" विष्णु म आफ्नो वृद्ध शरीरलाई पुनः फुर्तिलो बनाउन आयुर्वेदिक काया-कल्प उपचार गर्न चाहन्छु, मलाई कर्नाटकको नन्दी पहाड छेउको आश्रममा बसेका नारायणदाष सँग काया-कल्पलाई चाहिने चेवन्प्रास बनाउने विधि सिक्नु छ तर उनलाई अङ्ग्रेजी आउँदैन, के तिमी मेरो लागि अनुवादक बनी दिन्छौ? " डा. फिल स्याम्बोले ब्यांगलोर आउने आग्रहका साथ फोन गरे। फिल अमेरिकाको आइडाहो राज्य वासी न्याचुरोप्याथी डाक्टर हुन्।
" हुन्छ " मेरो गर्मीको छुट्टी चली रहेको हुनाले मैले स्विकारेँ। नारायणदाषका गुरु तपस्वी जी महाराजले आफ्नो जीवनमा तीन पटक काया-कल्प उपचार गरी १०० वर्ष भन्दा बढी बाँचेका थिए भन्ने उनका शिष्यहरूको दाबी छ।
हामी धेरै बेर गाउँको गोरेटो हिँड्दै नारायणदाषको आश्रम पुग्यौँ। नारायणदाष त्यो क्षेत्रमा साधु र वैद्यका रूपमा परिचित छन्। हामी प्रवेश गर्दा नारायणदाष आसनमा बसी हातमा माला लिई जप गर्दै थिए। "प्रणाम महाराज जी!" मैले दुवै हात जोडी नमन गरेँ र डा. फिलले पनि त्यसै गरे। "फिल तपाईँसँग कायाकल्प गर्न चाहिने च्यवन्प्राश बनाउने विधि, जडीबुटी र काया-कल्प उपचारको विधि बारे जान्न चाहनु हुन्छ ", मैले हामी आउनुको कारण बताएँ।
"कायाकल्प चरक संहितामा वर्णित एक प्राचीन शरीरलाई पुनर्ताज़ा गर्ने र आयु बढाउने विधि हो र सफल काया-कल्पले २० वर्ष सम्म आयु बढ़ाउछ" नारायणदाषले भने र मैले फिललाई अनुवाद गरी सुनाएँ। फिलको आफ़ु भन्दा धेरै तरुनी महिला सँग बिवाह भएकोले उनको शरीरलाई पुनार्ताज़ा गर्नमा विशेष रुचि थियो।
नारायणदाषले विस्तारमा भन्न थाले। कल्प गर्न आमाको गर्भावस्था शिशु अवस्था जस्तै वातावरण बनाई एउटा अँध्यारो कक्षमा प्रायजसो व्रत बसी या गाईको दूध र च्यवन्प्राश मात्र सेवन गरी बस्नुपर्छ। च्यवन्प्राश अमला , दालचिनी , ब्राह्मी , तिल जस्ता करिब ५० जडीबुटीको मुर्रब्बा हो। यसको एक मात्र अजैविक रसायन पारदभस्म "मकर ध्वज" हो। यो पारद भस्मिकरणको विधि या मात्रा गलत भए यो विष तुल्य पनि हुन सक्छ।
नारायणदाषले मकर ध्वजको मात्रा गलत भए यो विष तुल्य पनि हुन सक्छ भनेको सुन्दा म रसायन शास्त्रको विद्यार्थी भएको हुनाले उनको कथनमा विष विज्ञानका पिता पर्सेलसले औषधिमा मात्राको महत्त्वमाथि प्रकाश पार्दै ल्याटिनमा " सोला डोसिस फसिट भेनेनम " अर्थात् - मात्राले नै कुनै पदार्थको विषाक्तताको निर्धारण गर्छ - भनेको याद आयो। व्यावसायिक रूपमा बजारमा बिक्री हुने च्यवन्प्राशहरुमा मकर ध्वजको मात्रा नमिलेको हुनाले पूरक खानाको रूपमा मात्रै सीमित रहेको र जीवन लम्ब्याउन असक्षम रहेको पनि नारायणदाषको कथन थियो।
म नारायणदाषले भनेको विधिको पछाडि के वैज्ञानिक कारण होलान् भन्ने सोचमा परेको थिएँ तर मेरो पढाई चली रहेको हुनाले त्यति बेला नारायणदाष सँग च्यवन्प्राश बनाउने प्रामाणिक विधि सिक्न पाईंन। केही वर्ष पछि म ब्यांगलोरबाट रसायन शास्त्रमा स्नातकोत्तर गरेर विद्यावारिधि गर्न अमेरिका आएँ।
अहिले म रसायन शास्त्रका साथै औषधिय विज्ञानमा अन्वेषण गर्दै छु। औषधिलाई प्रभावकारी ढङ्गले व्याधि ग्रस्त तन्तुसम्म पुर्याउन शुक्ष्मकण (न्यानो पार्टिकल) हरूको प्रयोग देखि खुराक निर्धारण गर्न औषधिलाई जीव कोशिकाहरूमा परीक्षण गर्ने विधिहरू सिक्दै छु। आज म जीव रसायन शास्त्रमा विद्यावारिधि गरिरहेको अनुसन्धानकर्ताको नजरबाट नारायणदाषको च्यवन्प्राश बनाउने परम्परागत काया-कल्प विधिको समीक्षा गर्दै छु।
काया-कल्पमा भनेझैँ व्रत बसी खुराक घटाउनाले (क्यालोरी रेस्ट्रीक्शन) शरीरका जीर्ण र मृत कोशिकाहरूलाई स्व-पाचनको प्रक्रिया(अटोफेजी) लाई सक्रिय बनाई अविभाजित भ्रुणजन्य मूल कोशिकाहरू (एम्ब्रियोनिक स्टेम सेल) निर्माणलाई मद्दत गर्न सक्छ। मूल कोशिकाहरूमा शरीर-रचनाका साथै कुनै पनि जीर्ण तन्तुको पुनः निर्माण गर्न सक्ने क्षमता हुन्छ। अब च्यवन्प्राशमा मिश्रित सामाग्रीहरूको बनोट र पोषक तत्त्वहरूको चर्चा गरौँ।
च्यवन्प्राशमा मिश्रित मुख्य खुराक अमला हो।अमला प्राकृतिक रूपमा भिटामिनको सी को सर्वश्रेष्ठ श्रोत हो। भिटामिन सी ले प्रतिरोधात्मक शक्ति बढाउँछ। दालचिनिमा सिनेमल्डीहाइड लगायत अन्य फेनोलिक्सहरु प्रचुर मात्रामा पाइन्छ। फेनोलिक्स र भिटामिनको सी ले स्वस्थ कोशिकालाई आक्रमण गरी जीर्ण बनाउने प्रतिक्रियात्मक तत्त्व (फ्री र्याडीकल्स) लाई निष्क्रिय पार्छ र कोशिकालाई अकालमै क्षय हुनबाट बचाउँछ। त्यसरी नै च्यवन्प्राशमा मिश्रित तिलको तेलमा असंत्रिप्त बोसो अम्ल (मोनो पोली अन्स्याचुरेटेड फ्याटी एसिड) ले पनि कोशिका र तन्तुहरूलाई जीर्ण हुन बाट बचाउँछ।
सबै जडीबुटीको प्रयोगका पछाडि रहेको वैज्ञानिक कारण देख्न सकिन्छ तर पारदभस्म मकर ध्वजको प्रयोगको औचित्य स्पष्ट पार्न सक्ने ज्ञान अहिलेको विज्ञान सँग छैन। पारो सामान्यतया विषाक्त हुन्छ। यो पुनः ताजगीय हुनका लागी यसलाई भस्मिकरण गरी शुक्ष्मकणमा परिणत हुँदा यसको औषधीय कार्य-विधि ( मेकानिज्म् अफ एक्सन ) मा बदलाव हुनु पर्यो या त पाराको काम जीर्ण कोशिकालाई टुक्र्याइ पुनः प्रयोग गर्न मिल्ने पोषक पदार्थहरूको पुनरावृत्ति गरी नयाँ कोशिकालाई पोषण पुर्याउने अन्तकोशिय स्व-पाचनको प्रक्रियालाई सक्रिय बनाउने हुनु पर्यो।
चरक संहितामा र अन्य ग्रन्थहरूमा च्यवन ऋषिले यो विधि प्रयोग गरी वृद्धावस्था बाट पुनः जवान भयका थिए भन्ने वर्णन छ। च्यवनप्रासमा मिश्रित केही जडीबुटीहरूमा शरीरलाई पुनः ताजा गर्ने गुँड भएका तत्त्वहरूले भरपुर भएको देखिए पनि आधुनिक चिकित्सा विज्ञानको भाषामा यस्तो दाबी गर्ने ठोस प्रयोगहरू भएका छैनन्।
हो! आधुनिक चिकित्सा विज्ञानको विकास हुन अघि विभिन्न परम्परागत र रैथाने आयुर्वेदिक , चाइनिज , युनानी जस्ता औषधी विधिहरू चल्दै आएका छन्। केही विधिहरू प्रभावकारी हुँदा-हुँदै पनि तिनका पछि रहेको वैज्ञानिक कार्यविधिको कारण नखुलेको हुनाले आधुनिक चिकित्सा शास्त्रले यिनलाई केवल अतिरिक्त खुराक (फुड सप्लिमेन्ट) को मात्रै दर्जा दिएको छ। एहआईभी-एड्स देखी क्यान्सर सम्म निको पार्ने दाबी गर्ने वैद्य , हकिमहरु त भेटिन्छन् तर उनीहरूसँग यसले कसरी काम गर्छ भन्ने प्रश्नको वैज्ञानिक उत्तर हुँदैन।
उसो त परम्परागत रूपमा प्रयोग हुँदै आएको सिन्कोना र आर्टिमेसेया बाटै क्युनिन र आर्टिमेसेनिन जस्ता आधुनिक औषधिहरू पनि विकसित भएका छन्। तसर्थ, रैथाने औषधि विधिहरूको प्रभाकारीताका वैज्ञानिक कारणहरू पत्ता लगाई तिनको आधुनिक चिकित्सा विज्ञानको भाषामा व्याख्या गर्न सके नयाँ औषधिहरूको आविष्कार हुनुको साथै नेपालजस्तो जडीबुटीको निर्यात सम्भावना रहेको देशको अर्थतन्त्र सुदृढ हुन सक्छ।
अतिरिक्त खुराककै रूपमा भए पनि जडीबुटीको सङ्कलन र उचित प्रशोधन र बजारीकरण गरे कयौँलाई रोजगारी सिर्जना गर्नुको साथै निर्यातमा वृद्धि गर्न सकिन्छ। भारतमा वैद्यनाथ, हिमालय, पतंजलि अनि चीनमा तिअन-जिंग र जापानमा कम्पो जस्ता ब्रान्डहरूको व्यवशायिक सफलता यसको प्रमाण हो।
कच्चा जडीबुटी प्रचुर मात्रामा उपलब्ध हुँदा-हुँदै पनि हामी नेपालमा यस्ता रैथाने, परम्परागत औषधिहरूको निर्माणमा हामी किन अग्रसर हुन सकेका छैनौँ त?
नेपालमा जडीबुटी सङ्कलन, प्रशोधन, बजारीकरण का लागि हामीले चाल्नुपर्ने ठोस कदमहरू
क्यानडा निवासी खाद्य वैज्ञानिक र स्कुल अफ डिस्रपटीव एनोभेशन टोरन्टो का प्रमुख कार्यकारी निर्देशक नारायण घिमिरे नेपालमा जडीबुटीको सङ्कलन, उचित प्रशोधन, बजारीकरण र व्यवशायिक सफलताको सम्भावना र हामीले चाल्नुपर्ने ठोस कदमहरूको बारेमा भन्नुहुन्छ, “संसारमा कमर्सियल डिमाण्ड रहेका जडीबुटी कुन कुन हुन् भन्ने स्पष्ट डाटा छ। हाम्रा छिमेक चीन र भारतमा भइरहेको तर हाम्रोमा हुन नसकिरहेको कमर्सियल डिमाण्ड रहेका जडीबुटी नेपाली निजी क्षेत्रले खेती गरी मुनाफा लिन सक्ने जायज अवसर बाट नेपाली उद्यमी कुनै पनि मूल्यमा चुक्नु हुँदैन भन्ने धारणा रोपिनु जरुरी छ।
नेपालमा बन नियमावली र बन कार्य विधिमा परिमार्जन गरी समुदाहिक बन बाट आउने जडीबुटी, समुदाहिक बन भाडामा लिएर गरिएको खेतीबाट आउने जडीबुटी र निजी जग्गामा खेती गरिएको जडीबुटीको बेग्ला बेग्लै जटिबुटी खेती, प्रशोधन र बिक्री तथा निर्यातको नीति व्यवस्था हुन जरुरी छ।
हाम्रा छिमेकी मुलुकहरू किसानलाई खेती गर्न नै नगद अनुदान दिएर मात्र नपुगी आफ्ना स्थानीय उत्पादनलाई प्रशोधन र निर्यात योग्य बनाउन सिप र प्रविधि हस्तान्तरण गर्ने जरुरी ज्ञान र सिप प्राप्तिमा किसान लाई सहजता, प्रविधि हस्तान्तरणमा १००% सहयोग, उद्यमीलाई इनोभेटिब बनाउन दक्खल राख्ने नलेज इन्कुबेटरहरु लाई आफैले १००% सिड मनि (स्थापन पुजी) हालेर संसारको बजारमा आफ्नो पकड जमाउन सकिरहेका छन्। हामीलाई भने कालान्तर देखिको राजनीतिक, सामाजिक र कार्यान्वयन पक्षको असहजताले जकडाएर राखेको छ।
नेपालको जडीबुटी उत्पादन तथा प्रशोधन गरेर आफू बसेको मुलुकमा निर्यात योग्य जडीबुटी व्यवसाय गर्न चाहने धेरै प्रवासी नेपालीहरू यो उद्यममा जोडिने प्रबल सम्भावना हालको सरकारको जडीबुटी उत्पादन, प्रशोधन र निर्यात क्षेत्रमा कम्तीमा १० करोड परेन डाइरेक्टर ईनभेष्टमेन्ट (एफडिआइ) हुनुपर्ने प्रावधान ले तुहाई दिएको छ। जस्तो कि कतिपय जडीबुटी क्षेत्रका सामान्य साफ सुग्घर गर्ने काम, एक्सट्रेकट बनाउने, हर्बल चिया बनाउने, चूर्ण हरू बनाउने, एक जैविक ऒखति बनाउने, जैविक मल, जैविक विषादी, नेचुरल हेल्थ प्रडक्टहरू बनाउने काम हरूमा मात्र ८-१० लाखमा पनि राम्रो मुनाफा दिने गरी अस्तित्वमा आउन सक्छ। उत्पादन, प्रशोधन भन्दा बजार चुनौती रहेका क्षेत्रहरूमा प्रवासी नेपालीहरू हाम फाल्दा यो क्षेत्रमै कायापलट निम्तिने सम्भावना रहेको मलेसिया - इन्डोनेसियाको अनुभवले बताउँछ।
नेपालमा जडीबुटीको प्रशोधन र बिक्री तथा निर्यात उद्यमशीलताको विकासको लागि कृषि र हर्बल क्षेत्रको इनोभेटिभ बढी अफ नलेज मार्फत ज्ञान, सिप र प्रविधिको हस्तान्तरणको तत्काल खाँचो छ। त्यसको सुरुवातको लागि सरकारले मात्र ५ मिलियन अमेरिकी डलर जति सक्षम निजी क्षेत्र पहिलाएर अनुदान सहयोग दिने सर्तमा तत्काल काम सुरु गर्न लगाउन पर्ने अवस्था हो।
ज्ञान, सीप र प्रविधि भित्राउने कुरा राज्यले आफै सम्पूर्ण खर्च बेहोर्न तयार हुँदा मात्र सम्भव हुन्छ। हाम्रा जिम्मेवार निकायमा यो विषयको गम्भीरताको चुरो र रस बारे खासै कोही जानकार रहेको जस्तो देखिएन। न त कुनै चासो नै रहेको भेटियो। सीप र प्रविधि भित्राउने काममा समेत अर्काको प्रायोजन पाइन्छ वा फोकटमा हुने अवस्था आउँछ भने गर्ने हो नत्र किन गर्ने भन्ने आशय झल्कन्छ। संवृद्धिमा समेत प्रायोजन खोज्ने रवैयाले कुनै पारा लगाउँदैन। मात्र समयको बरबादी निम्ताउँछ।“
भारतमा आयुष (आयुर्वेद, योग, प्राकृतिक चिकित्सा , युनानी , सिद्ध , होमियोपैथी , सोवा रिग्पा) चिकित्सा पद्धतिहरूको प्रवर्धन गर्न विशेष मन्त्रालय बनाएको छ। त्यसरी नै चीनले विगत केही वर्षमा परम्परागत चाइनिज औषधिको आक्रामक प्रवर्धन गर्दै संसारभरका बजारमा ५० बिलियन डलरको व्यापार पुर्याउने लक्ष लिएको छ। यसका लागी चीनले युरोप र अमेरिकाका २ दर्जन भन्दा बढी परम्परागत चाइनिज औषधि वितरण केन्द्रहरू खोलेको छ। औषधि-पर्यटन ले पनि भारत र चीन लाखौँ पर्यटक भित्र्याउँदै आएका छन् ।
नेपालमा स्थानीय क्षेत्रको आम जन-जीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ। भारत र चीन तर्फ अत्यन्त न्यून मूल्यमा निर्यात हुने गरेका कर्णाली र खप्तडमा सङ्कलित जडीबुटीहरू भण्डारण र प्रशोधन सम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनु आवश्यक छ । यसो गरे देखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केन्द्रहरू सँग सहकार्यका बाटा खुल्छन्। पर्यटन को प्रवर्धन हुन्छ। बिस्तारै यस्ता विज्ञान अनुसन्धान केन्द्र वरिपरि नवीन साना उद्योग खुल्छन् र स्थानीय विकास र अर्थतन्त्र दिगो र नवीकरणीय हुँदै जान्छ।
नेपालमा पनि औषधि-पर्यटन प्रवर्धन परम्परागत औषधि र जडीबुटी पहिचान, सङ्कलनको क्षेत्रमा विकास गर्नु आवश्यक छ।
परम्परागत औषधि प्रवर्धन र जडीबुटी पहिचान, सङ्कलन र प्रशोधनमा नेपालका चुनौतीहरू
भारतको पतञ्जलिले नेपालमा जडीबुटीको उपलभ्दता र आयुर्वेदिक औषधिको बजार देखेर आफ्ना थोक वितरण केन्द्र स्थापित गर्नुका साथै १. ६ अर्व लगानीमा बारामा उत्पादन उद्योगहरू समेत बनाई सकेको छ। आज नेपालमा विद्युतको उत्पादन बढ्दै छ। कुलमान जस्ता सक्षम निर्देशक अझै केही वर्ष विद्युत् प्राधिकरणमा रहने हो भने केही वर्षमै हामी विद्युत् उत्पादनमा आत्म-निर्भर मात्र नभई अतिरिक्त उत्पादनलाई छिमेकी मुलुकहरूमा निर्यात गर्ने स्थितिमा पुग्ने छौँ! अब हामीले नेपालमा गाउँ-घरमा सङ्कलित जडीबुटीहरू भण्डारण र प्रशोधन गर्ने उद्योगहरूको स्थापना गर्नु पर्छ। अनि मात्रै पूर्वाधार विध डा. सूर्यराज आचार्यले भनेझैँ हामीले हाम्रा साधन, श्रोत र कच्चा उत्पादन हरूलाई कौडीको भाउमा निर्यात गर्नुको साटो तिनलाई स्वदेशमै प्रशोधित गरी परिष्कृत मूल्यमा निर्यात गर्न सक्छौँ। यसरी देशमा उद्यमशीलता प्रवर्धन भई रोजगारी सृजना हुनेछ।
हालै चिनिया राष्ट्रपतिको नेपाल भ्रमणमा गरिएका २० बुँदे सम्झौताको १० औँ बुँदामा "नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चीनको परम्परागत चिनिया ओखतीको राष्ट्रिय प्रशासनबिच परम्परागत औषधिको समन्वय सम्बन्धी एमओयू" बारेमा सम्झौता भएको छ। अब हामीले नेपालमा गाउँ-घरमा सङ्कलित जडीबुटीहरू भण्डारण र प्रशोधन गर्ने उद्योगहरूको स्थापना गर्नका लागि ढिलो गर्नु हुँदैन।
नेपालमा जडीबुटीहरू प्रशोधन गर्ने उद्योगहरूको स्थापना गर्न के के चुनौतीहरू छन् त?
विदेशमा विज्ञता हासिल गरी नेपालमै आई आयुर्वेदिक र वनस्पति जन्य औषधिमा अन्वेषण गर्दै आउनु भएका वैज्ञानिक र फाइटोम्याक्स केयर प्रालिका निर्देशक राजेन्द्र ज्ञवाली भन्नुहुन्छ , " नेपालमै पाइने जडीबुटीको रासायनिक अनुसन्धान र औषधीय गुण सम्बन्धी खोजीमा विद्यावारिधि गरिसके पछि म र मेरा केही साथीहरू यही क्षेत्रमा केही योगदान गर्ने उद्देश्यका साथ २०६४ मा हामी नेपाल फर्कियौँ। केही समय पछि जडीबुटीमा आधारित औषधि उद्योग खोल्ने निर्णय गरी त्यसको विस्तृत परियोजना विवरण र कागजात हरू सङ्कलन गरी औषधी व्यवस्था विभागमा "फाइटोम्याक्स केयर प्रालि " नामको कम्पनी दर्ता गर्यौँ। स्थलगत गतिविधिका कानुनी पाटाहरू एक पछि अर्को पुरा गर्दै गयौँ।
सरकारले आयुर्वेदिक र परम्परागत औषधि उत्पादनहरूमा पनि आधुनिक रासायनिक औषधी सरह नै एउटै दायरामा नियमन गरिदिनाले जडी बुटीमा आधारित शास्त्रीय औषधि उत्पादनमा असहजता छ। भारत, चीन , जापान र अमेरिका जस्ता देशहरूमा परम्परागत उपचार विधि हरू अतिरिक्त खुराक अन्तर्गत नियमित हुनाले रासायनिक औषधि उत्पादन जस्तो जटिल प्रक्रियाबाट गुज्रिँदैनन्।
अर्को कुरा नेपालमा व्यवसाय गर्नमा असहजता (इज अफ डुइंग बिजनेस नहुनु ) हो। दर्ता प्रक्रिया कागजी जटिलता , सम्बन्धित स्थानीय निकाय र मन्त्रालयबिच समन्वय को अभाव। कुनै पनि व्यवसाय सुरु गर्नु अघि उद्यमीहरूले प्राइभेट कम्पनी गर्दा "प्राइभेट फर्म रजिस्ट्रेशन ऎन २०१४ " अन्तर्गत घरेलु व्यवसाय वा उद्योगमा अधिकृत पुँजी तोकी पुनः दर्ता गराउनु पर्ने हुन्छ, अर्थात् औषधि व्यवस्था विभागको स्वीकृतिले मात्रै हुँदैन। यी सब व्यवधान हरुले उद्यमीलाई निरुत्साहित बनाउँछ।
नेपालले यस्ता नीतिगत जटिलता हरुलाइ एक द्वार प्रणालीमा ल्याउनु पर्छ र उद्योगहरू खोल्नका लागि नवीन उद्यमीहरूलाई प्रवर्धन गर्ने वातावरण बनाउनु पर्ने देखिन्छ।
उद्यमीले कुनै उद्योग मार्फत आफ्नै देशको कच्चा पदार्थ प्रयोग गरी औषधि जन्य या अन्य आम उपभोगका सामग्री उत्पादन गर्दा रोजगारी सिर्जना भई स्थानीयको जीविकोपार्जनमा मद्दत हुन्छ। सरकारले यस्ता नवीन उद्यम , जो आर्थिक विकासका मेरुदण्ड हुन् , यिनलाई चाहिए जति प्रोत्साहन गरेको देखिँदैन। ब्यांक बाट चर्को व्याजमा ऋण लिई परियोजना सुरुवात गर्यो दर्ता प्रक्रियामै महिनौँ लगाई दिन्छन् र सुरुवातमै यसको मार उद्यमीलाई पर्छ।
यस बाहेक केही नीति-नियमनका पनि कमी कमजोरी हरू छन्। उदाहरणका लागि, कतिपय शास्त्रीय औषधिहरूमा प्रयोग हुने धातु-भस्महरूको प्रयोग सम्बन्धी नीतिगत स्पष्टता हुनु पनि जरुरी छ। यस बाहेक उत्पादन पछि पनि छोटो समयमै बिग्रिएर जाने या विशेष भण्डारण चाहिने उत्पादहरुको निर्यात गर्दा कहिलेकाहीँ महिनौँ सम्म भण्डारण गोदाममा र भन्सारमा रोकिइदिने हुन्छ। यस्ता पक्षहरूमा सरकारले छुट्टै विशेष नीति बनाई यिनको द्रुत-गतिको व्यापार तथा पारवहनलाई प्रवर्धन गर्नु पर्ने पनि देखिन्छ।
नेपालका जडीबुटी उद्योगहरूलाई आवश्यक पर्ने केही कच्चा सामग्री, भस्म, त्यसको एक्सट्रयाक्टसन् विधि , प्याकेजीङ्ग सामग्री , स्टिकर आधिमा नेपाल अझै आत्म निर्भर भएको छैन। नेपालका जडीबुटी प्रशोधन उद्योगहरूले सुगन्धित तेल उत्पादन गर्दै आएता पनि एक्स्ट्राकट उत्पादन गर्ने गरेका छैनन्। “
जडीबुटी सङ्कलन, प्रशोधन र शास्त्रीय औषधीको उद्यम एक बहु आयामी क्षेत्र हो। यसमा ठुलो पुँजी, दक्ष जनशक्ति र सरकारी तथा निजी क्षेत्रको सहकार्यको आवश्यकता पर्दछ। अमेरिकावासी रसायन शास्त्रका वैज्ञानिक डा. खगेन्द्र हमाल कर्णालीलाई “जडीबुटी सङ्कलन, प्रशोधन तथा अनुसन्धान केन्द्र” स्थापना गर्न कर्णाली केन्द्रित भएर काम गर्न इच्छुक अनुसन्धानकर्ता, वैज्ञानिक, विज्ञ, युवाहरू र लगानीकर्ताहरू हातेमालो गर्दै जानुपर्ने भन्ने धारणा राख्नुहुन्छ। कर्णाली मात्रै नभई आज सुदूरपश्चिम, नेपालभरी नै र विदेशमा छरिएर बसेका नेपाली जडीबुटी र शास्त्रीय औषधी सङ्कलन, प्रशोधन तथा अनुसन्धान क्षेत्रमा कार्यरत नेपाली नेपाली मूलका शोधकर्ता, उद्यमी र प्राविधिकहरु बिच हातेमालो भए सामूहिक रूपमा यो क्षेत्रमा ठोस कार्य गर्न सकिने सम्भावना देखिन्छ।
के हामी विदेशमा बसेका विज्ञहरू स्वदेशमा भएका युवाहरू मिलेर यस्तो सञ्जाल बनाउन सकौंला जहाँ सबैलाई फाइदा होस्, स्थानीय अर्थतन्त्र सुदृढ होस् र हाम्रो जडीबूटीजन्य उत्पादनको परिष्कृत मूल्यमा निर्यात समेत हुन सकोस्? आउनुहोस् मिलेर सामूहिक प्रयास गरौँ!