अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व पोर्नस्टारसँगको सम्बन्ध लुकाउन उनलाई पैसा दिएको सम्बन्धी मुद्दाको विभिन्न ३४ वटा कसुरमा दोषी ठहर भएका छन्।
बिहीबार न्यू योर्कको अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो। अमेरिकाको इतिहासमा ट्रम्प जघन्य आरोप लागेको र आरोप पुष्टि भएको पहिलो पूर्वराष्ट्रपति बनेका समाचार संस्था एशोसियटेड प्रेस (एपी) ले उल्लेख गरेको छ।
म्यानहटन ज्यूरीले दुई दिन ९ घन्टाको छलफल पछि ट्रम्पलाई दोषी ठहर गरिएको फैसला सुनाएको एपीले जनाएको छ।
दोषी ठहर गरिए पनि सजाय भने तोकिसकेको छैन। न्यायाधीश जुआन एम. मर्चनले जुलाई ११ मा ट्रम्पको सजाय तोकिने बताएका छन्।
त्यो भनेको रिपब्लिकन पार्टीले उनलाई आधिकारिक उम्मेदवार घोषणा गर्ने अपेक्षा गरिएको अधिवेशन भन्दा केही दिन अघि हो।
ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनताका पूर्व पोर्नस्टार स्टोर्मी ड्यानियललाई आफूहरू बीचको सम्बन्ध लुकाउन १ लाख ३० हजार डलर पैसा दिएको आरोप थियो।
उनीमाथि राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू गायभ गरेको,राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्न खोजेको, संसद भवनमा आक्रमण गरेको लगायत फौजदारी अपराधसँग सम्बन्धित थुप्रै मुद्दाहरूमा फैसला आउन बाँकी नै छ।
बिहीबारको फैसलालाई ट्रम्पले आफूमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिएका छन्।
यसको जवाफ आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा अमेरिकी जनताले दिने समेत उनले बताएका छन्।
ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपतिका उम्मेदवार हुन्। उनी दोषी ठहर भएपनि चुनाव लड्न पाउँछन्। अमेरिकामा जेलभित्रै बसेर पनि चुनाव लड्न पाउने व्यवस्था छ।
(यसअघि ३४ कसुर हुनुपर्नेमा भूलवश अन्यथा परेकाले सच्याइएको छ)