भने आगामी दिनमा यस्ता कलेजमा नेपाली विद्यार्थी आउँदैनन भन्ने विश्वास छ। तर पनि जेलिएको शिक्षा पद्दती र घुमाउरो कलेज नीतिले कतिलाई पिरोल्ने हो त्यो भने हेर्न बाँकी नै छ।