अमेरिकाको बाल्टिमोरमा पानी जहाज ठोक्किएर पुल भासिँदा बेपत्ता भएका ६ जनामध्ये २ जनाको शव भेटिएको छ।
बाल्टिमोरको बन्दरगाहबाट श्रीलंकाको कोलम्बो जान लागेको सिनर्जी ग्रुपको डाली नामको कार्गो पानीजहाज मंगलबार साँझ पाटाप्स्को नदीको फ्रान्सिस स्कट कि ब्रिजको पिलरमा ठोक्किएको थियो।
९८४ फिट लामो उक्त पानीजहाज पिलरमा ठोक्किँदा २.६ किलोमिटर लामो पुल बीचबाट भासिएको थियो।
त्यतिबेला त्यहाँ पुल मर्मत गरिरहेका ८ जना नदीमा खसेका थिए। दुई जनालाई भने त्यही रात जिवितै उद्धार गरिएको थियो।
हराइरहेका ६ मजदुरमध्ये २ जनाको शव आज बिहान भेटिएको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।
उक्त शवको पहिचान समेत भइसकेको छ।
मेरिल्याण्डका प्रहरी प्रमुख सुपरिटेन्डेन्ट कर्नल रोनाल्ड एल बटलर जुनियरका अनुसार मेक्सिकोका अलेजान्द्रो हर्नान्डेज फुइन्ट्स र ग्वाटेमालाका डोर्लियन रोनियल क्यास्टिलो क्याबरेरा मृत भेटिएका हुन्।
उनीहरु पुलमा बनेका स-साना खाल्डाखुल्डी मर्मत गर्दै थिए। उद्धारकर्मीहरूले दुवै जनाको शव पानीको २५ फिट तल एक रातो पिकअप ट्रकमा चेपिएको अवस्थामा फेला परेको बटलरले बताएका छन्।
बाँकी ४ जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ।
अहिले ती मजदुरहरूको खोजीकार्य तत्कालका लागि रोकिएको छ।
नदीमा थप सवारीसाधनहरू पुलको कंक्रिट र भग्नावशेषले पुरेको र त्यसले उद्धारमा खटिने गोताखोरहरूलाई क्षति पुर्याउन सक्ने खतरा रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको हो।
भग्नावशेष हटाएपछि खोजी र उद्धार कार्य फेरि सुरू गरिने प्रहरी सुपरिटेन्डेन्ट बट्लरले बताएका छन्।
घटनाबारे अमेरिकाको पारवाहन सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट पानी जहाजमा २ जना पाइलट र २१ जना चालक दलका सदस्य रहेको खुलेको छ। उनीहरू सबै सुरक्षित रहेको बताइएको छ। त्यहाँ ५६ वटा कन्टेनर रहेको पाइएको छ।
घटनाको अनुसन्धान सक्न १२ देखि २४ महिनासम्म लाग्न सक्ने अनुसन्धान समितिकी प्रमुख जेनिफर हर्नान्डेजले बताएकी छन्।