चितवन समाज अस्ट्रेलियाले आगामी मे महिनामा आयोजना गर्ने शान्ति दौडमा सहभागी हुन नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सिड्नी आउने भएका छन्।
सिडनीको ओलीम्पक पार्कमा मे ५ मा हुने शान्ति दौडमा सहभागी हुनुका साथै उनी अन्य कार्यक्रममा समेत सामेल हुने चितवन समाजका अध्यक्ष छबी सापकोटाले जानकारी दिए।
‘नेपाली खेलक्षेत्रका गर्व गर्न लायक नायकलाई अस्ट्रेलिया बोलाएर शान्ति दौड आयोजना गर्न पाउनु हाम्रो लागि निकै गौरवको बिषय हो,’ नवनिर्वाचित अध्यक्ष सापकोटाले सेतोपाटीसँग भने।
सिड्नीका दौडप्रेमी दुई ब्यक्तीत्वहरु सन्जिव पाण्डे र केशव सापकोटाले किर्तिमानधारी बैकुण्ठलाई ल्याउने योजना बुनेपछि उनको सपरिवार सिड्नी यात्रा सम्भव भएको हो।
सन्जिवले भर्खरै मात्र क्यानबेरा म्याराथनमा ४२.१९५ किलोमिटरको दौड पुरा गरेका थिए भने सापकोटाले हाफ म्याराथन छिचोलेका थिए। ‘हामीले स्वास्थको लागि खेलकुद भनेर दौडदै गर्दा एउटा जिवित पुराणपात्रलाई सम्झन पुग्यौ र उहालाई बोलाएर सँगै दौड्ने सोच बनायौं त्यसका लागि सबैको सहयोग गर्नुभयो,’ पाण्डेले भने।
तेस्रो साफ खेलकुदमा दुई घन्टा १५ मिनेटमा म्याराथन पुरा गरेर दक्षिण एशियाली किर्तिमान बनाएका मानन्धरको कीर्तिमान अझसम्म कसैले तोड्न सकेको छैन।
नेपाली एथ्लेटिक्सका महापुरुषका बैकुन्ठ मानन्धर वि.स. २००९ सालमा काठमाडौंको कालिमाटीमा जन्मेका हुन्। पाँच फिट पाँच इन्च अग्ला मानन्धरलाई नेपाली एथ्लेटिक्समा पुराणपात्रका रुपमा लिइन्छ।
२०२७ सालदेखि दौड्न शुरु गरेका मानन्धरले परिवारले थाहा पाउलान् भनेर कहिले विद्यालय जाने बहानामा त कहिले सिनेमा हेर्ने बहानामा भागीभागी दौडने गरेका थिए।
मानन्धरले सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा सम्पन्न २२ औं ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे भने त्यसपछि पनि लगातार चारपटकसम्म ओलम्पिकमा सहभागि भई नेपाली खेलकुदमा धरैपटक ओलम्पिकमा भाग लिने खेलाडी समेत बनेका थिए।