शैक्षिक परामर्शदाताको काम र कर्तब्यको खोजि हुँदै गर्दा डार्बिनलाई मुख्य केन्द्रबिन्दु बनाएर आफ्नो ब्यवशाय चलाउँदै आएको केबीए ग्लोबल एजुकेशन एन्ड माइग्रेशनले नयाँ योजना लिएर सिड्नी आएको छ।
आगामी शनिबार कोग्राहस्थित कोग्राह लाइब्रेरीमा केबीए ग्लोबलले विद्यार्थीका लागि एक दिने क्यारियर वर्कशप आयोजना गर्दैछ। वर्कसपमा अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कुन पढाई रोज्ने र जागिर कसरी खोज्ने भन्ने विषयमा वर्कसप केन्द्रीत हुने आयोजकले जनाएको छ। यसका लागि विद्यार्थीले निःशुल्क नाम दर्ता गराउन सक्नेछन्।
‘वर्कसपमा शिक्षासँगै विद्यार्थीका लागि महत्वपूर्ण मानिदै आएको काम र यसका लागि आवश्यक आवेदन तथा अन्य विषयमा तालिम दिइनेछ,’ केबीए ग्लोबलका निर्देशक शम्भु कँडेलले सेतोपाटीसँग भने,‘अस्ट्रेलियामा आइसकेपछि यहाँको परिवेशमा कस्तो काम खोज्ने अनि रोज्ने र त्यसका लागि कसरी आवेदन दिने भन्ने विषय निकै महत्वपुर्ण रहन्छ।
उनले नेपाली विद्यार्थीलाई नेपालबाट ल्याउने मात्र होइन यहाँ आएपछि कसरी स्थापित गराउन सकिन्छ भन्ने उद्धेश्यले तालिम सुरु गरेको बताए।
‘शैक्षिक परामर्शदाताको काम परामर्श दिने मात्र नभइ विद्यार्थीसँग जोडिएका अरू सवालमा पनि आफ्नो कर्तब्य पुरा गर्नुपर्ने हुन्छ भन्ने हाम्रो मान्यता हो,’ कँडेलले भने।
कतिपय विद्यार्थीहरू यहाँ आएर पनि स्मार्ट तरिका नअपनाउँदा कामबाट बिमुख हुनुपरेको भन्दै उनले नेपालभन्दा निकै फरक र अलग शैलीको मान्यता बोकेको अस्ट्रेलियामा काम खोज्न र अन्तर्वार्ता दिदाँ अपनाउनुपर्ने तौर तरिकाका विषयमा सिकाउने प्रयास गर्ने बताए। यो सँगै विद्यार्थीले अध्ययनका लागि रोजेको विषय र खोजेको भबिष्यका बारेमा पनि आवश्यक सुझाव दिइने जानकारी दिए।