सिड्नीमा जारी ‘सिड्नी ओपन कराँते’मा नेपाली टोलीले पहिलो दिन तीन स्वर्ण, एक रजत र एक काँस्य पदक जितेको छ।
सिड्नीको लिभरपुलस्थित स्पोर्टस एरिनामा भएको प्रतिस्पर्धाको पहिलो दिन आफ्ना प्रतिद्धन्द्धीहरुलाई फराकिलो अन्तरले पराजित गर्दै नेपालकी अनु अधिकारी, मलिका थापा तथा ३५ वर्ष माथिको समूहमा बिनोद शाक्य गुभाजुले स्वर्ण पदक जितेका हुन्।
निकै राम्रो खेलेका दिवस श्रेष्ठ भने फाइनलमा घाइते हुन पुगेपछि प्रतिद्धन्द्धीसँग २-१ को साघुँरो अन्तरले पराजित हुँदै रजत पदकमा सिमित भए।
हेभिवेटका खेलाडी दिगम्बर पन्त भने सेमिफाइनलमा अफ्रिकन प्रतिद्धन्द्धीसँग पराजित हुँदै काँस्य पदकमा समेटिएका थिए। गगन पुन र निराजन भण्डारीले भने कुनै पदक जित्न सकेनन्।
सितोरियो कराँतेका पुराना खेलाडी गगन पुन पनि प्रतिश्पर्धामा उत्रिए पनि उनी अनुभव संगाल्दै बाहिरिएका थिए।
दश राष्ट्र सहभागि अस्ट्रेलियन ओपन कराँते च्याम्पियनशिपमा अनु अधिकारीले अस्ट्रेलियन प्रतिद्धन्द्धीलाई ३-० को फराकिलो अन्तरले हराइन्।
आफूभन्दा निकै अग्ली प्रतिद्धन्द्धीलाई उनले अनुभवको आधारमा टेक्नीकल गेम खेल्दै स्कोर गरेकी थिइन्।
मलिकाले पनि भिक्टोरियन प्रतिद्धन्द्धीलाई फाइनलमा हराउँदै स्वर्ण पक्का गरेकी थिइन्। साफका स्वर्ण पदकधारी प्रशिक्षक बिनोद शाक्यले पनि ३५ वर्ष माथिको भिडन्तमा सिड्नीका रोपर एलनलाई हराउँदै स्वर्ण हात पारेका हुन्।
हरेक तौल समूहमा १४ देखि २० खेलाडीसम्मको सहभागिता थियो। जसमा नेपाली खेलाडीहरुले स्वर्णका लागि तीन वा चार फाइट जित्नु परेको प्रशिक्षकको जिम्मेबारी संहालेका फुर्बा लामाले बताए।
नेपाली टोलीका हौसला बढाउन बिहानैदेखि कर्भडहलमा एनआरएनका अभियन्ता दिनेश पोखरेल, पूर्व आइसीसी सदस्य सन्जिव शर्मा, चिरन तिवारीलगायतको ठूलो टोली उपस्थिति थियो।
नेपालबाट प्रतियोगितामा सहभागि हुन आएको नेपाली टोलीमा मेडिकलमा पदम विष्ट र ब्यवस्थापकमा कुवेर सिंह खड्का छन्।
प्रतिस्पर्धा निकै राम्रो थियो, अस्ट्रेलियाका खेलाडी राम्रा थिए, तर भाग्यले हामीलाई साथ दियो, स्वर्ण जित्न सफल भयौं, राष्ट्रिय टोलीमा लामो समय अनुभव संगालेकी अनु अधिकारीले बताइन्।
नेपाली टोलीका प्रशिक्षकसमेत रहेका विनोद शाक्यले यस्ता प्रतियोगिताहरु हाम्रो लागि अनुभव साट्ने र प्रतिभा निखार्नका लागि निकै महत्वपूर्ण रहने बताए।