अमेरिकाबाट प्रकाशित नेपाली मूलधारको अनलाइन पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा पत्रकार न्यौपानेले अमेरिकामा विभिन्न पेसा व्यवसायसँगै पत्रकारितामा आबद्ध रहेका दुई सय बढी नेपाली मूलका पत्रकारहरूले नेपाल र नेपालीको समृद्धिका बारेमा कलम चलाउँदै आएको र उनीहरूको सोच र लगावलाई नेपाल र अमेरिकाबीचको सम्बन्धमा उपयोग गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।
उनले प्रधानमन्त्री प्रचण्डसँग नेपालबाहिर बस्ने प्रवासी नेपाली र नेपालसँगको सम्बन्ध, त्यो सम्बनधको अर्थ र प्रभावहरूबारे अवगत गराएका थिए।
पत्रकार न्यौपानेले आफूजस्तै नेपालबाहिर बस्ने लाखौं नेपालीका दुई वटा आमा: एउटा जन्मदिने आमा र अर्को मातृभूमि रहेको स्मरण गराउँदै आफूहरू सीमाविहीन माया, लगाव र भावुकतामा रहेको तर सरकारले त्यसको कत्ति पनि हिसाब नराखेको गुनासो पोखे।
नेपाली विदेसिएसँगै देश छोडेको भाष्य निर्माण सरकारी तहबाटै भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीको साइनो रेमिट्यान्सको मात्र नरहेको उल्लेख गरे।
उनले प्रधानमन्त्रीसमक्ष भनेका छन्, ‘तपाईं आज राजनीति र जीवन दुवैको उत्तरार्द्धमा हुनुहुन्छ। मेरो आग्रह छ, तपाईंले व्यक्तिगत र राजनीतिक जीवनको ऐतिहासिक निर्णय गर्नुहुनेछ।’
‘नेपाली जहाँ गएर बसे पनि ती हाम्रै हुन् र रहिरहनेछन् त्यसैले ढुक्क भएर दोहोरो नागरिकता दिनुहोस्, यसको धेरै ठूलो र दीर्घकालीन महत्व छ’, उनले भने, ‘सुरक्षा थ्रेट भएको अमेरिकाले ६२ देशका नागरिकलाई दोहोरो नागरिकता दिएको छ भने नेपालीलाई नेपाली मान्न अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन।’
पत्रकार न्यौपानेले प्रवासी नेपालीलाई विभेदबाट मुक्त गरिदिन आग्रह गरेका छन्।
उनले नेपालमा जग्गा किनबेच गर्न खोज्दा मालपोत कार्यालय चितवनले गैरआवासीय नेपाली नागरिकता स्वीकार नगरेको र नेपाली नागरिकसरहको हदबन्दीमा जग्गा किनबेच गर्न नदिएको गुनासो पोखे।
भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए।