अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट्स अलाइन्सको आयोजनामा सिड्नीमा पहिलो पटक आयाेजित एजुकेशन तथा माइग्रेसन फेयर शुक्रबार सकिएको छ।
फेयरमा सिड्नीका प्राविधिक शिक्षालय, शैक्षिक परामर्शदाता संस्था, पर्यटन ब्यवसायीलगायतका दुर्इ दर्जन स्टल थिए। उक्त फेयरमा अस्ट्रेलियाको अध्यागमन विभागका सहायक निर्देशक टमी हकेटले अन्तर्रास्ट्रिय विद्यार्थीहरुका अध्यागमन सम्बन्धी जिज्ञाशा पूरा गरेका थिए ।
घरबाट टाढा हुँदा हुनसक्ने सामाजिक तथा मनोवैज्ञानिक समस्या समाधानका लागि अस्ट्रेलियामा क्रियाशील नेपाली चिकित्सकहरुको संस्था अन्म्दाका अध्यक्ष डा. घनश्याम चापागाई, अस्ट्रेलियामा अन्तर्रास्ट्रिय विद्यार्थीको कामको अधिकार, न्यूनतम ज्याला सम्बन्धी जानकारी दिन फेयर वोर्क्स अम्बुट्समनका बरिस्ट इन्गेजमेन्ट अफिसर जेन सुगा मेलामा सहभागी भएका थिए ।
यस्तै न्यू साउथ वेल्स राज्यमा दक्ष रोजगारीको मागबारे यहाँको उद्योग विभागका वरिष्ठ ब्यवस्थापक जेने रेब्रोंजा, विद्यार्थी प्रवेशाज्ञा नविकरण सम्बन्धी जानकारी दिन न्यू साउथ वेल्सको अस्थायी प्रवेशाज्ञा कार्यालयका सहायक निर्देशक डन बेलिनो र अन्तर्राष्ट्रिय विद्यार्थीको संस्था सिशाका राष्ट्रिय कोषाध्यक्ष भिन्सेन्ट तविसले मेलामा आधिकारीक धारणा राखेका थिए।
आयोजक एक्काका अध्यक्ष निरज श्रेष्ठले एक दिवसीय मेला शैक्षिक तथा अध्यागमन परामर्श, विद्यार्थीका रोजगारी र मानसिक स्वास्थ्य सम्बन्धी दैनिक समस्याबारे सरोकारवाला व्यक्ति र संस्थाको सहभागितामा सम्पन्न हुनु महत्वपूर्ण रहेकाे बताए ।
मुख्य रूपमा अन्तर्रास्ट्रिय विद्यार्थीलार्इ शिक्षा तथा अध्यागमन क्षेत्रका परिवर्तित नीति, नियम र परिस्थितिबारे अध्यावधिक जानकारीका लागि यो कार्यक्रम कोशेढुंगा सावित भएको उपाध्यक्ष भुपाल सीटाैलाकाे भनाइ छ।
दिनभर सञ्चालन भएको मेला साँझ सम्पन्न भएको र यसले बीध्यार्थीका जिज्ञासालाई मेटाउने कार्य गरेकाे एकाका काेषाध्यक्ष शुभांसु साहले सेतोपाटीलाई बताए।