नेपालको गाउँ घरका बस्तिहरु आफैमा अद्वितीय छन् । प्राय: गाउँहरुका दुवै तिर साना खोल्साहरू हुन्छन। ति गाउँहरुको बिचमा बग्ने खोल्साहरू पानीको राम्रो श्रोत भएकोले त्यहाँ कुवा वा पधेरो हुने गर्दछ । गाउँका केहि घरहरु मिलेर आफ्नो लागि पानी-पधेरोको व्यवस्था आफै गर्दछन ।
मैले राम्रैसंग बुझ्ने हुदासम्म मेरो गाउँका कैयौं दर्जन घरहरु मध्ये गाउँकै भाषामा भन्नु पर्दा नजिकै घर भएका र एउटै पानी-पधेरो गर्ने हामी लगभग बिस घर थियौं । अहिले त्यो क्रम घट्दै गएर ५-७ वटा घरमा मात्र सिमित छ । यी मध्ये पनि केहि घरहरु अब फाँट तिर झर्ने तरखर मै भए जस्तो देखिन्छ । अब हामीले केहि सकारात्मक पहल नगर्ने हो भने कैयौं सम्भावनाको बाबजुद पनि गाउँलाइ पुरै रित्याएर शहर वा फाँट तिर झरेर आफ्नो गाउँ पुरै छोड्ने क्रम झन् बढ्ने देखिन्छ ।
हाम्रा हजुरबुवाको पुस्तामा गाउँ पुरै जंगलले भरि भराउ थियो भन्ने सुन्छौं । त्यतिखेरको जंगलले भरिएका गाउँहरु अलिकति डर लाग्दो पनि हुने नै भए । हजुरबुवाले सुनाएको घटना अनुसार हाम्रो हजुरआमा घरकै आगनको छेउमा भाँडा माझ्दै गर्दा एकाएक गायब हुनु भयो र कहिल्यै फर्किनु भएन । कैयौं महिना पछि एउटा हड्डी भेटेकोले त्यसलाई नै अवशेष मानेर सतिगति गर्नुभएको रहेछ । यो त एक प्रतिनिधि उदाहरण मात्र हो । यस्ता अन्य कैयौं पिडादायक उदाहरण त गाउँमा हुने नै भए, तर विपन्नता र अशिक्षालाई जितेर गाउँहरु पहिले भन्दा केहि हदसम्म आधुनिक र सम्पन्न भैसेकाका छन् । मैले बुझ्ने हुँदा सम्ममा गाउँमा घरहरु बिस्तारै भरिदै गए । पधेरामा टन्न मानिसहरु हुन्थे, स्कुल जाँदा चिच्याएर बोलाउने र संगै जाने चलन थियो । पुजा-आजा वा अन्य धार्मिक, संस्कृतिक पर्बहरुमा गाउँको चहलपहल नै लोभलाग्दो हुन्थ्यो । घरको अगाडी-पछाडी फराकिलो ठाउँमा फुटबल, भलिबल खेलिन्थ्यो भने बर्षे बिदामा गाइ बाख्रा हेर्न जादा हामी दर्जनौं साथीहरुले चौरमा बसेर शिक्षकले दिएको होमेवोर्क गर्ने रमाइलो दृश्य हुन्थ्यो, यी सबै कुराहरु अब बिगत मात्र भए ।
२०४६ सालको प्रजातन्त्रको पुनर्बहाली पछि देशमा विस्तारै आर्थिक गतिबिधि चलायमान बन्यो, प्राइभेट स्कुलहरु खोलिए । सुरुवाती बर्षहरुमा खाडी मुलुक जाने प्रचलन ह्वात्तै बढ्यो, जस अनुसार गाउँ घरमा बेरोजगार बनेका युवाहरुले केहि आम्दानी त गरे तर त्यो भन्दा बढी परनिर्भरता बढ्यो । आफ्नै करेसाबारीमा उब्जाउन सकिने तरकारीहरु पनि उब्जाउन छोडियो । अझ बढी त छोराछोरीलाइ राम्रो स्कुलहरुमा पढाउने बाध्यता वा बहानामा गाउँ घरको घर जग्गा सबै छोडेर शहर-बजार तिर गएर भाडामा बस्ने प्रचलन बढ्दै गयो । अहिले गाउँ फेरि लगभग त्यसरी नै फेरि जंगलमै परिणत हुने क्रम बढ्दै गएको देखिन्छ । यस्तो हुन नदिन तथा गाउँलाई फेरि पहिले जस्तै भरिभराउ तर अझै बिकसित र सुबिधा सम्पन्न बनाउने जिम्मेवारी पनि हाम्रै हातमा छ ।
केहि महिना पहिले नेपाल फर्कौं महाअभियान सुरु गरेपछि हामीले आफ्नै देश वा अझ बढी आफ्नै गाउँ ठाउँमा गर्न सक्ने कैयौं सम्भावनालाइ पहिल्याउने कोशिश गरिरहेका छौं । विदेश बस्दा वा आफ्नै देशमा पनि शहरमा बस्दा हामीले प्राप्त गरेका योग्यता, सिप, अनुभव आदिलाई सदुपयोग गरेर आफ्नै गाउँ-ठाउँमा उपयोग गर्न सक्ने उपायहरु पहिल्याउन खोजिरहेका छौं । यसको लागि सुरुवाती चरण भनेको हामीलाई दैनिक रुपमा आवश्यक पर्ने केहि आधारभूत कुराहरुको ब्यबस्थापन हो । ती मध्ये बिजुली, पानी, बाटोघाटो तथा अहिलेको डिजिटल संसारसंग जोडिन सक्ने इन्टरनेट उपलब्ध हुनु हाम्रो पहिलो आबश्यकता हो, जसलाई पूर्ति गर्न खासै गार्हो हुनेछैन । हाम्रा लागि अर्का दुइवटा महत्वपुर्ण तर चुनौतीपूर्ण आवश्यकताहरु छन् । पहिलो, हाम्रा सन्ततिले बिदेशमा जस्तै तथा देशका प्रमुख शहरमा जस्तै जति सक्दो राम्रो शिक्षा पाउने नैसर्गिक अधिकारको प्रत्याभूति दिलाउन सक्नु हो र दोश्रो, हामीलाई रोग लाग्दा, बिरामी पर्दाको लागि सैयौं किलोमिटर टाढा नगई घर नजिकै राम्रो र सर्ब-सुलभ उपचार हुने अस्पतालहरुको व्यवस्था गर्न सक्नु हो ।
यिनै कुराहरुलाई मध्यनजर गर्दै अहिले हामीहरु आ-आफ्नै गाउँमा गएर गाउँको पुरानो संस्कार, संस्कृतिलाई जगेर्ना गर्दै आफ्नै ठाउँमा बस्ने र गाउँको सुन्दरता र त्यहाँको पुरानो जीवनलाई फिर्ता ल्याउने तयारी थालेका छौं ।
त्यसको पहिलो कदम हाम्रा लागि आफु आफ्नै गाउँमा फर्केर के गर्ने भन्ने एकल तथा सामुहिक योजना हो र त्यो सम्भावना पहिल्याई सकेपछि आफ्नै गाउँमा बस्नको लागि तयारी थाल्नु हो । उक्त तयारी भनेको आफ्नो बसोबासको बन्दोबस्त गाउँमै गर्नु हो ।
नेपाल फर्कौं महाअभियान सुरु गर्दा हामीले सोचे भन्दा कैयौं ठुलो संख्यामा हामीसंग साथीहरु जोडिन पुगे । सयौंको संख्यामा जोडिन पुगेका नेपाल फर्किन प्रतिबद्ध साथीहरु बीच फर्केपछि के गर्ने, के तयारी गरेर फर्किने तथा आफ्नो सिप, अनुभव र योग्यतालाई कसरि गाउँमै सदुपयोग गर्ने भन्ने चुनौती चिर्नको लागि छलफल सुरु गर्यौं । यसै सिलसिलामा नेपालका विभिन्न ठाउँका कैयौं साथीहरुले आफ्नै गाउँमै बसोबास गरिरहेका, गाउँ छोडेर शहर/बजारमा बसाई सरेका र विदेश बस्नेहरु बीच छलफल सुरु गरिरहेका छौं । यिनै छलफल पश्चात हामीले अब ठोस कदमहरु चालेर अघि बढ्नुका साथै त्यसको लागि हाम्रा आबश्यकताहरु के हुन सक्छन भनेर औल्याइरहेका छौं ।
यस्तै छलफलको एउटा उदाहरणका रुपमा वालिंग नगरपालिका स्थित मिर्दी नजिकैको पंगेनी-अर्याल र तिवारीहरुको गाउँको सिरानमा रहेका २० घरहरु बीच हामिले आफ्नो गाउँलाई कसरि नमुना बनाउन सकिन्छ भन्ने बारे सामाजिक संजालको सदुपयोग गरेर छलफल गर्यौं । माथि भने जस्तै हाम्रो पहिलो चुनौती भनेको हामीले बर्षौं देखि देशका अन्य शहर, बजार वा विदेशको बसाइलाई बिट मार्न तयार भएर आफ्नै गाउँमा बसोबास गर्ने तयारी थाल्नु थियो । त्यसपछिका चुनौतीहरुमा गाउँमा सामाजिक उद्दमशिलता स्वस्थ, शिक्षा र रोजगारीका कुरा आउने नै भए ।
दुबईमा कार्यरत राजेन्द्र अर्याल आफु विदेश भएको बेलामा पारिवारिक समस्या र छोराछोरीहरुलाई प्राइभेट स्कुलमा पढाउने इच्छाले फाँट तिर झरे र घर बनाए । कुराकानीको क्रममा उनले दुबईको बसाईपछि मात्र बाटोको छेउमा घर बनाउनु ठिक नभएको र आफुले आफ्नै पुरानो घरको बसाइ एकदम अर्गानिक रहने गरेको अनुभूति सुनाए । केहि हप्ता पहिलाको छलफलमा उनले अबको २-३ तीन बर्षमा पुरानो घर भएको ठाउँमै एउटा घर बनाएर बसोबास शुरु गर्न प्रतिबद्ध रहेको कुरा बताए ।
३५ बर्ष पहिला कामको शिलशिलामा मुम्बई पुग्नुभएका खडानन्द अर्याल दाइ सपरिवारका साथ उतै बसोबास गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ; हामीहरुले सल्लाह गरेर आफ्नो गाउँमै बसोबास गर्ने सामुहिक निर्णय लिने हो सबै भन्दा पहिले गाउँ फर्किने म नै हुनेछु । राजेन्द्र र खडानन्द दाइ लगायतको प्रतिबद्धताबाट उत्साहित भएका राज पंगेनीले २५ वर्ष पहिला आगलागी भएर घर तहस नहस भएपछि गाउँघर छोड्नु परेको बताउदै अबको दुइ बर्ष भित्रै मुम्बई अबस्थित आफ्नो घर बेचेर फेरि पुरानै ठाउँमा घर बनाउन तयारी थालेको बताए ।
वालिंग टेलिभिजनका संस्थापक तथा क्यानका स्यांग्जा जिल्लाका सभापति मणि अर्यालले त गाउँमै आधुनिक र पक्कि घर बनाए । तर सबै जना बिस्तारै गाउँ छोड्न थालेपछि चिन्तित बनेका उनले आफ्नै गाउँमै कैयौं सम्भावना रहेको र गाउँलाई थप बिकसित गर्न सधैं तयार रहेको बताउदै गाउँलाई आवश्यक पर्ने उच्च गतिको इन्टरनेट उपलब्ध गराउने जिम्मा लिने बताए । आफ्नै ठाउँमा मनग्गे आम्दानी गरिरहेका र सबै छलफललाई नजिकबाट नियालिरहेका मनहरी पंगेनीले सधैं झैँ उनको ठट्यौली पारामा भने; मलाई थाहा नै थियो, तपाईंहरु घुम्दै फिर्दै अन्तिममा आफ्नै गाउँमा फर्किनु हुनेछ, त्यसैले मैले गाउँ नछोडेको हुँ, ल आउनुस संगै बसौं । नन्दु अर्याल, अरुण अर्याल तथा दुबईबाट सागर पंगेनी, सउदी अरबबाट बिष्णु अर्याल, पोर्तुगलबाट रामु अर्याल लगाएतले यो हाम्रो सुरुवातको चरण मात्र रहेकोले बसोबास पछिको हाम्रा अन्य चुनौतीहरुलाई सामुहिक रुपमा कसरि अगाडी बढ्ने भन्ने तयारी थाल्नु पर्ने बताउछन ।
गाउँ छोडेर हिडेका हामी जस्तै कैयौंले छुट्टीमा घरमा फर्किंदा गाउँमै फर्किने बताउने र कहिल्यै नफर्किने नियति भोगेको हाम्रो गाउँमा हामी फर्किने छौं भन्ने आत्मविश्वास दिलाउने पहिलो कदम हाम्रो सामुहिक बसोबासको थालनी थियो, जसको तयारीको अन्तिम चरणमा हामी पुगिसकेका छौं । हामीले समानान्तर रुपमा हाम्रो बाँकि रहेको जमिनको सहि सदुपयोग, सामाजिक उद्दम्शिलाताको विकासका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नै क्षेत्रलाई नै सुबिधा सम्पन्न बनाउने छलफलमा छौं ।
देशका अन्य धेरै ठाउँमा पनि यसरि नै आफ्नो गाउँ-ठाउँलाई कसरि नमुना बनाउने भन्ने छलफलहरु चलिरहेका छन् । अमेरिकामा बस्दै आएका डा हेमराज ढकालले स्थायी रुपमै गाउँ फर्किने तयारी गर्न लागेको बताउछन । उनले गाउँमै बसोबास गर्ने अरु साथीहरुलाइ गाउँमै गर्न सकिने सामुहिक उद्दमशिलताका बारेमा सल्लाह दिइरहेका छन् । त्यसैगरि अमेरिकाको आमहर्स्ट विश्वबिद्धालयमा बिद्धावारिधि गर्दै गरेका बिष्णु जोशीले सुदुरपश्चिम क्षेत्रसंग सम्बन्धित कैयौं साथीहरुलाई जोडेर त्यहाँ औषधि बिज्ञान सम्बन्धि कामहरु थालनी गर्ने गृहकार्यमा जुटेका छन् । गत बर्ष नेपाल फर्केकी बिनिषा श्रेष्ठले फ्रेन्च नागरिक र अन्य नेपालीहरुको सामुहिक लगानीमा होलिस्टिक कम्युनिटी सेन्टर र अर्गानिक रेस्टुराँको थालनीमा जुटेकी छन् जसलाई उनी देशभर फैलाउने सोचमा छिन । इजरायलको लामो बसाइपछि गत वर्ष नेपाल फर्केका नबराज आचार्यले नेपालकै पहिलो पार्क-लाइब्रेरी निर्माण गरे, उनि हेल्प नेपाल नेटवर्कसंग आबद्ध रहेर समाज सेवामा ब्यस्त छन् । जापानबाट डा श्याम डुम्रे, क्यानडाबाट डा ओम कर्मी, नर्वेबाट डा प्रभात खनाल र अमेरिकाबाट डा तारा सिग्देल लगायत कैयौं दर्जन हामीहरुले पोखराको वरिपरि विश्व स्तरिय अनुसन्धान केन्द्र खोल्ने छलफलमा ब्यस्त छौं । फ्रान्सबाट योगा तथा जीवन कला सम्बन्धि बिद्दावारिधि गरेका नरेन्द्र चन्द बर्षौंको फ्रान्सको बसाइलाई बिट मार्ने प्रक्रियामा छन्, उनले सुदुर पश्चिममा आफ्नो विधामा गर्न सकिने सम्भावनाको खोजि गर्नको लागि लामो समयको लागि नेपाल फर्केर तयारी गरिरहेका छन् । जर्मनीको लामो बसाइपछि नेपाल फर्किएकी कर्मा लामा तामांग अहिले आइटी क्षेत्रमा काठमाडौँ मै उद्द्म सुरु गरेकी छन् । हाल अमेरिकामा कार्यरत डा संजिवन गौतमले गत बर्ष नेपालकै लागि अनुसन्धान गर्न कडा प्रतिस्पर्धाका साथमा अन्तर्राष्ट्रिय अनुदान प्राप्त गर्न सफल भए । अब हामिले काठमाडौँ केन्द्रित होइन, गाउँ केन्द्रित विश्व स्तरिय अनुसन्धान, अध्यापन केन्द्रहरु बनाउनु पर्ने र यसको सुरुवात हामिले काठमाडौँ बाहिर आफ्नै क्षेत्रबाट गरेर अनुभव, सिप र अत्याधुनिक प्रविधिलाई गाउँमै लैजानुपर्ने डा गौतम बताउछन । हाल अमेरिकामा कार्यरत हेल्थ ईन्फरमेसन टेक्नोलोजीका बिज्ञ तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा सन्तोष सापकोटाले आफुले गाउँमा अरु दाजु भाईहरु संग मिलेर एग्रो फर्म तथा अनुसन्धान केन्द्र सुरु गर्न थालेको र आफ्नै गाउँमै स्वास्थ्यमा अझै प्रभावकारी काम गर्ने र सेवा दिने बताएका छन् । यी केहि प्रतिनिधि उदाहरणहरु हुन्, हामीले समय अनुसार अझ बिस्तारमा जानकारी दिदै जानेछौं ।
नेपाल फर्कौं महाअभियान गैर-राजनीतिक र हामी सबैको साझा अभियान हो । यो अभियानको सुरुवाती चरणमा हामीहरुले नेपाल फर्किन चाहनेहरुको बलियो संजाल बनाएर सामुहिक रुपमा सम्भावनाहरुको खोजि गरिरहेका छौं । यसका लागि हामीले नेपाल फर्किसकेका साथीहरुहरु संग जोडिएर उहाँहरुको अनुभवबाट सिक्दै हामीलाई आउने सम्भावित चुनौतिहरुको लागि तयारी गरिरहेका छौं। हाम्रो उदेश्य हामीले बाध्यताले वा नजानेर खेर फालेका हाम्रा स्थानीय श्रोत साधनहरुलाई सदुपयोग गर्ने र हाम्रा गाउँ ठाउँमै सम्भावनाको खोजि गर्ने हो । हामीलाई विश्वास छ, हामीले हाम्रा गाउँ घरहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीसंग जोड्ने नै छौं ।