उत्तर कोरियाले भनेबमोजिम मिसाइल प्रहार गरेमा अमेरिकी भूभाग गुआम पुग्न मात्र १४ मिनेट लाग्ने गुआमकी आन्तरिक सुरक्षा प्रवक्ताले बताएकी छन्।
प्रवक्ता जेन्ना गामिन्डेले बिहीबार उत्तर कोरियाले हमला गरेमा टापूका सबैलाई ‘अलर्ट वार्निङ सिस्टम’ मार्फत् सूचना दिइने जानकारी दिएकी प्यासिफिक डेली न्यूजले जनाएको छ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियामाथि आक्रमण हुन सक्ने चेतावनी दिएपछि कोरियाले गुआम हमला गर्ने विचार गरेको बताएको थियो। बिहीबार यसको तयारी यही मध्य अगस्टमा पूरा हुने बताउँदै उसले ह्वासङ-१२ मिसाइल आक्रमण गर्ने बताएपछि गुआम आन्तरिक सुरक्षा प्रवक्ता गामिन्डेले यो प्रतिक्रिया दिएकी हुन्।
ह्वासङ-१२ मिसाइल जापानको शिमाने, हिरोशिमा र कोइचीको आकाश हुँदै जानेछ। १०६५ सेकेण्ड अर्थात् करिब १८ मिनेटमा ३ हजारा ३ सय ५६ किलोमिटर दूरी पार गर्ने उक्त मिसाइल गुआम पुग्न १४ मिनेट मात्र लाग्ने बताइएको छ।
गुआम टापू उत्तर कोरियाबाट ३ हजार ४ सय ३० किलोमिटर टाढा छ भने अमेरिकाबाट ११ हजार किलोमिटर छ। कोरियाले गुआम टापूको ४०-५० किलोमिटर नजिक पानीमा मिसाइल आक्रमण गर्न बताएको छ।
यो हमला भएमा आफ्ना नागरिकको सुरक्षा हेतु सेना तथा संचारमाध्यमलाई 'अलर्ट' मा राखिएको प्रवक्ता गामिन्डेले जनाएकी छन्। 'स्थानीय समाचारमाध्यम, रेडियो, टिभी, सामाजिक संजालदेखि गाउँका मेयरहरूसम्मलाई यसबारे जानकारी दिइनेछ,' उनले भनिन्। 'कुनै साइरन बजेको सुनेमा तत्काल समाचार सुन्न र आकस्मिक जानकारी लिन' पनि उनले टापूवासीलाई जानकारी दिएकी छन्।
प्रशान्त महासागरस्थित गुआम करिब १ लाख ६३ हजार जनसंख्या भएको अमेरिका नियन्त्रित टापू हो। यहाँ अमेरिकी सेनाको हवाई अड्डा र करिब ६ हजार सेना तैनाथ छन्।
अमेरिकी पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाएपछि यी दुई देशबीच तनाव बढ्दै गएको हो।