अस्ट्रेलियन शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एका) को आयोजनामा एक दिने ‘एका एजुकेशन एन्ड माइग्रेशन इन्फरमेशन फेयर २०१८’ शैक्षिक मेला हुने भएको छ।
सिड्नीमा हुने उक्त मेलामा विद्यार्थीका लागि आवश्यक सबै खाले आधारभूत विषयहरू समेटिएको आयोजकले जनाएको छ ।
एकाका अध्यक्ष निरज श्रेष्ठले व्यापार र सामाजिक दायित्व फरक/फरक पाटा भएकाले विद्यार्थीका हितका लागि यो एक दिने शैक्षिक मेला आयोजना गर्न लागिएको र यसका लागि सम्पूर्ण तयारी समेत पुरा भैसकेको जानकारी दिए।
श्रेष्ठले हरेक वर्ष परिवर्तन हुने शैक्षिक नीति र अध्यागमन कानूनका विषयमा जानकारी दिने र विद्यार्थीको हितमा राखेर आयोजना गर्न लागिएको यो मेलामा विभिन्न निकायका जानकारीमूलक स्टलहरू रहने बताए। मेलामा मानसिक स्वास्थ्यका विषयमा डा घनश्याम चापागाईंको टोलीले विद्यार्थीहरूलाई सहयोग गर्ने छ भने फेयर वर्कको टोलीले अस्ट्रेलियामा कामको प्रकृति पाइने तलब र विद्यार्थीका गुनासा सुन्ने व्यवस्था समेत मिलाइएको छ।
मेलामा सरकारको अध्यागमनअन्तगर्त टीएसएसका निर्देशक ,उपनिर्देशकहरूले समेत टेम्पोरेरी स्कील सर्टेज अर्थात टीएसएस र स्टुडेन्ट भिसाका बारेमा आवश्यक जानकारी दिने व्यवस्था मिलाइएको अध्यक्ष निरज श्रेष्ठले बताए। नौ बजेदेखि पाँच बजेसम्म चल्ने मेलामा त्यस बाहेक स्टेट नोमिनेशन र विभिन्न विषयमा सरकारका नीतिका बारेमा पनि आवश्यक सरसल्लाह पाइने छ।
एकाका उपाध्यक्ष भुपाल सिटौलाले शैक्षिक परामर्श प्रवर्द्धन मेलाको मुख्य ध्येय रहे पनि विद्यार्थीका साझा समस्याको पहिचान र त्यसको समाधानका लागि संघले यस्ता मेला महत्वपूर्ण रहने बताए।
यतिखेर अस्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ, अस्ट्रेलियामा पढ्न आउने विदेशी विद्यार्थीहरूको वरियतामा नेपाल तेस्रो ठूलो राष्ट्र हो। गरिब देश भएपनि नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा ठूलो लगानी गरेका छन्। यसले पनि यहाँ रहेका शैक्षिक निकायहरूको विद्यार्थीप्रति दायित्व बढेर गएको छ।
सिड्नीकोे टाउनहलस्थित रिज होटलमा आयोजना हुने एक दिने शैक्षिक मेलामा परामर्श केन्द्र , विश्वविद्यालय र बीमाजस्ता विषयका स्टलहरू रहने कुरा उपाध्यक्ष सीटौलाले बताए।
‘परामर्शदाताहरूको छाता संगठन भएकोले पनि हाम्रो जिम्मेवारी अरुभन्दा बढी हुने भएकोले नेपालबाट आएका विद्यार्थीहरूलाई सही सूचना र आगामी भविष्यका विषयमा उचित सल्लाह दिने यस मेलाको लक्ष्य हो’,संघका कोषाध्यक्ष शुभांसु साहले भने।
मेला आगामी अप्रिल २० मा हुनेछ ।