विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको मुख्य आयोजना र अस नेपाल न्यूजको प्रस्तुति तथा नागरिक समूह नेपाल, भिएफएम लगायतका संस्थाहरूको सहआयोजनामा राष्ट्र, राष्ट्रियता र सकारात्मक जीवनको लागि उत्प्रेणात्मक कार्यक्रम सम्पन्न भएको छ।
पूर्व मन्त्रिपरिषदका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी,युवा सञ्चारकर्मी तथा प्रखर वक्ता प्रेम बानियाँ र नागरिक समूहका अध्यक्ष निगम हुमागाईँ तथा योग गुरु भिमसेन सापकोटाले कार्यक्रममा उर्जाशील र देशभक्तिका जोडदार प्रस्तुति रहेको थियो।
कार्यक्रममा पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अनुभव सुनाउँदै अन्यौल र असाधारण परिस्थितिबाट उब्जेको समस्या समाधान गर्न आफूले मन्त्रिपरिषदको अध्यक्ष बनेर निर्वाचन गराएको बताए। ‘मानिस जहाँ रहेपनि जता बसेपनि अपनत्वबोध भन्ने कुराले नछाड्ने रेग्मीको कथन थियो। तपाईको चार पुस्ता अस्ट्रेलिया बसेपनि नेपाली मुलका अस्ट्रेलियन भन्ने तन्तु जोडिएकै हुन्छ, यही हो देश र माटोको पहिचान’, उनले भने।
देश विकास र निर्माण अनि समृद्धिका लागि समावेशीता महत्वपूर्ण रहेको बताउँदै रेग्मीले म भनेर बाँच्नका लागि आफ्नै धर्ती चाहिने तितो सत्यलाई उजागर गरे।
कार्यक्रममा अर्का सञ्चारकर्मी प्रेम बानियाँले स्वाभिमानका कुरा गर्दागर्दै आफू पनि विदेशिनुको पीडा खोतल्ने प्रयास गरे। उनले सप्तरंग भित्रका दुइ रंगको खोजीमा विदेश जाँदै गर्दा आफ्नो माटोमा रहेको पाँंच रंग गुमाएको तितो अनुभव साटे। बानियाँले परदेशमा भगवान पनि बेग्लै लाग्न थालेको भन्दै विदेशिएका नेपालीलाई केही बोकेर देश फर्कन आह्वान गरे। उनले स्वाभिमान अभियानअन्तर्गत विश्वभर छरिएर रहेका नेपालीलाई विदेशमा सिकेको ज्ञान, सीप र धन बोकेर स्वदेश फर्कन आह्वान समेत गरे।
कार्यक्रममा योग गुरु तथा सांस्कृतविद भिमसेन सापकोटाले सकरात्मक गन्तव्यको यात्रामा हिड्नुको मज्जा बेग्लै रहने बताउँदै समय बलवान रहेको यसलाई स्वीकार्नुको विकल्प नरहेको बताए। आर्चाय राजनका नामले अस्ट्रेलियामा परिचित सापकोटाले जीवनमा अर्कालाई खुसी पार्न कठिन भएपनि आफू खुसी बन्न अनि सबैसँग सुखी रहन भने सम्भव भएकोले सबैले सकारात्मक गन्तव्यको यात्रामा हिड्नु पर्ने बताए। साहित्यकार महेश्वर शर्माले सञ्चालन गरेको कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्कालाई समेत सम्मान गरिएको थियो।