अमेरिकाको उत्तरी इलिनोइस स्थित रकफोर्डमा छुरा प्रहार गरी ४ जनाको हत्या भएको छ।
बुधबार दिउँसो रकफोर्डमा १५ वर्षीया किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय पुरूष र २२ वर्षका युवकको छुरा प्रहार गरी हत्या भएको हो।
रकफोर्ड प्रहरीका अनुसार अन्य ७ जना घाइते भएका छन्। उनीहरूलाई बुधबार नै स्थानीय अस्पताल उपचारका लागि पुर्याइएको छ। तीमध्ये २ जनाको अवस्था गम्भीर भएको रकफोर्ड प्रहरी प्रवक्ता मिचेल मार्कम्बले सिएनएनलाई बताएका छन्।
घटनामा संलग्न भएको आरोपमा त्यहाँको प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ परेका २२ वर्षका ती युवक नै घटनामा संलग्न रहेको प्रहरीले दाबी गरेको छ। हत्याको मोटिभ भने प्रहरीले फेला पार्न सकेको छैन।
मारिनेहरू एकै परिवारका हुन सक्ने प्रहरीको अनुमान छ।
रकफोर्डमै एक महिला चोटग्रस्त अवस्थामा घरबाट चिच्याउँदै बाहिर निस्किएको सूचना प्राप्त भएको र त्यसबारेमा पनि बुझिरहको प्रहरीले जनाएको छ।
ती महिला अहिले अस्पतालमा गम्भीर अवस्थामा रहेको सिएनएनले उल्लेख गरेको छ।
रकफोर्डका मेयर टम मिकनमाराले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान भइरहेको जानकारी दिएका छन्।