राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने संदिग्धको पहिचान खुलेको छ।
शनिबार साँझ साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा चुनावी र्यालीको क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो।
संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)ले गोली चलाउने संदिग्ध २० वर्षीय थोमस म्याथ्यु क्रुक रहेको सार्वजनिक गरेको छ।
एफबिआइका अनुसार उनी पेन्सिलभेनियाको बेथेल पार्कका हुन्।
ट्रम्पको हत्या प्रयासपछाडिका कारण भने खुलिसकेको छैन। यसमा अनुसन्धान भइरहेको एफबिआइले जनाएको छ। एफबिआईले यसलाई ट्रम्पको हत्या प्रयास पनि भनेको छ।
द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले चुनावी सभालाई सम्बोधन गरिरहेको स्थलबाट ४ सय फिट उत्तरतर्फ रहेको सानो भवनको छतबाट क्रुकले गोली चलाएका थिए।
र्यालीमै गएका एकजना ट्रम्पका समर्थकले क्रुकलाई भवनतर्फ जाँदै गरेको र छतमा राइफलसहित घिस्रिँदै गरेको देखेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीलाई सूचना दिएका थिए।
लगत्तै क्रुकलाई ट्रम्पले सम्बोधन गरिरहेको र्यालीतर्फ अन्धाधुन्ध गोली चलाएका थिए।
सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा सार्वजनिक भिडिओमा देखिएअनुसार के को हो भन्ने भेउ नपाउँदै ट्रम्पको दाहिने कानमा गोली लागेको थियो।
गोली लाग्नेबित्तिकै उनी दाहिने कान समात्दै बाँकी गोलीबाट बँच्नका लागि पोडियम पछाडि घुँडा टेकेर बसेका थिए।
उनी पछाडि रहेका उनका समर्थकहरू पनि गोलीको आवाज सुनेर पोडियम पछाडि आए र घुँडा टेकेर बसे।
त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीहरू ट्रम्प भएठाउँ आए र उनलाई चारैतिरबाट घेरेर राखेका थिए।
सुरक्षाकर्मीहरू आएपछि ट्रम्प पोडियमबाट उठे जतिबेला उनको कानबाट बगेको रगत गालासमम्म लागेको थियो। उनले मुठ्ठी उचाल्दै त्यहाँ उपस्थित समर्थकहरूको हौसला बढाए।
त्यसपछि उनका सुरक्षाकर्मीहरूले ट्रम्पलाई नजिकै राखिएको कारमा लिएर गएका थिए।
त्यतिबेलासम्म त्यहाँ उपस्थित सुरक्षाकर्मीहरूले जवाफी गोली चलाएको थियो। सुरक्षाकर्मीको गोली लागेर क्रुकको घटनास्थलमै मृत्यु भएको थियो।
गोली लागेर र्यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन्।
घटनापछि ट्रम्प घटनापछि सुरक्षाकर्मी संस्थाले ट्रम्प सकुशल रहेको बताएको छ।
गोली चलेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प सुरक्षित भएकोमा राहत महसुस गरेको बताएका छन्। उनले अमेरिकामा यस प्रकारको हिंसाका लागि कुनैपनि ठाउँ नरहेको बताउँदै घटनाको निन्दा गरेका छन्। यसविरूद्ध मिलेर लड्न पनि उनले आह्वान गरेका छन्।