दुई महिना पछि हुन लागेको अमेरिकी चुनावमा नेपालीहरूको सहभागिता र चासो बढेको छ।
अमेरिकामा नोभेम्बर ५ तारिखमा राष्ट्रपतीय चुनाव हुँदैछ। तल्लो सदनका सबै सिट र सिनेटका केही सिटहरूको चुनाव हुँदैछ। नोभेम्बर ५ मा सिनेटका एक सय मध्ये ३४ सिटका लागि चुनाव हुँदैछ भने हाउसका सबै चार सय ३५ सिटका लागि मतदान हुनेछ।
अमेरिकामा राष्ट्रपतिको पदावधि चार वर्षको हुन्छ भने सिनेटरको पदावधि ६ वर्षको हुन्छ। हाउसका सदस्य कंग्रेसम्यानको पदावधि भने दुई वर्षको मात्र हुन्छ। सो चुनावमा नेपालीमुलका अमेरिकी नागरिकहरूको सहभागिता र चासो बढाउन हिमालय डेमोक्रेटिक क्लबले आइतबार टेक्ससको ड्यालसमा भेला सम्पन्न गरेको छ।
हिमालय डेमोक्रेटिक क्लब अमेरिकाको डेमोक्रेटिक पार्टी निकट र शुभेच्छुकहरूको संस्था हो। आउँदो चुनावमा नेपाली समुदायका आप्रवासीहरूलाई सहयोग गर्ने, नेपालीमुलका अमेरिकीहरूलाई अघि बढ्न मद्दत गर्ने उम्मेदवारहरूलाई सघाउने विषयमा पनि भेलामा छलफल भएको छ।
अमेरिकाका अधिकांश नेपालीहरू आप्रवासीहरूलाई सम्मान गर्ने, शंकाको दृष्टिले नहेर्ने र राजनीति लगायत हरेक क्षेत्रमा अघि बढ्न सहयोग गर्ने डेमोक्रेटिक पार्टीसँग नजिक छन्।
चार वर्ष अघि स्थापित यो क्लबको आयोजनामा उम्मेदवारहरूसँग अन्तरक्रिया गर्दै नेपाली आप्रवासी समुदायको अवस्था र अपेक्षाका बारेमा जानकारी गराउने निर्णय समेत भएको छ।
हिमालयन डेमोक्रेटिक क्लबलाई पुनर्गठन गर्दै सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको सहभागीहरूले भेलामा सुझाव दिएका थिए। अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गर्नेलाई सहयोग गर्ने र अमेरिकी राजनीतिज्ञहरूसँग समन्वय गर्नका लागि यो क्लब स्थापना भएको हो।
आइतबारको भेलाले १८ वर्ष उमेर पुगेर कानुनले मतदाता हुन योग्य भनेर तोकिएकाहरूलाई भोटर्स लिष्टमा समावेश गर्नका लागि आउँदो अक्टोबर पहिलो सातासम्म भोटर्स रजिष्ट्रेसन अभियान चलाउने, त्यही बीचमा क्लबका गतिविधि चुस्त बनाउन पुनर्गठन, उम्मेदवारहरूसँग अन्तरक्रिया गर्ने निर्णय भएको छ।
अमेरिकी कानुन अनुसार १८ वर्ष उमेर पुगेका र अमेरिकाको नागरिकता लिएकाहरू मतदाता हुन पाउँछन्। त्यसको लागि आउँदो अक्टोबर ७ तारिख भित्र सूचिकृत भैसक्नुपर्छ।
भेलामा पूर्व अध्यक्ष मोहन ज्ञवाली, उपाध्यक्ष बेदराज बस्नेत, महासचिव सुदीप अधिकारी, नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष दिनेश शर्मा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, उपाध्यक्ष जनक भण्डारी, महासचिव विजय भुसाल, डा. युवराज अर्याल, गोकर्ण दाहाल, राजेन्द्र कुँवर, डा. मिलन पौडेल लगायतले नेपाली समुदायलाई मतदानका लागि बुथसम्म पुग्ने वातावरण मिलाउनुपर्ने, समुदायलाई फाइदा पुग्ने सामूहिक काममा उम्मेदवारहरूको ध्यानाकर्षण गर्नुपर्ने लगायत विषयमा पनि सुझाव दिएका थिए।
त्यस अवसरमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिकी उम्मेदवार बनेकी कमला ह्यारिसको पक्षमा नेपालीमुलका महिलाहरूबीच माहौल बनाउन 'नेप्लिज वुमन फर कमला' अभियान सुरू गर्नेगरी महिलाहरूको समूह बनाउने विषयमा समेत छलफल भएको थियो।