बिल र मेलिण्डा गेट्स प्रतिष्ठानले तान्जानियाको कृषि,स्वास्थ्य तथा कोष विकास आयोजनाका लागि पैँतीस करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
तान्जानियाको राष्ट्रपतिको कार्यालय अन्तर्गत सञ्चार निर्देशनालयद्वारा बिहीबार जारी विज्ञप्तिमा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले बिहीबार राष्ट्रपति जोहान मागुफुलीसँगको कुराकानीपछि उक्त सहयोगको घोषणा गरेका जनाइएको छ ।
विश्वका धनाड्य व्यक्तित्व बिल गेट्सले आफ्नो प्रतिष्ठान (संस्था)ले पूर्वी अफ्रिकी राष्ट्रको स्वास्थ्य सुधार खासगरी गर्भवती महिलाको मृत्युदर घटाउन कार्यमा आगामी दिनमा समेत थप सहयोग गर्ने विज्ञप्तिमा प्रतिवद्धता जनाएका छन्।
गेट्सले आफ्नो संस्थाले गरेका गतिविधिको अवलोकन गर्न यसैहप्ता तान्जानिया आएका र आफ्नो संस्थाले तान्जानियाली जनतालाई भोकमरी, विपन्नता तथा गरिबीबाट माथि उकास्न र स्वास्थ्य र सम्वृद्धिका दिशामा अघि बढाउन अनवरत लाग्ने बताए । प्रतिष्ठानले तान्जानियाका नागरिकबीच मलेरिया उन्मुलन, कुपोषणमुक्त तथा पोषणका लागि सुधारका कार्यक्रम गर्दै आएको छ । रासस/ सिन्ह्वा