अमेरिकामा १४ वर्षीय छात्रले विद्यालयमा अन्धाधुन्ध गोली चलाएका छन्।
बुधबार जर्जिया प्रान्तको एटलान्टास्थित अपालाची हाइस्कुलमा १४ वर्षीय छात्राले विद्यालयमा अन्धाधुन्ध गोली चलाएका हुन्।
अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ विद्यार्थी र २ शिक्षक रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
मृत्यु हुने विद्यार्थीहरूमा १४ वर्षका मेसन शेरमरहर्न र क्रिस्टियन एंगुलो छन् भने दुई शिक्षक ३९ वर्षीय रिचार्ड एस्पेनवाल र ५३ वर्षीया क्रिस्टिना इरिमिईको मृत्यु भएको छ।
घटनामा अन्य ९ जना घाइते भएका छन्। उनीहरू खतरामुक्त रहेको रोयटर्सले उल्लेख गरेको छ।
जर्जिया ब्युरो अफ इन्भेस्टिगेसनका निर्देशक क्रिस हसेले गोली चलाउने छात्र १४ वर्षीय कोल्ट ग्रे रहेको खुलेको बताएका छन्। उनलाई अब बालिगसरह कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताएका छन्।
कोल्ट ग्रेलाई अघिल्लो वर्षपनि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले सामाजिक सञ्जालमार्फत विद्यालयमा नै गोली चलाउने चेतावनी दिएकाले सुरक्षाकर्मीले सोधपुछ गरेका थिए।
एफबिआईले भने उनको लगातार निगरानी गरिरहेको रोयटर्सले लेखेको छ।
घटनास्थलमा प्रहरी पुगेपछि उनले आत्मसमर्पण गरेका थिए। किशोरले चलाएको सेमिअटोमेटिक राइफल विद्यालकै सुरक्षा गार्डहरूले खोसेका थिए।
त्यहाँको प्रहरीले बुधबार नै किशोरलाई थप अनुसन्धानका लागि हिरासतमा लिएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा किशोरले गोली चलाउनमा आफ्नै मात्रै संलग्नता रहेको बताएका छन्।
प्रहरीले उनका बाबुलाई पनि प्रहरीले सोधपुछ गरेको छ। किशोरका बाबुले आफूसँग सिकार खेल्न प्रयोग गरिने बन्दुक रहेको बताएका छन्।
उक्त विद्यालमा १ हजार ९ सय विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।