अमेरिकामा विद्यालयभित्रै एक छात्रले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ।
जर्जियाको एटलान्टास्थित अपालाची हाइस्कुलमा १४ वर्षीय छात्रले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको छ।
गोली लागेर ९ जना घाइते भएका छन्। घाइते हुनेमा ८ विद्यार्थी र १ शिक्षक छन्।
समाचार संस्था रोयटर्सका अनुसार मृत्यु हुने विद्यार्थीहरूमा १४ वर्षका मेसन शेरमरहर्न र क्रिस्टियन एंगुलो छन्। मेसन अटिजमका बिरामी रहेको समेत बताइएको छ। दुई शिक्षक ३९ वर्षीय रिचार्ड एस्पेनवाल र ५३ वर्षीया क्रिस्टिना इरिमी छन्।
गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। ती किशोर १४ वर्षीय कोल्ट ग्रे रहेको खुलेको जर्जिया ब्युरो अफ इन्भेस्टिगेसन (जिबिआइ)का निर्देशक क्रिस हसेले बताएका छन्।
कोल्ट र उनका बाबुलाई गत वर्षको जुलाईमा पनि जर्जिया ब्युरो अफ इन्भेस्टिगेसनका अधिकारीहरूले सोधपुछ गरेको थियो।
ती किशोरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा हतियारको तस्बिर राखेर गोलीकाण्ड मच्चाउने धम्की उल्लेख गरेपछि त्यसबारे एफबिआइले सोधपुछका लागि बोलाएको थियो।
त्यतिबेला यथेस्ट प्रमाण नभएपछि ती किशोरलाई पक्राउ नगरिएको तर निरन्तर निगरानीमा राखिएको जिबिआई निर्देशक हसेले बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले घटनाअगाडि नै विद्यालयमा गोली चल्ने सूचना आएको उल्लेख गरेका छन्। नजिकका पाँच विद्यालयमा गोली चल्ने र त्यसमध्ये अपालाची हाइस्कुलबाट सुरू हुने गोप्य सूचना आएको उल्लेख गरिएको छ।
गोली चलाउने किशोर अलजेब्राको कक्षाअघि कक्षाकोठाबाट बाहिरिएको सिएनएनलाई बताएका छन्। त्यसपछि साढे १०:२० बजे अन्धाधुन्ध गोली चलेको थियो।
गोली चलेको एकैछिनमा प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुगेपछि ती किशोरले आत्मसमर्पण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ।
उनलाई बालिगसरह कारबाही प्रक्रिया अगाडि बढाइने जिबिआइका निर्देशक क्रिस हसेले पत्रकार सम्मेलनमा भनेका छन्।