न्यू क्यासलका २८ वर्षीय साहसिक युवा स्कट डिलनले ह्विल चियर र हातले हिँडेका भरमा पछिल्लो हप्ता सगरमाथाको आधार शिविरको यात्रा तय गरेपछि उनको चर्चा अस्ट्रेलियाभर चुलिएको छ।
लुक्लाबाट सरदर १२ दिन लाग्ने आधार शिविरको यात्रा डिलनले ह्विल चियर र हातले हिँडेको भरमा दश दिनमा पुरा गरेका थिए। १७ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा दुबै खुट्टा गुमाएका डिलनले आफूलाई मानसिक रूपमा तयार पार्न केही वर्ष लागेको बताए।
लुक्लाबाट आधार शिवरसम्मको ६५ किलोमिटरको खतरनाक यात्रामा उनलाई केही सहयोगीहरूले साथ दिएका थिए। कार्वन फाइबरले बनेको ह्विल चियर र दुबै हातले टेक्दै घिस्रदै डिलन विश्वको सर्वोच्च हिमालको काखमा पुगेका थिए।
सिड्नी वरपरका टाकुराहरूमा माउन्टेरिङ सम्बन्धी तालिम लिएका यी युवाले हाइअल्टिच्यूड ट्रेनिङ पनि निकै कठिनसँग पुरा गरेका थिए । डिलनले यो यात्रामा २२ सय मिटरदेखि ५ हजार पाँच सय मिटरसम्मको उचाई पार गरेका थिए।
‘म ह्विल चियरमा आधार शिविर हिँडदै गर्दा मानिस मलाई कुनै ग्रहबाट आएको प्राणी झै टुलुटुलु हेर्थे। तर जब म पुगेर फर्के सबै मानिसले मलाई स्याबासी दिएका थिए,’ यात्राको क्षण स्मरण गर्दै डिलनले भने।
डिलन सन २०२० को प्याराओलम्पिकमा समेत पौडीमा प्रतिस्पर्धाको तयारीमा जुटेका छन्। धेरै पटक यो यात्रालाई बीचमै त्याग्ने अवस्था आइसकेको थियो , कति ठाउँमा निकै समस्या पनि आए तर मैले हिम्मत हारिनँ,’ उनले भने।