झलक्क हेर्दा र सुन्दा उनलाई यो तहको व्यक्तित्व हुन् भनेर अडकल काट्नै मुस्किल हुन्छ। नाम पनि उस्तै भगवान राम र सीता माताको जोडी बाँधेर बनाएजस्तो सीताराम।
हिन्दु कलेबरको यो नाम सीताराम अस्ट्रेलियाको बजारमा आफैंमा फरक र अलग हो। नामले पनि उनको परिवारको हिन्दुत्वप्रतिको प्रगाढ आस्था दर्शाउँछ।
अस्ट्रेलियाको नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व डाक्टर सीताराम जोशी यस पटक सेतोपाटी संवादको रोजाइमा परेका छन्।
हत्तपत्त समाचारको विषयभित्र पर्न नचाहने यी डाक्टरले सेतोपाटीसँग अन्तरंग कुरा गरे।
सिधा कुरा प्रष्ट जवाफ, सीतारामको पहिचान हो। ‘समाचार बनेपछि धेरैले चिन्छन् अनि त्यसले व्यक्तिगत जीवन प्रभावित हुन्छ। म जे छु ठिकै छु, बिथोल्न नआऊ, जसले जसरी चिन्छन् त्यही नै मजा हो,’ डा सितारामले सेतोपाटीसँग भने।
साधारण भेटमा कुराकानी गर्दा देखिएका डा सीतारामलाई उनको कर्मथलोमा भेट्दा आकाश जमिनको फरक पाइयो। सिड्नीबाट डेढ सय किलोमिटरको दुरीमा रहेको पर्यटकीय नगरी ओलंघनको सरकारी अस्पतालमा चिकित्सक विशेषज्ञका रूपमा कार्यरत उनी र उनको पछाडि देखिएका अन्य डाक्टर र भेट्न पर्खने बिरामीको भीड देखपछि हाम्रो भ्रम उत्रियो।
हाँसखेल मजाक र लवाइखवाइमा सामान्य लाग्ने यी नेपाली मूलका अस्ट्रेलियन डाक्टर सीताराम मुलुककै पहिचानसँग जोडिएका व्यक्तित्व रहेछन्।
कुराकानीका क्रममा अस्पताल गएपछि थाहा भयो उनी सम्भवत: अस्ट्रेलियामा नेपाली चिकित्सकहर"को उच्च वरियतामा रहेका विशेषज्ञ चिकित्सक रहेछन्। उनको सेवा लिन धेरृ दिनदेखि पालो कुरेका अस्ट्रेलियनहरूको लाइन थियो। नेपालीहरुले पनि विदेशमा मुलुकको शान र पहिचान कायम गर्न सफलता प्राप्त गरेका रहेछन्।
काठमाडौंको नक्सालमा हुर्केका डाक्टर सीतारामले त्यतिबेला नेपालकै चर्चित बूढानिलकण्ठ स्कुलमा अध्ययन गरेर बंगलादेशबाट डाक्टर गरेका रहेछन्।
न्यायाधीश बाबुका यी कान्छा छोरा सानैदेखि तीक्ष्ण बुद्धिका थिए। बूढानिलकण्ठमा पढ्दा पनि उनी सधै पढाइमा अब्बल रहे।
एसएलसीमा बोर्ड सेकेन्ड आएपछि त्यतिखेर उनको पढाइको चर्चा चुलिएको थियो। नक्साल, हाँडीगाउँ वरपर सीतारामलाई नचिन्ने त्यतिबेला कोही थिएनन्।
पढाइसँगै साथीसंगतमा पनि माहिर थिए सीताराम। देखेको बोल्ने र नडराउने हक्की स्वभावले पनि सीतारामलाई साथीभाइले रूचाउँथे।
त्यतिबेला नक्साल वरपर फुटबलले कहलिएको विराटजंग शाही र डिल्लीबजारे दादा दिवाकर घले अनि ठमेलका हस्ती स्वर्गीय मणि शाह सीतारामका नजिकका साथी थिए।
पढाइका क्रममा एउटा चुट्किला अझै पनि प्रशिद्ध छ रे नक्सालतिर। बोर्ड सेकेन्ड आएपछि सीताराम घर नगइ नक्साल साथीभाइका पुगेछन्। यत्रो सफलतापछि घर गएर खुसी बाँड्नुको साटो किन यता आएको भनेर साथीभाइले सोधेका मात्र के थिए रे। सीतारामले मलिन मुहार लाएर भनेछन्- घरमा कुटाइ खाइन्छ, बोर्ड फर्स्ट आएन भनेर।
हँसीमजाक र खानपिनमा रसिक डाक्टर सीतारामले नेपालमा पनि केही वर्ष डाक्टरी गरे।
बूढानिलकण्ठको पढाइको क्रममा उनी स्वर्गीय पूर्वयुवराज दीपेन्द्र शाहसँग समेत नजिक थिए। सन् २००० मा ओलम्पिकका क्रममा सिड्नी आएका पूर्वयुवराजले नेपाली समुदायका सीताराम दाइको खोजी गरेको कुरा अहिले पनि कतै कतै चर्चाको विषय बन्ने गर्छ।
राजदरबार हत्याकाण्डलेसमेत निराश भएपछि सीताराम सपरिवार अस्ट्रेलिया पसेका थिए।
अस्ट्रेलियाको एनएसडब्लु राज्यको प्रशिद्ध ओलंघन हस्पिटलको सिनियर कन्सलट्यान्टसमेत हुन्। उनी काममा गम्भीर छन् तर साथीभाइसँग रंगिन।
यत्रो ठूलो डाक्टर भएर पनि उनको सादगीपन र रमाइलो गर्ने बानी भने उस्तै छ। त्यसैले पनि उनी आफ्नै साथीभाइ र परिवारसँग बढी रमाउने गर्छन्।
डाक्टर सीतारामको परिवारनै चिकित्सा क्षेत्रसँग जोडिएको छ। श्रीमती मोनालिसा अर्याल पनि दन्त चिकित्सक तथा चिकित्साशास्त्रको प्राध्यापक हुन्।
डा मोनालिसाको निजी क्लिनिक नै छ सिड्नीको अर्वन एरीयामा।
कमाइका हिसाबले निकै गर्विलो मानिने अस्ट्रेलियाको यो क्षेत्रमा एउटा महत्वपूर्ण पदमा रहेका डा. सीताराम नामझै धर्मकर्मका पनि उत्तिकै मान राख्छन्।
जन्म दिने आमालाई लिएर भर्खरै भारतको चारधाम घुमाएर फर्केका सीताराम सिड्नीमा पनि आमालाई यहाँका हिन्दुमठ मन्दिर घुमाउन पछि पर्दैनन्।
राष्ट्रप्रेमको विषयमा उनको अलग धारणा छ- जन्मभूमिलाई प्रेम अनि कर्मभूमिलाई सम्मान।
धन भन्दा मन ठूलो हुनुपर्छ भन्ने उनको सिद्धान्तलाई उनले चरितार्थ पनि गरेका छन्। औलामा गन्न सकिने प्रोफेसनलहरू रहेको सिड्नीको नेपाली समुदायमा उनी खुला हृदयले सेवाभावमा अगाडि सर्छन्। आफ्नोपनमा रमाउने उनको बानीले कहिलकाहीँ टिकाटिप्पणी नसुनिने होइन तर उनको इमानदारिता र स्पष्टताले त्यसलाई सहजै बुझो लाउने गर्छ ।
पेशामा इमानदारीता र विचारमा स्पष्टता अनि मनमा उदारताको संगमले पनि सितारामलाई समुदायमा अलग पहिचान दिलाएको छ। डा सीतारामको भनाइलाई जस्ताकै त्यस्तै राख्ने हो भने उनी जगतलाई हरेर जीवनलाई व्याख्या गर्ने कुरामा विश्वास गर्छन्।