संयुक्त राज्य अमेरिकामा दुई साता भन्दा बढी समयदेखि एक जना नेपाली नर्स बेपत्ता छिन्।
भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काफ्ले भट्ट दुई साताभन्दा बढी समयदेखि बेपत्ता भएकी हुन्।
यसबारेमा अमेरिकी अखबारहरूले समाचार लेखेका छन्।
द वासिङ्टन पोस्टका अनुसार ममता जुलाई ३१ देखि हराएको अनुमान गरिएको छ।
नेपालस्थित घरमा आफ्नी आमालाई दिन दिनै फोन गरेर दिनचर्या सुनाउने ममताले जुलाई ३१ मा भने आमालाई फोन गरेकी थिइनन्। त्यही दिनदेखि अहिलेसम्म परिवारसँग सम्पर्क नभएको बताइएको छ।
ममताको एउटी छोरी छिन्। उनी यही महिनामात्रै १ वर्ष पुग्नेछिन्। छोरीलाई समेत छाडेर उनी बेपत्ता भएकी हुन्।
वासिङ्टन पोस्टका अनुसार ममताकी श्रीमान नरेश भट्टले श्रीमती हराएको तीन दिन पछि मात्रै प्रहरीमा उजुरी गरेका थिए।
ममता काममा नआएपछि प्रिन्स विलियम मेडिकलका उनका साथीहरूले अगस्ट १ मै प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी भोलिपल्ट मानसास पार्कनजिक रहेको उनको घरमा गएका थिए। त्यतिबेला नरेशले श्रीमती नहराएको भन्दै प्रहरीलाई फर्काइदिएको वासिङ्टन पोस्टको समाचारमा उल्लेख छ।
यसबारे एक टेलिभिजनमा प्रश्न सोध्दा नरेशले यसअघि पनि दुई-तीन पटक श्रीमती घरबाट बेपत्ता भएकाले उजुरी नगरेको बताएका छन्।
ममताको साथीहरूको उजुरीका आधारमा खोजी प्रक्रिया सुरु भइसकेको अवस्थामा नरेशले आफ्नी श्रीमती बेपत्ता रहेको र खोजिदिन प्रहरीमा उजुरी दिएका थिए।
ममताका साथीहरूले मानसास पार्क क्षेत्रमा प्रहरीसहित खोजी गरे पनि भेटेका थिएनन्। अहिले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत पनि ममताको खोजीका लागि सूचना र समाचारहरू संप्रेषण भइरहेको छ।
ममता हराएको धेरै दिन भइसकेकाले भर्जिनिया प्रहरीले घटना शंकास्पद हुन सक्ने आकलन गरेको छ।
उनको खोजीका लागि गुप्तचरहरू खटाइएको छ भने घरवरपर लगायतसँग सोधपुछ गरिएको प्रहरीलाई उद्धृत गर्दै वासिंटन पोस्टले लेखेको छ।