सिड्नीमा सञ्चालन भइरहेको नेपालीको स्वामित्वमा रहेको कलेज हेनाने इन्टरनेशनल कलेजलाई अस्ट्रेलियन सरकारको अस्ट्रेलियन स्कील क्वालिटी अथोरोटीले नविकरण नगर्ने र रद्द गर्ने निर्णय गरेको छ। पपुवान्युगिनीका महावाणिज्यदूतसमेत रहेका पुनाराम भण्डारीको लगानीमा रहेको यो कलेजमा कयैन नेपाली विद्यार्थी अध्यनरत छन्।
यसरी सरकारले कलेज अचानक रद्द गर्ने निर्णयले विद्यार्थीको भविष्य के हुने हो त्यो भने अन्यौलमा छ। कलेजको दर्ता नविकरण नगर्नु र दर्ता रद्द गर्नाले कलेजले गम्भीर रूपमा सरकारी मापदण्ड पुरा नगरेको आभास भएको छ।
‘हामीले सरकारको यो निर्णयविरुद्ध एडमिनिस्ट्रेसन अपिल ट्रिबिन्यूलमा (एएटी) मा अपील गरिसकेका छौ, चाडैनै स्टे अर्डर आउने छ,’ भण्डारीले सेतोपाटीसँग भने, ‘हाम्रो भेट रजिष्ट्रेशन फेल भएको होरे त्यसैले रजिष्ट्रेशन भएन। अडिट हिस्ट्रीका कारण हुन सक्छ।’
यस्तो कलेज रद्द र नविकरण फेल शैक्षिक गुणस्तर कायम नगरेको र आवश्यक पुर्वाधार नरहेको कारण हुनसक्ने कानुन ब्यवशायी खिलेन्द्रराज तिम्सिनालाई बताए।
सरकारको शैक्षिक नीतिमा कडाइ गर्दै जाने हो भने थुप्रै यस्ता कलेजहरु आर्थिक तथा कानुनी रुपमा धराशायी हुने तिम्सीनाले दाबी गरे। तिम्सीनाले यत्रतत्र सर्वत्र खोलिएका कलेजहरुले यसरी राज्यको शैक्षिक मापडण्ड पुरा नगर्दा विद्यार्थीको भबिष्य माथि खेलवाड समेत हुने बताए।
सिड्नीमा रहेको सयौं कलेजहरु माथि सरकारको निकायले हरेक वर्ष तोकिएको मापदण्ड र आर्थिक विवरणमा तिखो नजर राखेको हुन्छ। बदमासी गर्ने कलेज र सञ्चालकका कारण वर्षेनी राज्यले केही कलेजहरुको नविकरण फेल गर्छ।
यसरी यस्ता कलेज दर्ता खारेजी हुँदा विद्यार्थीको समय र पैसा, पढाइसँगै मानसिक रुपमा पनि प्रभाव पर्ने सोही कलेजका पूर्व विद्यार्थी अक्षय रेग्मीले बताए।
एउटा कलेज रद्द भए पनि पुनाराम भण्डारीले भर्खरै मात्र फ्युचर कलेज नाममा नयाँ कलेज सञ्चालनमा ल्याएका छन्।