अस्ट्रेलियामा नेपाली समाज फैलिँदै जाँंदा यसले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँंदै आएको छ। प्राविधिक जनशक्तिको सवाल होस् या व्यापार अनि व्यवसायमा होस् नेपालीहरू मैदानमा भिडेकै छन् अनि सफलताको साथ भिरेकै छन्।
डाक्टर र इन्जिनियर अनि आइटी र एकाउन्टिङमा मात्रै नभई पछिल्लो समय शैक्षिक व्यवसायमा समेत नेपालीहरूको उल्लेख्य भूमिका देखिँदै आएको छ।
यसै क्रममा सिड्नीमा एउटा नयाँ शैक्षिक प्रतिष्ठानको स्थापना भएको छ। युवा व्यवसायीहरू भीम खरेल र राज खनालको संयुक्त प्रयासमा सिड्नीको सेन्ट्रल नजिकै किङ्स फोर्ड कलेज खुलेको छ।
अस्ट्रेलिया सरकारको मान्यताप्रात गरिसकेपछि किङ्स फोर्ड कलेजको शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। न्यू साउथ वेल्सका महावाणिज्यदूत दीपक खड्काले एक समारोहबीच कलेजको रिबन काटेर उद्घाटन गरे।
खड्काले अस्ट्रेलियाजस्तो विकसित देशमा आएर नेपाली युवाहरूले शैक्षिक प्रतिष्ठान सुरू गर्नु निकै खुसीको विषय भएको भन्दै सफलताको कामना गरे। खड्काले नेपाली समाज विस्तार हुँदै गर्दा यसले सकरात्मक सन्देश दिएको सुनाए।
उद्घाटन कार्यक्रममै नेपाली समाजकी अगुवा इन्द्रा वनले यहाँको हरेक क्षेत्रमा नेपालीको सहभागिता रहनु महत्वपूर्ण विषय रहेको बताइन्।
डिप्लोमा इन विजनेश, प्रोजेक्ट मेनेजमेन्ट , डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी र एडभान्स डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी प्रोजेक्ट मेनेजमेन्ट लगायतका कोर्षहरू रहेको कलेजका बजार व्यवस्थापक प्रकाश खरेलले बताए।
आइटीमा काम गर्दै आएका भिम खरेल र हस्पिट्यालिटीमा नाम कमाएका राज खनालले सञ्चालनमा ल्याएको कलेज निकै आकर्षक रहेको छ।
‘हामीले शिक्षासँंगै शैक्षिक वातावरणलाई पनि ध्यान दिने प्रयास गरेका छौं’,खरेलले भने। कलेजको वातावरण र आवरणले पनि यसको शिक्षामा प्रभाव पार्ने कुरालाई बिर्सन नहुने तर्क खरेलले सुनाए।
हस्पिट्यालिटी उद्योगमा चिनिएका युवा उद्यमी राज खनालले सेवा भावमा गरिने शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा उत्साहित भएको बताए। उनले शैक्षिक उद्योग आफैंमा महत्वपूर्ण र गम्भीर विषय भएकोले यसमा चुनौतीहरू पनि उत्तिकै रहेको सुनाए।
कार्यक्रममा सिड्नीका नेपाली समुदायका अग्रजहरू तथा शैक्षिक परामर्शदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो।