विदेशबाट हेर्दा नेपालका हरेक कुरा मनमोहक लाग्छ। कर्णाली त स्वर्ग नै। प्रकृतिको अपार माया पाएको कर्णालीले सरकारको माया भने कहिल्यै पाएन। अवसरहरूको खानी हुँदा हुँदै पनि सदा उपेक्षित रह्यो प्यारो कर्णाली। समस्या समाधान त कता -कता, झन् विकराल हुने चिन्ता छ कर्णालीमा।
भर्खरका तन्नेरी युवाहरूलाई भारत (अधिकांश), कोरिया, कतार, मलेसिया, दुबई पठाएर; अलिकति पढे लेखेकालाई जापान, युरोप अस्ट्रेलिया र अमेरिका पठाएर अनि १/२ दर्जन नेताहरूलाई काठमाडौँ पठाएर मात्र अभावै-अभाब मा जेलिरहेको कर्णाली अर्को पचासौँ वर्ष सम्म पनि निरीह नै रहिरहने देखिन्छ। सिङ्गो देशका मुख्य समस्याहरू अशिक्षा, गरिबी, बेरोजगारी, पछौटेपन र अदूरदर्शी नेतृत्व नै कर्णालीका पनि साझा समस्याहरू हुन्।
आर्थिक समृद्धि ले मात्रै कुनै पनि मुलुकको मुहार फेर्न सक्छ भन्ने कुरो घाम जत्तिकै छर्लङ्ग छ। हामी सम्पन्न हुँदा मात्र संसारको जुनसुकै कुनामा गए पनि/रहे पनि सन्तोषको श्वास फेर्न सक्छौँ र गर्व साथ भन्न सक्छौँ कि हामी सगरमाथाको देशका मान्छे हौँ अनि गौतम बुद्धको धर्तीका प्राणी हौँ। रोगी आमा-बुवालाई पुरानो घर कुर्न छोडेर अर्कैले बनाइदिएको अर्कैको देशमा जति भौतिक सुविधा भए पनि त्यसको के अर्थ छ र?
कर्णालीको कुरा पर्दा पर्यटन, कृषि र जडीबुटी नै हाम्रो लागि समृद्धिका आधारहरू हुन्। विज्ञान र त्यसमा पनि रसायन शास्त्रको अनुसन्धानकर्ता हुनुको नाताले जडीबुटी सम्बन्धी केही कुरा गर्नु शोभनीय होला । कर्णाली भेगमा पाइने प्रशस्त जडीबुटी सम्बन्धी ज्ञान , दक्ष जनशक्ति , यातायात र लगानीको अभावमा अहिले सम्म हामीहरू ‘कुइरोको काग’ झैँ रुमलिरहेका थियौँ। तर आज हामीसँग संसारका विकसित देशहरूको प्रविधि बुझेको/सिकेको दक्ष-जनशक्ति छ,आफ्नै ठाउँमा केही गरौँ भन्ने जोस बोकेको युवा शक्ति छ, लगानी गर्न सक्ने व्यक्तिहरूको प्राप्तयता पनि छँदै छ। आउँदा दिनहरूमा त्यो अझै बढेर नै जानेछ। साथै कर्णालीका धेरै जसो ठाउँहरू यातायातको सञ्जाल सँग जोडिई सकेका/रहेका छन्। जडीबुटीको सम्बन्धमा प्राप्त तथ्याङ्कहरू केलाएर हेर्दा कर्णालीमा सङ्कलित जडीबुटीहरू कौडीको भाउमा भारत र चीन तर्फ निर्यात हुनेगरेको पाइन्छ । अपवादको रूपमा न्यून स्तरमा प्रशोधन पनि हुने गरेको छ ।
आउँदो ५ वर्ष भित्र कर्णालीमा हामीले गर्न सक्ने भनेको जडीबुटीको सङ्कलन गर्ने, एक तह सम्मको प्रशोधन गर्ने, स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्ने र सके जति अनुसन्धान गर्ने नै हो । जडीबुटीबाट निकालिने ‘सुगन्धित तेल’ बिक्री र खपत हुने विश्वका विकसित मुलुकहरू जापान ,अमेरिका तथा युरोप तिरका विभिन्न विश्वविद्यालय र कम्पनी हरूमा नेपाली वैज्ञानिक हरू प्रशस्त मात्रामा भेटिन्छन्, तिनीहरूको सहयोग लिन सकिन्छ। प्रशोधन गर्ने प्रविधिको जानकारीको लागि नेपालमै रहेका विभिन्न प्रयोगशालाहरू र त्यसमा कार्यरत दक्ष-वैज्ञानिक हरू सँग परामर्श गर्न सकिन्छ।उदाहरण को लागि ‘जैविक सुन’ भनेर चिनिने यार्सागुम्बा मुख्य नेपाल, भारत , भुटान र चीनमा मात्र पाइन्छ। नेपालमा सङ्कलन हुने सबै जसो यार्सागुम्बा व्यापारीहरूले लेकमा नै गएर एकदमै कम मूल्यमा किन्ने र चीनतिर बिक्री गर्ने गर्छन् । यार्सागुम्बाको शुद्दिकरण र प्रयोग सम्बन्धी हामीहरूमा न्यूनतम ज्ञान समेत छैन। यस्ता थुप्रै जडीबुटीहरू हामी नचिनेर गाई-भैँसी हरूलाई घाँसको रूपमा समेत प्रयोग गरिरहेका छौँ ।
हामीले देश बनाउने ठुलो सपना देख्न त सक्छौँ तर त्यसको सुरुवात भने आफै बाट गर्नु पर्छ। आफूमा भएको दक्षता अनुभव, क्षमता र लगानी सबै चिनेर सानै ठाउँ बाट सुरु गरियो भने त्यो सार्थक हुन जान्छ। कर्णालीको हकमा कालिकोट र दैलेख मा “जडीबुटी सङ्कलन केन्द्र” अनि सुर्खेतमा “प्रशोधन तथा अनुसन्धान केन्द्र” स्थापना गर्न सकिन्छ । सरकारी स्तरबाट केही कामको सुरुवात हुन खोजेको जस्तो त देखिन्छ तर विज्ञ व्यक्ति र वैज्ञानिकको संलग्नता बिना त्यो प्रयास कागजमा मात्र सीमित रहेको अवस्था छ।
कर्णालीमा केन्द्रित भएर काम गर्न इच्छुक अनुसन्धानकर्ता, वैज्ञानिक, विज्ञ, युवाहरू र लगानीकर्ताहरू हातेमालो गर्दै सानै परिमाण मा भए पनि यो कामको सुरुवात गर्नु वाञ्छनीय देखिन्छ। त्यसो गर्न सकियो भने नेपाली भाषाको उत्पत्ति भएको कर्णाली क्षेत्रलाई ‘जडीबुटीको केन्द्र’ बनाउन सकिन्छ । रफ्तारमा सुसाउँदै बगिरहेको कर्णालीले यस्तै मानिसहरू खोजिरहेको आभास हुन्छ ।
(लेखक अमेरिका स्थित युनिभर्सिटी अफ साउथ डकोटामा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन् )