अधिकांश कन्सल्टेन्सीहरूले पढाइसँगै काम पनि पाइने लोभ देखाएर नेपाली विद्यार्थी दक्षिण कोरिया पठाइरहेका छन्।
कन्सल्टेन्सीहरूले इपिएसमार्फत जानेले मासिक दुई–तीन लाख (रूपैयाँ) सम्म कमाउँछन्, विद्यार्थीले एक लाख रूपैयाँ त सजिलै कमाउन सक्छ भन्ने लोभ देखाउने गरेका छन्।
भर्खरै बाह्र कक्षाको पढाइ सकेका विद्यार्थीहरू यस्तो लोभमा परेर दक्षिण कोरिया पुग्ने गरेका छन्। यसरी जानेले १२ लाखदेखि १५ लाख रूपैयाँसम्म खर्च गरेको हुन्छ।
यसरी पुगेका विद्यार्थीका लागि कन्सल्टेन्सीहरूले लोभ देखाएजस्तो सजिलो छैन दक्षिण कोरिया। यहाँ विद्यार्थीहरूले 'वर्क पर्मिट' लिएर मात्रै काम गर्न पाउँछन्, त्यो पनि हप्ताको २० घण्टा मात्रै।
सबैले हप्ताको २० घण्टा नियमित काम पाउन पनि गाह्रो छ। पाइहाले पनि बढी शारीरिक श्रम गर्नुपर्ने हुन्छ। कलिलो उमेरका विद्यार्थीहरू कठिन शारीरिक श्रमले समस्यामा परेका छन्।
नेपालमा आमाबाबुसँग बसेर पढाइ मात्रै गरेका यस्ता विद्यार्थीहरू अचानक भारी काम गर्नुपर्दा शारीरिक कष्ट र मानसिक तनावमा परेका छन्।
धेरैजसो विद्यार्थी आइइएलटिएस (अंग्रेजी भाषा परीक्षण) गरेर कोरिया आएका हुन्छन्। उनीहरूले कोरियाली भाषा सिकेका हुँदैनन्। कोरियालीहरू अंग्रेजी बुझ्दैनन्, नेपाली विद्यार्थी कोरियाली भाषा बुझ्दैनन्। खास गरी कोरियाली भाषा नसिकी आउनेहरू बढी समस्यामा परेका छन्।
दक्षिण कोरिया खर्चिलो पनि छ। खानबस्न र अन्य साधारण खर्चका लागि मात्रै पनि नेपाली रूपैयाँ ५० हजार ७० हजारसम्म खर्च हुन्छ। पढाइको खर्च अलग्ग छँदैछ। बाह्र कक्षा पूरा गर्नासाथ कन्सल्टेन्सीको भर परेर दक्षिण कोरिया आउने विद्यार्थीले आफै कमाएर सबै खर्च धान्न लगभग असम्भव हुन्छ।
कोरिया जाने निर्णय गर्नुअघि विद्यार्थी र अभिभावक दुवैले यहाँको खास स्थितिको जानकारी लिन जरूरी छ। काम गर्दै खर्च जुटाएर पढ्न सजिलो छैन, कमाइ त परको कुरा!
हप्तामा नियमित रूपले २० घण्टा काम गर्दा पनि बस्न, खान र पढाइ खर्च पुर्याउन गाह्रो पर्छ। कम्तीमा पनि पढाइमा लाग्ने पैसा पठाउन सक्छु भन्ने अभिभावकले मात्रै छोराछोरी पठाउनु राम्रो हुन्छ।
यसो होइन, काम गरेरै सबै खर्च पुर्याउनुपर्छ भन्ने हो भने विद्यार्थीहरू प्रारम्भिक युवा उमेरमै मानसिक समस्याको सिकार हुन सक्छन्। सरकारले तोके अनुसार सीमित अवधि मात्रै काम गरेर खर्च जुटाउन नसक्दा कतिपय विद्यार्थी अवैध तरिकाले काम गर्न बाध्य हुन्छन्। यस्तो फेला पर्यो भने यहाँको अध्यागमन विभागले कारबाही छ। केही विद्यार्थी कारबाहीमा परिसकेका छन्।
यस्तो कारबाहीमा साढे एक लाख नेपाली रूपैयाँ हाराहारी जरिवाना तिर्नुपर्छ।
दक्षिण कोरिया सजिलो देश होइन। जहाँ भए पनि विदेशमा गाह्रो हुने नै भयो।
मैले देखेको, भोगेको र अनुभवका आधारमा भन्दैछु – दक्षिण कोरियामा श्रमशोषण धेरै छ।
पढाइका लागि छोराछोरी दक्षिण कोरिया पठाउनुअघि अभिभावकले धेरै कुरा ध्यान दिनुपर्छ। नेपाल सरकारले अभिमुखीकरण तालिमको व्यवस्था गर्नुपर्छ। काउन्सिलिङ गर्नुपर्छ।
अहिले नेपालले अध्ययन अनुमति (एनओसी) रोक्ने कुरा आएको छ। एनओसी रोक्नु मात्रै समाधान होइन। अभिभावक र विद्यार्थी दुवैलाई एकसाथ अभिमुखीकरणको व्यवस्था मिलाउनुपर्छ।
पढाइको उद्देश्य हुनेले मुख्य रूपमा आफ्नो करिअरमै ध्यान दिनुपर्छ, पढ्नमै केन्द्रित हुनुपर्छ। पैसा कमाउने त पढाइ पूरा गरेपछि हो भन्ने कुरा बुझ्न र बुझाउन आवश्यक छ।
कन्सल्टेन्सीहरूले पूरा हुन नसक्ने सपना देखाएर युवाहरूलाई समस्या पार्नु हुँदैन। नेपाल सरकारले यसतर्फ पनि ध्यान दिन जरूरी भएको छ।
(तिमिल्सिना शेष घले नेतृत्वकाे उच्चस्तरीय समितिले गठन गरेकाे गैरआवासीय नेपाली संघ दक्षिण, कोरियाका उपाध्यक्ष हुन्।)