धनगढी कैलाली नालाको छेउमा एउटा चौर छ। यहाँ आजकाल हरेक साल महोत्सव लाग्ने गर्छ।
महोत्सवको बेला यहाँ निकै भिडभाड र चहलपहल हुन्छ। सुदूरपश्चिमका सबै जिल्लाका मान्छे यहाँ पुग्ने गर्छन्।
८० को दशकमा यहाँ रहरको दालको खेती गरिन्थ्यो। यसको नजिकै रहेको नालामा मानिसहरू शौच गर्न पनि जान्थे। त्यसबखत थोरैका घरमा मात्र शौचालय हुन्थ्यो।
हामी यसलाई डिल्लीराजको खेत भन्थ्यौं। डिल्लीराज एक जमिनदार जसको त्यसबेला निकै दबदबा थियो। उसो त उनले आफ्नो केही जगा विद्यालय र सामाजिक संस्थालाई दान गरे भन्ने सुन्नमा आउन्थ्यो।
डिल्लीराजको यो खेत विचित्रको थियो। यो कसैका लागि कैलाली नालासम्म जाने बाटो थियो, कसैका लागि गर्मीमा पल्टिने विश्रामस्थल थियो, कसैका लागि प्रेमालाप गर्ने ठाउँ थियो तर यो बिरलै हुन्थ्यो।
मेरा लागि भने यो मेरो दुनियाँ नै थियो। यही मैले मोजाको फुटबल खेल्न सिकें। यहाँ मैले स्वछन्द भएर गीत गाउन सिकें। घरमा कुटाइ खाएपछि मेरो लुक्ने ‘सेल्टर’ पनि यही थियो।
मेरो पहिलो क्रिकेट मैदान यही थियो। ८० को दशक समाप्तीसँगै यो क्षेत्रको आवादी घना हुँदै गयो।
मैले सुनेको छु अहिले पनि मजस्ता अलि कमजोर तप्काका केटाकेटीका लागि डिल्लीराजको खेत फिरोज शाह कोट्ला मैदान र लन्डनको ओभल मैदान नै हो।
त्यतिबेलाको कुरा हो हाम्रो टोलमा एक जना नैनीताल पढ्ने केटा आइपुगे। उनी उनको घरको ठूलो आँगनमा आफ्ना अंग्रेजी बोल्ने साथीसँग क्रिकेट खेल्थे। उनले घुँडासम्मको प्याड, शिरमा लगाएको हेल्मेट, हातमा पकडेको ब्याट देखेर म र मेरा साथी लालयित हुन्थ्यौं।
उच्च जात हुनाले उनको आँगनमा टेक्नु पनि हामीलाई बर्जित थियो। बोल्नु त परै जाओस्।
मलाई क्रिकेटको नशा लागिसकेको थियो। मैले आफूसँग पढ्ने सहपाठीहरूलाई क्रिकेटको बारेमा बताएँ।
मेरो दश नम्बरी भन्ने साथी थियो। उसले काठलाई चिरेर एउटा ब्याट तयार पार्यो।
फाटेका पुराना कपडाको एउटा बल बनायो। अनि सुरू भयो हाम्रो क्रिकेट यात्रा।
दिनहुँ डिल्लीराजको खेतमा हामी क्रिकेट खेल्न थाल्यौं। हामीलाई नियम थाहा थिएन तर हामी खेल्थ्यौं।
गर्मीको महिना थियो। सूर्य डुब्दै थियो। म मेरा साथीहरू क्रिकेट खेलिरहेका थियौं। यतिकैमा ती नैनीताल पढ्ने केटा आफ्ना साथीहरूसँग हामी भए नजिकै आएर हामीलाई चौरबाट हट्न भने।
उनी आफ्ना साथीहरूसँग क्रिकेट खेल्न चाहन्थे। उनले हामीलाई जातीय गालीहरू पनि गरे।
मेरो साथी दस नम्बरी अली तगडा थियो ऊ जङ्गियो। तर हामीबिना कुनै प्रतिवाद त्यहाँबाट निस्कियौं।
मलाई कताकता लाग्न थाल्यो क्रिकेट धनी मानी, ठूलाबडा र सामन्तीहरूको खेल थियो।
डिल्लीराजको खेतमा मैले क्रिकेटलाई माया र श्रद्धा गर्न सिकेको थियो। तर मैले नैनीतालमा शिक्षित ती केटाले जातीय गाली गरेपछि डिल्लीराजको खेतमा क्रिकेट खेल्न छोडें।
क्रिकेटप्रतिको मेरो श्रद्धामा कमी आएको मह्सुस गरें।
म क्रिकेटलाई माया गर्थें तर क्रिकेट मजस्ता कमजोरको थिएन भन्ने मलाई लागिरहेको थियो।
नब्बेको दशकतिर नेपाल क्रिकेट ग्रासरूट (जनस्तर) मै जुर्मुराउन थाल्यो। नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट एसिसी क्रिकेट टुर्नामेन्ट १९९६ मा खेल्यो। नेपालको सबभन्दा ठूलो उपलब्धी तब आयो जब नेपाल सन् २०१४ मा आइसिसी क्वालिफाइङ टुर्नामेन्टमा पुग्यो।
२०१३ क्रिकेट एकेडेमीको स्थापनाले महिला तथा पुरूष राष्ट्रिय टिमलाई आवश्यक ट्रेनिङ प्रदान गर्ने कार्यले तीव्रता पायो। मेह्बुव आलमजस्ता बलर शक्ति गौचनजस्ता थुप्रै क्रिकेटर नेपाली क्रिकेट जगतले पायो। नेपालले पारस खड्काजस्तो ब्याट्सम्यान र एक सानदार कप्तान पनि पायो।
पारस खड्काले आफ्नो खेल र मैदान बाहिरको व्यवहारले क्रिकेट 'जेन्टल्म्यान’ को खेल हो भन्ने साबित गरिदिए।
थुप्रै युवा पिँढी उनको व्यवहार र खेलबाट यति प्रभावित भए कि धेरै आमाबाबु आफ्नो छोराछोरी पारस खड्काजस्तो होस् भन्ने चाहना राख्थे।
पारस खड्का यस्ता कप्तान थिए जसले नेपाली क्रिकेटलाई केही सपना र आदर्श दिए।
सीमित साधन स्रोत, तलब, क्रिकेट मैदानको अभावका बीच नेपाली टिममा अभूतपूर्व विकास क्रम देखियो।
आशिफ शेख, ललित राजवंशी, रोहित पौडेल, सोमपाल कामी, जस्ता प्र्तिभावान खेलाडीले नेपाली क्रिकेटलाई एक उचाइ दिएका छन्।
नेपाली क्रिकेटको सुखद भविष्य रहेको उनीहरूले देखाइसकेका छन्।
नेपाली क्रिकेट टिमको हालै आयोजित एसिया कप क्रिकेटको प्रदर्शनले नेपाली क्रिकेट प्रेमीहरूलाई एउटा सुर दियो। त्यो सुरमा सबै रंगिए। म पनि अछुतो थिइनँ। छुट्टी लिएर म पनि क्रिकेट हेर्न घर बसें। मलाई पनि के लाग्यो भने आर्थिक अभाव र विश्वस्तरीय सुविधा नपाएका यी खेलाडीहरूमा नेपाली क्रिकेटलाई उचाइ दिने क्षमता थियो।
तर अनायासै मलाई कसैले गाली गर्दा मेरो क्रिकेटप्रतिको मोह भंग भएको त्यही दिन याद आयो।
मैदानमा एउटा बलात्कार आरोप लागेको अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्ति खेलिरहेको थियो। मलाई आफैंप्रति घृणा लागेर आयो। पूरा देश एउटा नारीमाथि गरिएको चरम शोषण, उनको अस्मितामाथि गरिएको प्रहारप्रति यति असंवेदनशील कसरी हुन सक्छ? डिल्लीराजको खेत याद आयो। नैनीताल पढेका ती सम्भ्रान्त युवाको अनुहार अगाडि आयो।
मैले बुझें क्रिकेटरद्वारा बलात्कृत भनिएकी ती नाबालिगको पीडा मानसिक शारीरिक वेदना कति असह्य होला। क्रिकेटजस्तो महान खेलले यस्तो घोर अपराधलाई नजर अन्दाज गर्न कसरी मद्दत गर्न सक्छ? कुनै पनि कार्य जसले मान्छेलाई समाजमा व्याप्त अन्याय शोषण भुल्न, नजर अन्दाज गर्न मजबुर गर्छ त्यो खतरनाक हुन्छ।
नेपाली खेल प्रेमीको एउटा तप्का यस्तो थियो जो ती आरोपी खेलाडीको महिमा मन्डन गरिरहेको थियो।
आखिर समाज यति निर्लज्ज कसरी भो? यसको जिम्मेवार को थियो त? क्रिकेटको खेल त पक्कै होइन। मेरो विचारमा सबभन्दा पहिले जिम्मेवारी क्यानले लिनुपर्छ जसले बलात्कारलाई ट्राफिक नियम तोडे जति गम्भीर पनि मानेन।
आज ती बालिकाको मुद्दा अदालतमा छ। अदालतको फैसला जे सुकै आओस् क्यानले आफ्नो कोर्ष करेक्सन गर्नुपर्छ।
सन् १९४६ मा बनेको नेपाल क्रिकेट संघले यति विवेक पनि किन प्रयोग गरेन? हरेक संस्थाको एक मूल्य र आदर्श हुन्छ। मूल्यको जगमा त्यो संस्था खडा हुन्छ। मूल्य बिनाको संस्था जति ठूलो भए पनि जुनसुकै बेला पनि ढलेर माटोमा मिल्न सक्छ।
श्रद्धा तब जाग्नेछ जब क्रिकेटले सबैलाई आनन्द दिन्छ, ऊर्जा दिन्छ, मानिसभित्रको मानवतालाई जगाउँछ। यसका लागि क्रिकेटले खेलाडीबाट केही नैतिक मान्यताको पालनको अपेक्षा गर्दछ। यति भनिरहँदा हाम्रा क्रिकेट खेलाडीले झेल्नु परेका सम्स्याको निदान गर्न सरकार तुरून्त क्रियाशील हुनुपर्छ।
हाम्रा कुनै क्रिकेट खेलाडीलाई रोजीरोटीको चिन्ताले नसताओस। ब्याट किन्न संघर्ष गर्न नपरोस्।
क्रिकेटले सबैको अनुहारमा खुसी ल्याओस्। यसो भए मात्र नेपाली क्रिकेट सफल हुनेछ।
नेपाली क्रिकेट टिमका खेलाडी, नेपाल क्रिकेट संघ, सरकार र क्रिकेट प्रेमी जनताले आजका दिनमा बुझ्नुपर्ने कुरा के भने क्रिकेटको सफलताको मापन खेलाडीले मैदानमा बनाउने रनले होइन, मैदान र मैदान बाहिर देखाउने चरित्रले हुन्छ। नेपाली क्रिकेटलाई माया गरेर मात्रा हुँदैन श्रद्धा गर्ने लायक बनाउनुपर्छ।
नेपाली क्रिकेटले न्यायको घाँटी ननिमोठोस्!