अस्ट्रेलियामा उच्च अध्यनका लागि आउने नेपाली विद्यार्थीमा देखिएका समस्या समाधानका लागि अस्ट्रेलियाको राजदूतावासले चासो देखाएको छ।
सिड्नीस्थित महावाणिज्यदूतावासले आयोजना गरेको एक कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाली विद्यार्थीका सरोकारका विषयमा राजदूतावास सम्बन्धित सरोकारवाला पक्षसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन्।
राजदूत शेर्पाले दूतावासको सिमित श्रोत र साधनले समस्या समाधान गर्न कठिन हुने भन्दै सरोकारवाला पक्षसँग मिलेर काम गरे नतिजा सकारात्मक आउने दाबी गरिन्।
यसैबीच न्यु साउथवेल्सका माहावाणिज्यदूत दिपक खड्काको संयोजकत्वमा विद्यार्थीका समस्या सम्बोधन गर्न एउटा कमिटिसमेत बनिसकेको राजदूत शेर्पाले जानकारी गराइन्।
कुनै पनि विषयमा समस्या देखिएपछि त्यसको महसुस गर्नु आफैंमा महत्वपूर्ण रहेको भन्दै एनएसडब्लुका महावाणिज्यदूत खड्काले दूतावास यस्तो बिषयमा गम्भीर देखिएकोमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे।
उनले समाजमा देखिने समस्या साझा हुने भएकाले समुदायका सम्वन्धित सरोकारवाला मिलेर पहल गरे सकारात्मक परिणाम आउने दाबी गरे।
छलफलमा सिड्नीमा रहेका शैक्षिक परामर्शदारुको संगठन एकाका अध्यक्ष निरज श्रेष्ठले यसमा राजदूतावाससँग मिलेर सहकार्य गर्न आफूहरू तयार रहेको बताए।
‘यो हामी सबैको सरोकारको विषय हो, एउटा नेपालीलाई समस्या पर्दा अर्कोले सहयोग गर्छ भने आफ्ना विद्यार्थी भाइ बहिनीको कल्याणका लागि हामीहरू सहयोग गर्न तयार छौ, त्यसका लागि एउटा मेकानिजम् बनाएर अगाडि बढौं भन्ने हाम्रो सल्लाह हो,’श्रेष्ठले भने।
एनआरएन, समाजिक अगुवा र सिड्नीका कानुनविद तथा एजुकेशन प्रोभाइडरकोसमेत सहभागिता रहेको छलफलमा विद्यार्थीको समस्या देखिनुको पछाडि संख्यात्मक बृद्धी पनि भएको निचोड निकाले।
यसका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने राय सहभागीले ब्यक्त गरेका थिए। कानुन ब्यवसायी शम्सेरसिंह थापाले राजदूतावासको तर्फबाट विद्यार्थीका विषयमा पहलकदमी हुनु सकारात्मक रहेको बताउँदै ब्यवसायीकतामा इमानदारीता अपनाए यसले पनि केही हदसम्म समस्या न्युनिकरण हुने धारणा राखे।
एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष मन केसीले राजदूतावास समाजमा देखिएको समस्याको पहिचान गर्ने र समाधानको बाटो देखाइदिने अगुवाको भूमिकामा देखिनु महत्वपूर्ण भएको विचार ब्यक्त गरे। केसीले यसका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए।
शैक्षिक परामर्शदाता तथा नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक सोसाइटीका अध्यक्ष विवेक थापाले विद्यार्थीलाई शैक्षिक परामर्श दिने विषयमा गम्भीर भएमा मानसिक रूपमा विद्यार्थीहरू तयार रहने बताए।
‘प्रारम्भका दिनमा सानो समाज थियो, सानै परिधि भएकोले समस्या पनि साना तिना मात्र थिए,’ थापाले भने,‘अहिले विद्यार्थीहरू बढ्दै जाँदा समाज बढ्यो, दूतावासको माग भयो, राजदुत आउनुभयो र समाजका संख्यात्मक बृद्धी हुँदा केही समस्या देखिएको हो।’
थापाले यसलाई सबै मिलेर एउटालाई मात्र दोष थुपारेर नभई सबैको चासो र सरोकारको विषय बनाउदै समाधानका लागि अगाडि बढ्नुपर्ने बताए।
छलफल कार्यक्रममा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले समस्याका बिषयमा बहस प्रारम्भ हुन महत्वपूर्ण कदम भएकोले यसलाई आफूले सकारात्मक कदमका रुपमा लिएको बताए।
कार्यक्रममा समुदायकी अगुवा इन्द्रा वन, एनआरएनका पूर्वअध्यक्ष गोवा कटुवाल, एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, एनआरएन ओसेनियाका पूर्व संयोजक महेन्द्र लम्साल, बिष्णु हमाल, एनआरएन ओसेनिया खेलकुद संयोजक भुपाल सिटौला, सामाजिक अभियन्ता चित्र गुरूङलगायतका बक्ताले विद्यार्थीको सरोकारका विषयमा सुझाव दिएका थिए।