अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा पदक विजेता तथा सहभागी नेपाली टोलीको सम्मानमा सिड्नीमा एक कार्यक्रमको आयोजना गरिएको थियो।
गैर आवासीय नेपाली संघ (एनआरएन) ओसेनिया खेलकुद समितिको आयोजनामा अर्वनमा आयोजित कार्यक्रममा नेपाली खेलाडीले अस्ट्रेलियामा आएर देशको गौरव बढाएकोमा नेपाली समाज गौरवान्वीत भएको सहभागिहरुले बताएका छन्।
कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रका संयोजक धर्म अधिकारीले मुलुकको प्रतिनिधीत्व गरेर अस्ट्रेलिया आइपुगेका खेलाडीले तीन वटा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने काम गरेको बताउँदै उनीहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए।
अस्ट्रेलियाजस्तो ब्यवसायीक खेलकुदले जरो गाडेको देशमा आएर हाम्रा खेलाडीले पदक जित्नु आफैंमा गौरवको विषय रहेको र यसले यहाँको नेपाली समाजको नाकसमेत उचो भएको अधिकारीले बताए। सोही कार्यक्रममा अधिकारीले खेलाडीलाई उपहार समेत प्रदान गरेका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष तथा एनआरएन अस्ट्रेलियाका पूर्वउपाध्यक्ष दिनेश पोखरेलले खेलाडी देशका गहना भएकाले उनीहरूको सम्मान आफूहरूले कर्तब्य भएको बताए। देशलाई चिनाउने महत्वपूर्ण माध्यम खेलकुद भएकोले राज्यले खेलाडीको वृत्ति विकासमा ध्यान दिन नेपाल सरकारसँग पोखरेलले आग्रह पनि गरे।
सम्मान कार्यक्रममा एनआरएन आइसीसीका पूर्व सदस्य तथा युवा ब्यवसायी सन्जिव शर्माले राजनितिबाट मुक्त रहेर समाजलाई जोड्न सक्ने महत्वपूर्ण माध्यम खेलकुद भएको र यसले देशको मान प्रतिष्ठा समेत उँचो पार्ने काम गरिरहेको बताए।
उनले आफ्नै मिहिनेत र पसिनाले बिदेशमा आएर पदक जितेर देशको झण्डा फहराउने खेलाडी सम्मानको हकदार भएको समेत बताए।
खेलाडीको सम्मानमा बोल्दै एनआरएनआइसीसीका पूर्व युवा संयोजक विजय पोखरेलले राज्यद्धारा उपेक्षित खेल क्षेत्र खेलाडीको मिहिनेत र पसिनाले मात्र अगाडि बढेको बास्तविकता सबै सामू छर्लङ्ग रहेको बताए।
‘नेपालमा न राष्ट्रिय रंगशाला छ न त क्रिकेटको एउटा अन्तर्राष्ट्रिय मैदान। यसका बावजुद पनि विदेशमा आएर पदक जित्ने खेलाडीहरुलाई हामी हृदयबाटै सम्मान गर्न चाहन्छौ’,विजयले सुनाए ।
झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दिपक चुँडालले नेपाली टोलीको सहभागीतानै महत्वपूर्ण भएको बेला तीन स्वर्ण, एक रजत र एक काँस्य पदक जित्नु सबैको लागि गौरवको विषय भएको सुनाए।
एनआरएन आइसीसी ओसेनिया खेलकुद समितिका संयोजक भुपाल सिटौलाले नेपाल र नेपालीको शान, मान र प्रतिष्ठा अभिवृद्धि गर्ने जो कोही खेलाडीलाई सम्मान र सहयोग गर्न सकेमात्र नेपाली खेलक्षेत्र अघि बढनसक्ने बताए।
सिटौलाले केही दिनका लागि मात्र आएको कराँते टोलीले पदक जित्दै गर्दा आफूहरू साच्चीकै उत्साहित भएको र छोटो समयमा सानै भए पनि सम्मान र सहयोग गर्न पाएकोमा हर्षित भएको बताए। कार्यक्रममा ओसेनिया खेलकुद समितिका उप संयोजक श्याम पौडेलले खेलाडीलाई स्वागत गर्दै सम्मान प्रकट गरेका थिए।
कार्यक्रममा एनआरएनका सदस्य अजय राजवंशी, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष रूपराज मैनाली, झापाली समाजका सचिव अशोक उप्रेती, निम्फाका सचिव कर्ण राजवंशी, ग्रानभिल फुटवल क्लबका अध्यक्ष भीम बस्नेतलगायतले खेलाडीलाई बधाइ ज्ञापन गरेका थिए।
कार्यक्रममा ओसेनियाका संयोजक धर्म अधिकारीले एक हजार डलर, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले पाँच सय डलर, झापाली समाजका तर्फबाट अध्यक्ष दीपक चुँडालले पाँच सय डलर, पूर्वआइसीसी सदस्य सन्जिव शर्माले पाँच सय डलर, ओसेनिया संयोजक भुपाल सिटौलाले ब्यक्तिगत पाँच सय डलर गरी कुल नेपाली खेलाडीलाई तीन हजार डलर नगद प्रदान गरिएको थियो।