‘अरुका कुरा धेरै नसुन्नुहोला। घरमै दुईदुई जना सम्पादक हुनुहुन्छ – त्यसको सक्दो उपयोग गर्नुहोला। आफ्नै शैलीबाट चिनिने हो लेखक। शैली र प्राथमिकताहरू आ–आफ्ना हुन्छन्। तिनलाई थोरै माझ्नुहोला।’
इमेलमार्फत् यस्तै दोधारे टिप्पणी पठाएथें मैले मित्र सञ्जय घिमिरेलाई।
सुरुमा ‘अरुको कुरा नसुन्नू’भनेको थिएँ तर अन्त्यतिर ‘यसो यसो गर्नुहोला’भन्दै सुझाव दिएपछि म आफैंलाई लाग्यो – मैले सञ्जयलाई अल्मल्याउन खोजें।
बीचमा त मैले अरु सुझाव पनि पेलेको रहेछु, ‘पेज ३० सम्म तपाई जेजसरी पोखिनुभएको छ, त्यो अलि अमूर्त पोखाइ भयो। सुरुमा क्लिष्ट कुराहरू आए र पाठकले बुझेनन् भने उनीहरू भड्किने सम्भावना हुन्छ।’
लामो समयसम्म सञ्जयको जवाफ आएन।
लेखनमा उन्मुक्त पोखिने, बिना बन्धन गड्गडाउन रुचाउने सञ्जयलाई मैले अलि निरस, असान्दर्भिक सुझाव पठाएको थिएँ। लाग्यो – मैले उनलाई ठेस लगाएँ। पक्कै उनी रिसाएको हुनुपर्छ। उनीभित्रको लेखकले मलाई दुत्कारिरहेको हुनुपर्छ।
मेरो नजरमा अलि लज्जालु लेखक हुन् सञ्जय घिमिरे। अरुजस्तो फ्याङ्फ्याङ्ती बोल्दैनन्। तर, लेखेरै काण्ड पुर्याउँछन्। उनैलाई मैले चिढ्याएँ कि ! मेरा सुझाव अजासुका गन्थन् मानिए कि ! सोध्ने हिम्मत आएन।
म अमेरिकाको उत्तरपूर्व न्युह्याम्सरमा छु। उनी दक्षिणपश्चिम टेक्ससमा छन्। दूरीले टाढा भए पनि हामी मनले नजिक थियौं। तर, स्वभावले थिचिएका। फोनवार्तासमेत् हुँदैनथ्यो। त्यो पृष्ठभूमिमा अनावश्यक टिप्पणी ठेलेर मैले साथीलाई जिस्क्याएँ कि ! म यस्तै सोच्दै थिएँ।
सामाजिक सञ्जालहरूमा लजाई लजाई यदाकदा मात्र झुल्किने सञ्जयले एकदिन अचानक मेरो गोप्य–मन्त्रणालाई फेसबुकमा सार्वजनिक गरिदिए। उनले लेखेका थिए, ‘मैले साथी पेशलको कुरा सुनें। उनको सुझावअनुसार म मेरो पाण्डुलिपिको पुनर्लेखन गरिरहेको छु।’
मेरो डर बल्ल भाग्यो।
त्यसैदिन दिउँसो आदरणीय दाजु शैलेश आचार्यले टेक्ससबाटै फोन गर्नुभयो र केही घण्टाअघि सार्वजनिक हाम्रो मन्त्रणालाई ‘थम्सअप’गर्दै उनै सञ्जयसँग अचानक भिडाइदिनुभयो।
हाम्रो स्वभावजस्तै केही संवादहरू भए। थोरै संकोच, धेरै आत्मीयता। थोरै बोल्यौं, धेरै बुझ्यौं र एकअर्कालाई उकास्यौं। मजस्तै मेरो संकोची मित्रले प्रकाशोन्मुख कृतिको पाण्डुलिपिलाई माझ्न थालेकोमा म खुसी भएँ। र, यो अभियानमा एक, दुई दिन साक्षी बस्न पाएकोमा आफूलाई धन्य सम्झिएँ।
यसरी कसैको पाठक बन्न पाउँदा म धेरै फुर्किने गरेको छु।
नेपालमा कुनै बेला सँगसँगै अक्षर गोड्ने साथीहरू अहिले यत्रतत्र छरिएका छौं। प्रकारान्तरले ‘ग्लोबल’ बनेका छौं। धेरै समय हाम्रा अक्षर सुस्ताए। थोरै लेख्यौं। जिजीविषाको जञ्जालमा हरायौं।
म त झन् १० वर्ष नै हराएँ। साथीहरू भन्थे, ‘कहाँ हराको ? लेख् न हौ। बेलाबेला गफगाफ त गर्।’अढाई वर्षअघि प्रिय शब्दशिल्पी विष्णु निष्ठुरीले भनेका थिए, ‘भाषाशैली भएको मान्छेले लेख्नुपर्छ, नत्र पाठक अन्यायमा पर्छन्।’ उनले मेरो विगत सम्झाउँदै मीठो हुट्हुटी पठाइदिएका थिए।
एकदिन एउटा निबन्धसङ्ग्रह हात पर्यो। नाम अनौठो थियो, ‘झ्याम्ली बाख्राको पाठो।’पढें। त्यसले मभित्रको पाठकलाई मज्जाले हल्लाइदियो। र, सम्झाइदियो – अक्षरखेतीको बेला पुस्तक–समीक्षाको ठेक्कै लिनुपर्ने आफ्नो विगत। नलेखी बस्नै सकिनँ। तर आफूभित्रको लेखक सुस्ताएको वर्षौं भएको थियो, छाप्न पठाउने हिम्मत आएन। जेजति लेखें, फेसबुकमा सुटुक्क टाँसे र निदाएँ।
भोलिपल्ट उनै विष्णुले आफ्नो अनलाइन पोर्टलमा त्यसलाई साभार गरिदिएछन्। भनिदिएछन् – ‘लुक्न खोज्दैछ एउटा लेखक। ऊ अलि संकोची छ। तान्नुपर्छ है।’
साथी सञ्जयको अहिलेको घोषणा सम्झिंदै गर्दा म उनै शिल्पी विष्णु निष्ठुरीलाई कृतज्ञता जनाइरहेको छु। मलाई विष्णुले उकासेजस्तै सञ्जयलाई पनि कसैले उकासेको हुनुपर्छ। र, भनेको हुनुपर्छ, ‘एकाध लेखहरूमा तिमीभित्रको ‘सोम्याक्स’(सिर्जनात्मक लेखनमा सञ्जयले उपयोग गर्ने छद्मनाम) पूर्णतः पोखिदैन। तिमीले लेखिरहनुपर्छ। पोखिरहनुपर्छ आफूलाई। समय भए किताब लेख।’
थुप्रै नेपाली लेखकहरूले गुँड बनाएको टेक्सस, अमेरिकामा बसिरहेका सञ्जयलाई क–कसले चिमोटे, क–कसले उकासे; त्यो उनले नै भन्लान्। बल्टिमोरको दौडधुपले कति सेक्यो, सानफ्रान्सिस्कोको जिम्मेवारीले कति पेल्यो र अहिले डालास–फोर्टवर्थको दुनियाले कति उकास्यो – उनको कलमले त्यो पनि खुलाउला।
तर म निश्चिन्त छु – उनले लेखिरहेको अहिलेको आत्माख्यान (उनले चाहिँ आत्मकथा होइन भनेका छन्) ले सञ्जयलाई अर्को उचाइ दिनेछ। त्यसमा देउराली–कास्की कति आउला, काठमाडौं कति झुल्केला, अमेरिकी शहरहरू र त्यहाँ भेटिएका पात्रहरू कति समेटिएलान्, त्यो सबै अहिले खोल्नु उचित नहोला। यति चाहिँ भनौं – त्यहाँ डा. डीपी भण्डारीजस्ता युगीन पात्रहरू पक्कै हुनेछन्। देराभ, गुमनाम परदेशी जस्ता लगौटियाहरू पनि यदाकदा झुल्किएलान्। कतै तारा रावल उदाउलिन्, प्रतीक र बिम्बहरूमा।
पात्रहरूको खोजीमा निस्केका सञ्जय कहाँ दगुर्लान्, कहाँ अडिएलान्; त्यो जान्न अब धेरै पर्खनु पर्दैन। उनले सुटुक्क यस्तै वाचा गरिसकेका छन्।
अब चाँडै पढ्न पाइनेछ उनका सुललित वाक्य–विन्यास। चाँडै छाम्न पाइनेछ – उनको सम्मोहनकारी लेखाइ। चाँडै भेटिनेछन् थुप्रै ‘कोटेबल कोट्स’। भेटिनेछ लेखनको एउटा प्रवाह। कुनै बेला हिमालयन टाइम्समा पानाहरूमा मनीषा कोइरालाको ऊष्माबाट बाफिएका पत्रकारहरूको मनोदशा केलाउने सोम्याक्स फेरि भेटिनेछन्। झन् गतिशील, झन् परिपक्व।
किताब निस्कनुअघि नै बधाई भन्न आतुर छु म।
अर्को कुरा, जब हामी नेपालभित्रै थियौं, स्थानीय थियौं, पूर्णतः ‘लोकल’। त्यसलाई कसैले मूलधार पनि भन्लान्। अहिले हामी छरिएका छौं। हामीझैं नेपाल पनि संसारभर छरिएको छ। र, फैंलिदो छ नेपाली भाषासाहित्यको आयतन। अब नेपाली साहित्यमा मेचीमहाकाली, भाक्सु, भोटाङ, आसाम वा बर्मामात्र लेखिंदैनन्। सगरमाथा र लुम्बिनीको बिम्बले अब छेउटुप्पो पनि छुँदैन। रुसमा कसैले नेपाली युनिकोड ठोकिरहँदा अष्ट्रेलियामा अरु कसैले प्रीतिमा लेखिरहेको हुन्छ; क्यानडामा कसैले प्रीतिका अक्षरलाई मंगलमा रुपान्तर गरिरहेको हुन्छ।
नेपाली आमाहरूले ओहायो–एक्रनमा सँगिनी गाउने र लागोस–नाइजेरियामा नेपाली लोकभाकाको भिडियो बनाउने काम सँगसँगै भइरहेका हुन्छन्। मैले लेखेको समीक्षा पढेर ‘दाइ, त्यो किताब त जसरी पनि चाहियो’भन्ने भाइहरू पोर्चुगलतिर भेटिन्छन्। म एकैपल्ट थाइल्याण्ड, यूके, जापान, अष्ट्रेलियाका भाइमित्रहरूका प्रतिक्रिया पढिरहेको हुन्छु। न्युयोर्कका कविले जूममार्फत नेपालभित्रका स्रष्टाहरूको अन्तरक्रिया गराइरहँदा फेरि अनुभव हुन्छ नेपाली साहित्यको फैंलिदो आयतन।
हामीले यता यसरी नै गोडिरहेका अक्षरहरूलाई म प्रवासी साहित्य भनेर खुम्च्याउन चाहन्न। डायस्पोरिक मात्रै पनि होइन। यो त नेपालीको विश्वव्यापी उद्वोधन हो – ‘ग्लोबल नेपाली साहित्य’। देशभित्रै बसौं वा बाहिर; राष्ट्रियता–भूगोल जेसुकै होस्; हामी नेपाली पहिचान बोकेका ‘ग्लोबल नेपाली’हौं।
अब त्यस्तै साहित्य आउनुपर्छ। सीप हुनेले अब सुस्ताउनु हुँदैन। कलम हुनेले सुक्न दिनुहुँदैन आफ्नो मसी। कुनै परदेशी पनि अब गुमनाम बस्नुहुँदैन।
हामी आफैं बन्नुपर्छ लेखक र आफैं गर्नुपर्छ आत्मसमीक्षा। आफैंले साँध लाउनुपर्छ आफ्नो कलम। आफैंले रोज्नुपर्छ आफ्नो मसी। आफैंले फिंजाउने हो आफ्नो पङ्ख र आफैंले तोक्ने हो आफ्नो परिधि। हाम्रो व्यञ्जन ‘फास्टफुड’जस्तो क्षणिक हुनुहुँदैन अनि त्यसलाई दाँत चोइट्याइदिने हाडेओखर पनि बनाउनु हुँदैन। बोक्रा सजिलै फुटोस् र सजिलै भेटियोस् दिउल।
प्रिय साथीहरू ! अब बाहिर निस्कौं। समाचार र सामयिक टिप्पणी त तत्कालका निम्ति हुन्। तिनले आँत भरिंदैन। लेखौं साहित्य। लेखौं आत्माख्यान। विधा जे समाए पनि हुन्छ। किबोर्डमा औंला नाचेझैं फरकफरक विधामा नचाए हुन्छ मनोवेग।
सञ्जयले कास्की–देउरालीबाट पात्र–अन्वेषणको महाअभियान सुरु गरे र घुम्दाघुम्दै टेण्डरलोइन, सानफ्रान्सिस्कोमा भेटे अजीव अजीवका चरित्र।
म उनै सञ्जयलाई गुरु थापेर तेह्रथुम–वसन्तपुरका ढिंकीजाँतोको इतिहास केलाउन सक्छु र तिनलाई अमेरिकाको भर्जिनिया, टेक्सस, विस्कन्सिन र न्युह्याम्सरका गाउँबस्ती, तालतलैयासँग जोड्न सक्छु। कसैले चितवन र लण्डन जोड्न सक्छन्। कसैले झापा र क्यानडाको एडमण्टन जोड्न सक्छन्। धरान–फुस्रेको कथालाई न्युयोर्कतिर तान्न सकिन्छ। बझाङ पिठातोलाको कथा बस्टनको युम्यास परिसरमै उठाउन सकिन्छ।
यसरी नै जोड्ने हो समाज। यसरी नै फैलाउने हो भाषासाहित्यको सुवास। झुल्किनै लागेको छ सञ्जय घिमिरेको मानस–यात्रा। देउरालीबाट उठ्दैछ त्यो। त्यहाँ पाती चढाउने हो र उनीझैं निस्किने हो पात्रहरूको खोजीमा। यसरी नै घुम्ने, घुमाउने हो संसार। मित्रहरू ! तयार हुनुहुन्छ हैन त ?