काठमाडौं जिल्ला अदालतले एउटा फैसला गर्यो- 'स्वतन्त्रतापूर्वक जिउने इच्छा भयो भन्दैमा सम्बन्धबिच्छेद गर्न पाइँदैन।'
यो फैसलासँगै सम्बन्धबिच्छेद सही कि गलत भनेर सधैंझैं समाज विभाजित भयो। तर सम्बन्धबिच्छेद सही कि गलत भन्ने प्रश्नको जवाफ जेसुकै भए पनि यसले कहीँ पुर्याउँदैन।
'सम्बन्धबिच्छेद' थोरैको रहर र धेरैको बाध्यता हुनसक्छ। कतिका लागि सम्बन्धबिच्छेद जरूरी पनि हुनसक्छ । तसर्थ यसलाई सही या गलत भन्ने बहस नै मेरा लागि अर्थहीन हुन्छ।
हाम्रो समाजमा श्रीमान-श्रीमतीबीच हुने हरेक प्रकारका डिभोर्सको पीडा उनीहरूका छोराछोरीले खेप्नुपर्छ। आमाबुवाको व्यक्तिगत मनमुटाव र झगडाका कारण बच्चाहरू नैसर्गिक मायाबाट बञ्चित हुन्छन्। पैसा र सम्पत्तिको आडमा डिभोर्स गर्ने र आवासीय स्कुलतिर छोराछोरी राखेर ढुक्कसँग रमाउने अभिभावकको संख्या अहिले बढ्दो छ।
मेरो एउटै बुझाइ के छ भने हामी पुरूष र महिला दुबैले स-साना छोराछोरीलाई उचित स्नेह माया र अभिभावकत्व दिन सक्दैनौं भने बिहे नै नगर्नु बेस हुन्छ। बिहे गरिहाले पनि बच्चा जन्माउनु हुँदैन।
कुनै पनि बालबालिकाले आफूलाई जन्माएर पृथ्वीमा ल्याइदिन बाआमासँग आवेदन दिएका हुँदैनन्। अर्थात्, उनीहरू आफ्नो इच्छाले संसारमा आएका हुँदैनन्। उनीहरूलाई बाआमाले नै संसारमा ल्याएका हुन्छन्।
त्यसैले हाम्रो गल्तीका कारण उनीहरूको जीवन नर्क बन्नु हुन्न। उनीहरूलाई खुसी राख्नु सही बाटो देखाउनु आमाबाको पहिलो कर्तव्य हो। सम्बन्धबिच्छेद लोग्नेस्वास्नीबीच हुन सक्छ तर आमा बुवाबीच हुनु हुँदैन।
आफ्ना आमा-बाबुबाट कुनै पनि बालबालिकाले मानसिक या शारीरिक पीडा खेप्नुहुँदैन। आमा-बाबीच हुने मनमुटाव भएर कुनै बालबालिकाले उनीहरूको मायाबाट बञ्चित हुनुपर्ने अवस्था सरासर हिंसा हो। यसले बालबालिकाको पूरै जीवन बदलिदिन्छ।
त्यसैले सम्बन्धबिच्छेदपछि पनि छोराछोरीले बाआमाबाट पाउने माया, साथ र मार्गदर्शन निरन्तर पाउनुपर्छ त्यो उनीहरूको हक र अधिकार हो।
आज म बालबालिकामा प्रेम र मातृत्वले पार्ने प्रभाव, अभिभावक, विद्यालय र शिक्षकको दायित्व सम्झाउने विजय मल्लद्वारा विक्रम सम्बत् १९९७ मा लेखेको नाटक 'कोही किन बर्बाद होस्' स्मरण गर्न सान्दर्भिक ठान्छु।
यो नाटक आजसम्म कति सान्दर्भिक छ भन्ने कुरा हालै चितवनमा एक १३ वर्षीया बालिकाको दुःखद् अवसानले सम्झाएको छ।
विद्यालयको होस्टलमै मृत फेला परेकी बालिकाको बारेमा बा-आमाले बलात्कारपछि हत्या गरिएको शंका गर्छन्। विद्यालय प्रशासन यस आरोपलाई अस्वीकार गर्छ। यो घटनामा कसैले विद्यालयलाई दोषी मान्छन् भने कसैले उनका आमा बाले दिन नसकेको माया र साथको परिणाम ठान्छन्।
विजय मल्लको नाटक 'कोही किन बर्बाद होस्' मा यस्तै घटनाबारे देखाइएको छ।
नाटकमा ध्रुव नाम गरेको एक विद्यार्थीलाई मुख्य पात्र बनाइएको छ। उनी एक बदमास विद्यार्थी हुन्छन्।
सानैदेखि बाआमाको माया नपाएका ध्रुवले आफ्ना साथीरूलाई कुट्ने, झगडा गर्ने, बदमासी गर्ने लगायतका काम गर्छन्।
विद्यालयमा उनको व्यवहारले सबै आजित भइसकेका हुन्छन्। यसैबीच फ्रायडको मनोविज्ञान पढेका प्रिन्सिपल सुन्दरले ध्रुवको व्यवहार अवलोकन गर्छन्। त्यसपछि उनी आमाको मायाबाट यो बालकले सानैदेखि बञ्चित भएको निष्कर्ष निकाल्छन्।
यसैबीच प्रिन्सिपल सुन्दरले शिक्षिका कमलालाई 'नक्कली आमा' बनेर ध्रुवलाई माया र ममता दिन आग्रह गर्छन्। कमलालाई मन नहुँदानहुँदै पनि उनको आग्रह स्वीकार्छिन्।
प्रिन्सिपलले दिएको जिम्मेवारी कमलाले इमानदारपूर्वक निभाउँछिन्। उनले आमाको मातृवात्सल्य दिएर ध्रुवलाई सुधार्ने प्रयास गर्छिन्। नभन्दै उनी यस काममा सफल हुन्छिन्।
यस क्रममा उनी साँच्चिकै ध्रुवसँगको वात्सल्यमा पग्लिन्छिन्। ध्रुव उनलाई आफ्नै छोराझैं लाग्न थाल्छ। ध्रुवले एसएलसी दिएर होस्टल र स्कुल छोड्नु पर्दा उनले आफूलाई सम्हाल्न सक्दिनन्। एसएलसीपछि ध्रुवका बुबा आफ्नो सप्रिएको छोरा लिन जिप चढेर आइपुग्छन् र शिक्षकशिक्षिकालाई धन्यवाद दिँदै फर्किन्छन्।
विजय मल्लले नाटकमा सृजना गरेको बोर्डिङ स्कुललाई शिक्षा बेच्ने नभई ज्ञान प्रदान गर्ने मन्दिरका रूपमा देखाएका छन्। अभिभावकको माया नपाउने बच्चालाई कसरी माया र प्रेमले सही बाटो देखाउन सकिन्छ भनेर विजय मल्लले शैक्षिक संस्था र शिक्षकको आदर्श जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
अब कुरो वर्तमान समाजको गरौं। आजका विद्यालय र खुद्रा व्यापारीको पसलमा कुनै फरक छैन। अपवादलाई छोडेर सबै जताततै उम्रिएका बोर्डिङ स्कुलको ध्येय नै पैसा कमाउने हो।
उनीहरू विद्यार्थीलाई आम्दानीको स्रोतको रूपमा मात्रै हेर्छन्। होमवर्कको बोझले थिचिएका विद्यार्थी परीक्षामा राम्रो अंक ल्याउन कति तनावमा हुन्छन् त्यसको कसैलाई सरोकार हुँदैन।
स्कुलमा पारिवारिक र प्रेमपूर्वक वातावरण पाउँदैनन्। कतिपयले स्कुलमा 'होस्टाइल' अर्थात आफू प्रतिकूल वातावरण पाउँछन्। त्यस्तोमा आमा र बाको माया नपाएका विद्यार्थी स्कुलको वातावरण थप पीडित हुन्छन्।
चितवनकी बालिकाको घटना यसको उदाहरण हो। यी बालिकाले आमाको माया र बाबुको छहारी कहिल्यै पाइनन्। नाफा कमाउन खोलिएको विद्यालयले उनको मानसिक अवस्था र मनको उदासीपन बुझ्ने कुरै भएन।
यसर्थ सम्बन्धबिच्छेद सही या गलत म भन्दिनँ तर यसको परिणाम बच्चालाई पर्नु हुन्न। बच्चालाई हुने पीडा दूर गर्न होस्टल र सुख सुविधा होइन आमाको माया र बाबुको संरक्षण आवश्यक हुन्छ। नभए यी बालिका जस्ता थुप्रै अबोधले अकालमै ज्यान गुमाउने निश्चित छ।
आज हरेक आमा र बाबुले बुझ्नुपर्ने कुरा के भने छोराछोरीलाई जन्माएपछि उनीहरूलाई दिनुपर्ने माया ममताबाट कमी हुनु हुन्न अनि शिक्षक र विद्यालयले पनि आफ्नो जिम्मेवारी बिर्सिएर पैसाको पछि लाग्नाले उनीहरूको भविष्य कता जाँदैछ बेलैमा विचार गर्नुपर्छ।
विद्यार्थीलाई शिक्षा बोझिल र कष्टदायक बनाउने शिक्षक र विद्यालय पनि ती बाआमासँगै नालायक हुन्!
हरेक बालबालिकाको बचपन सुखद र यादगार हुनुपर्छ। शिक्षाको उद्देश्य ज्ञान भए पनि 'अल्टिमेट' उद्देश्य बालबालिकाको खुसी नै हो। उनीहरूको हाँसो नै हो। गुणस्तरीय शिक्षा भनेको भौतिक पूर्वाधार मात्र होइन, बालबालिकाको खुसी पनि हो।
यति मात्रै बुझे पनि कुनै पनि बालबालिकाले चितवनकी बालिकाको जस्तो नियति भोग्नुपर्ने छैन। कोही कसै बर्बाद हुनुपर्ने छैन।