अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक ट्वीटले इतिहास रचेको छ। ओबामाले गरेको ट्वीटले ट्वीटरमा सबैभन्दा धेरै मनपराइने रेकर्ड कायम गरेको हो।
नेल्सन मन्डेलाको चर्चित भनाइसँग उनले एक फोटो सेयर गरेका थिए। फोटोमा हेरविचार केन्द्रको झ्यालबाट बच्चाहरु बाहिर हेरिरहेका छन्। ओबामा उनीहरुका अगाडि उभिएर मुस्काइरहेका छन्।
ती बच्चा अलगअलग परिवारका छन् र ओबामातर्फ उत्सुक नजरले हेर्दै मुस्काएका छन्।
उनले फोटोसँगै लेखेका छन्, 'कुनै पनि व्यक्ति उसको छालाको रङ, पृष्ठभूमि वा धर्मका आधारमा कसैलाई घृणा गर्दै जन्मिएको हुँदैन....।'
ओबामाको यो ट्वीट २८ लाखभन्दा बढीले मन पराएका छन्। उनले यो फोटो गत अगस्ट १३ मा भएको भर्जिनिया हमलापछि सेयर गरेका थिए।
ट्वीटरका अनुसार एरिआना ग्राण्डको ट्वीटलाई यसले पछि पार्दै नयाँ रेकर्ड बनाएको हो। सबैभन्दा मनपराइएको ट्वीट बन्नुका साथै यो धेरै रिट्वीट हुनेको पाँचौं नम्बरमा पनि परेको छ।
ओबामाको यो फोटो सन् २०११ मा मेरिल्याण्ड बेथेस्डास्थित डे केयर सेन्टर जाँदाको हो। ह्वाइट हाउसका तत्कालिन आधिकारिक फोटोग्राफर पिट सोउजाले खिचेका हुन्।