"डा । एलिजाबेथ वाग्नरले यो शनिवार वूस्टरमा हुने अमेरिकन केमिकल सोसाइटीले आयोजना गरेको स्थानीय उद्यमीहरू सँगको भेटघाटमा गाँजाको बारेमा बोल्दै छिन् रे, जाने हैन विष्णु?", मेरो साथी ब्लेजले सोध्यो। तँ जान्छस् भने म साथी गई दिउँला!
ब्लेज र म ड्राइभ गरी वूस्टर तर्फ जाँदै गर्दा बाटोमा एकान्त स्थानहरू भएर जाँदै गर्दा काहीँ-काहीँ गाँजाको धुवाँको बास्ना आइरहेको थियो। " विष्णु तँ गाँजा खान्छस्? ", ब्लेजले सोध्यो। नाइँ!, कहीले क्यासिनो गएको छस् ? नाइँ! सो स्याड! तँ सार्र्है सोझो भएर आफ्नो जवानी बर्बाद गर्ने भइस्!
एक घण्टाको ड्राइभ पछि कार्यक्रम स्थल पुगियो।
डा वागनर इंडियाना युनिभर्सिटी बाट विद्यावारिधि सकेर हाल मासाचुसेट्स राज्यको साझेदारीमा खाद्य वस्तुको गुणस्तर मापन गर्ने एउटा प्रयोगशाला का साथै सानो स्टार्ट अप कम्पनी कि प्रमुख कार्यकारी निर्देशक पनि रहिछन्!
गाँजा जन्य पदार्थ हरूमा नशा लाग्ने सक्रिय तत्त्व टेट्रा हाइड्रो क्यानाबीनोल (THC) मापन गर्ने प्रयोगशाला को औचित्य स्पष्ट पार्दै उनले भनिन् , " कति मात्रको गाँजाले मनोरञ्जन दिन्छ र कति भए लागू औषध बन्छ भन्ने बारेमा अनुसन्धान गरी सङ्घीय सरकार लाई निष्कर्ष पेस गरी कानुन बनाउन मद्दत गर्ने र भविष्यमा यसको अनुगमन गर्ने थलोको रूपमा पनि हाम्रो कम्पनीलाई विकसित गर्दै लाने योजना छ ।"
दिनमा मैले कति सम्म गाँजा खाँदा हुन्छ? भन्ने एउटा श्रोताको प्रश्नमा डा वगनरले, “ओरल एडमिनिस्ट्रेशन द्वारा टी हेच सी ३ देखी २० मिली ग्राम को मात्रा औषधी य हुन्छ । क्यानबिनइड्स पानी भन्दा तेलमा बढी मिश्रित हुने (लिपोफिलिक) हुनाले बोसो युक्त स्नायुतंतिमा सेवन गरेको १ महिना सम्म जम्मा भई बस्न सक्ने हुनाले यसको नियमित सेवनका दूरगामी अप्रत्यक्ष असर (साइड इफेक्ट्स) हुन सक्छन्। “
मुस्कुराउँदै उनले थपिन्, " गाँजालाई खाजा सम्म बनाए हुन्,छ तर खाना न बनाउनु !"
औपचारिक कार्यक्रम सकिए पछि मैले डा वागनर सँग आफ्ना जिज्ञासा राख्न समय माँगें।
"म तपाईँको ल्याब र कम्पनीको बारेमा सुनेर साह्रै प्रभावित भएँ। म यु-मास केमेस्ट्रीको पिएचडी क्यान्डिडेट हूँ। म मेरो देश नेपालमा यस्तै खाद्यान्न र औषिधीय जड़ीबूटीको गुणस्तर परीक्षण गर्ने, सक्रिय तत्त्व प्रशोधन र बृहत् उत्पादन गर्ने प्रयोगशाला कम्पनी स्थापित गर्न चाहन्छु। त्यसका लागि मैले कस्तो गृहकार्य गर्नु पर्ला? मैले यसका लागि एउटा प्रस्ताव लेखेँ भनेँ कहाँ बुझाउनु पर्ला? कुन-कुन संस्था र एजेन्सीहरू यसमा लगानी गर्न उत्सुक होलान्? " मैले एकै श्वासमा सोधेँ।
डा वागनरले भनिन्, "नेपाल जस्ता विकासोन्मुख देशहरूमा यस्ता प्रयोगशाला र कम्पनी हरूको निकै खाँचो छ, जमिन र जनश्रम जुटाउन पनि सजिलो छ तर केही चुनौतीहरू पनि छन्। पहिलो कुरा: भौतिक संरचनाहरू पर्याप्त नहुनु हो, दोस्रो दक्ष जनशक्ति को अभाव। तिमी दृढ-संकल्पित र सम्बन्धित क्षेत्रका विज्ञहरू सँग सम्पर्कमा छौ भने त्यस्तो कम्पनी बनाउन चाहिने संरचना र प्राविधिक जनशक्ति पनि जुटाउन सकौला तर तेस्रो र सबभन्दा महत्त्वपूर्ण कुरो तिम्रो स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको सहयोग हो। तिम्रो सरकारहरूको सहयोग र संरक्षण बिना यस्ता योजनाहरू दिगो हुन कठिन हुन्छ।"
डा वागनरले मेरो सरकार र स्थानीय प्रशासनको सहयोग र संरक्षण चाहिन्छ भनेको सुन्दा म आफ्नो देशको वर्तमान नेतृत्व र सरकारहरू सम्झी निराश भएँ। आफ्नो देशमा भित्रिने तरकारी र फलफुलमा छरिएको विषादी परीक्षण गर्ने पूर्वाधार पनि छैन। मन्त्रीहरूलाई मतलबै छैन! प्रधानमन्त्री लाई त झन् अत्तो-पत्तो छैन! प्रधानमन्त्री रोजगार योजनाको बजेट असारमा घाँस उखेल्नुको सँगै-सँगै आवश्यक परीक्षण यन्त्रहरू - क्रोमैटोग्राफ, मास स्पेक्ट्रोमीटर र एनएमआर (GC/LC-MS, NMR, Mass Spectrometer) किनी दिएको भए म जस्ता कैयौँ रसायनशास्त्री ले स्वदेशमै रोजगार पाई आफ्नो मातृभूमिको सेवा गर्ने अवसर पाउनुका साथै जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सेवामूलक कार्य गर्न पाउने थिए।
हाम्रै छिमेकमा चीन सरकारले १९९० र २००० का दशकमा " ब्रेन सर्कुलेशन " कार्यक्रम अन्तर्गत प्रवासी चाइनिज मूलका विज्ञहरूलाई चीनको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने प्याकेजहरू ल्यायो।१ हालै भारतको विज्ञान और प्रौद्योगिकी विभाग (DST) ले विदेशका प्रतिष्ठित प्रयोगशाला बाट भारत फर्की त्यस्तै अनुसन्धान अघि बढाए महिना को $१०,००० सम्मको सहयोग गर्ने घोषणा गरेको छ।
छिमेकमा यो सब भई सक्दा पनि नेपाल सरकारको तर्फबाट उखान र टुक्का बाहेक अरू केही सुन्निएन! निकट भविष्यमा यस्तो पूर्वाधार निर्माण गरी देश-विदेशका दक्ष जनशक्ति भित्र्याउन ठोस योजना देखिँदैन। ब्रेन गेन भनेर परराष्ट्र मन्त्रालयको एउटा विज्ञप्ति निस्कियो तर तेसपछी प्राविधिक कौशल भएका प्रवासी नेपालीलाई स्वदेश फर्किन केही ठोस कार्यनीति देखिएन। विज्ञप्ति निकाले पछि अब के गर्ने भन्ने परराष्ट्र मन्त्रीलाई थाहा छ जस्तो लाग्दैन। प्रधानमन्त्रीलाई त झन् त्यो विज्ञप्ति निस्केको बारेमै थाहा छैन होला! हैन हाम्रा नेताहरू विदेश आफू र आफ्ना परिवारको उपचार गर्न मात्रै जान्छन् कि क्या हो?
आज नेपालको लाखौँको सङ्ख्यामा दक्ष जनशक्ति विदेशमा छ। हुन पनि किन नहोस् त नेपालमा अनुसन्धान गर्ने न प्रयोगशाला छन् न त्यस्ता अनुसन्धानका निष्कर्ष लाई प्रविधि बनाई प्रयोगमा ल्याउन का लागि कम्पनी नै छन्। त्यसैले अहिले पहाडका मान्छे तराई झर्न चाहन्छन् , तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्। यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ।
अब हरेक प्रदेशमा कम्तीमा एउटा वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्धन केन्द्र खोल्न सङ्घीय र प्रादेशिक सरकारहरूले गुरुयोजना बनाउनु पर्छ। त्यसपछि त्यस्ता स्थानीय वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्धन केन्द्रहरू सञ्चालन गर्न आवश्यक पर्ने नेपाली मूलका दक्ष जनशक्ति लाई क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धा बाट चयन गर्नु पर्छ। यसो भए मात्रै सन्तुलित र विकेन्द्रित विकास सम्भव छ। युरोपमा भएका केही अनुसन्धान हरूले वैज्ञानिकहरू आ-आफ्नै जन्मभूमिमा गई प्रयोगहरू गरे झनै मौलिक, व्यवहारिक र समाजसेवा मुखी विज्ञान तथा प्राविधिक विकास हुने तथ्य उजागर गरेका छन्।३
हामीले पनि स्थानीय क्षेत्रको आम जन-जीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ। उदाहरणको लागि जुम्लामा त्यहीको स्याउ खेती , भण्डारण र जुस प्रशोधन सम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनुपर्यो भने इलाममा चिया सम्बन्धी या खप्तड मा जडीबुटी सम्बन्धी। यसो गरे देखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केंद्रहरु सँग सहकार्यका बाटा खुल्छन्। पर्यटन को प्रवर्धन हुन्छ। मुस्ताङमा वायु-ऊर्जाको सम्भावना तथा हिमाल पारी बाट बादलले नछेक्ने हुँदा ठुला दूर-दर्शक यन्त्रहरू जडान भई खगोल र अन्तरिक्षको अध्ययन गर्ने केन्द्रहरू स्थापित हुन सक्छन्। बिस्तारै यस्ता विज्ञान अनुसन्धान केन्द्र वरिपरि नवीन साना उद्योग खुल्छन् र स्थानीय विकास र अर्थतन्त्र दिगो र नवीकरणीय हुँदै जान्छ।
खै कहाँ छ त त्यस्तो गुरुयोजना? कुनै एक वैज्ञानिक सँग यस्ता योजना भए पनि नेपालमा कसलाई भन्ने ?
नेपालमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्न नास्ट (NAST) मा प्रस्ताव राखौँ भने चलचित्र बिजुली मसिनको कथा याद आयो। नेपालकै अरू शैक्षिक संस्थाहरू सँग हातेमालो गरी अनुसन्धान गर्ने प्रयास गरौँ भने त्रिभुवन विवविद्यालयमा हालै भएका राजनैतिक नियुक्ति हरूले झस्काउँछन्। हैन नेपालमा सधैँ भरी घुम्ने मेचमाथि अन्धा मान्छे मात्रै बसी रहने?
देशको विज्ञान र प्रविधिको भविष्यबारे सोच्दा-सोच्दै म धेरै बेर घोरिए छू। कार्यक्रम समापन भई धेरै सहभगिहरु निस्की सकेछन्। ब्लेज़को आइतबार आफ्नी गर्लफ्रेंड सँग बोस्टनको प्रसिद्ध एनकोर क्यासिनो जाने योजना रहेछ र उ (पूर्व) बोस्टन तर्फ जाने भयो। मैले वेस्टर्न मासाचुसेट्सको एमहर्स्ट (मेरो कलेज र वर्तमान निवास) हुँदै जाने मेरी ब्याच मेट कैथरीन सँग फर्किने निर्णय गरेँ। कैथरीन र म दुवै यु मास-एमहर्स्टका रसायनशास्त्रका पिएचडी क्यान्डिडेट हौँ ।
फर्कँदै गर्दा मैले उनलाई सोधेँ," क्याथी तिम्रो विद्यावारिधि पछि के गर्ने विचार छ त?" उनले भनिन्, " टन्न पैसा कमाउने अनि फ़्लोरिडामा घर किनी बस्ने " एक छिन पछि क्याथीले मलाई त्यही प्रश्न गरिन्,
"व्हाट अबाउट यु?"
"देश बनाउने! "
क्याथी, "सरी व्हाट्स द्याट!"
" मेरो नेपाल संवृद्ध बनाउने ", मैले विस्तारमा भनेँ, " हेर क्याथी अमेरिका, युरोपमा हाम्रो पुस्तामा जन्मिएका युवाले धेरै लागू-औषधको दुर्व्यसनमा नपरी सरासर आफ्नो काम गरिदिए पुग्छ तर नेपाल जस्तो विकासोन्मुख देशमा जन्मिएका युवाहरूले रमाइलो गर्ने अल्लारे उमेरमै देश बनाउने अभिभारा काँधमा बोकी हिँड्नुपर्ने जिम्मेवारी छ। एक पुस्ताले त्याग-तपस्या नगरी कुनै मुलुक बन्दैन!"
क्याथी, " गुड लक विद् योर अल एनड्यवर्स!"
घर पुगी एक छिन आराम गर्दा साँझ पर्न लागेछ। बेलुका नेपाल फर्कौँ महाअभियानका अभियन्ता राजेन्द्र पंगेनी सँग फोनमा कुरा भयो।
" हैन दाइ नेपालमा विज्ञ र स्वच्छ छवि भएको मान्छे कहिले नेतृत्वमा पुग्ने? घुम्ने मेचमाथि अन्धा मान्छे कै राज चल्ने भो! " मैले आफ्नो मनको दिन भरिको भड़ाँस निकालेँ। शान्त भई राजेन्द्र दाइले भन्नु भो, " हैन विष्णुजी अब त नेपालका घुम्ने मेचमाथि दूरबिनधारी, सूक्ष्म दर्शक यन्त्र चलाउने र कम्प्युटर प्रोग्रामिंग गर्ने मान्छेहरू गएर बस्ने बेला आयो।"
राजेन्द्र दाइले थप्नु भो , " तर एक जनाले गरेर यो सम्भव छैन , सामूहिक प्रयास बाट मात्रै नेपाल यसै पुस्तामा बनाउन सम्भव छ, आउनु होस आ-आफ्नो स्थानबाट सबले योगदान गरौँ। हामी केही साथीहरू मिलेर एक्कैचोटी नेपाल जाने योजनामा छौँ। हामी सब मिलेर नेपालमा विज्ञान तथा प्रविधिको आधारभूत शिक्षा प्रदान गर्ने एउटा संस्थाको खाका कोर्दै छौँ । बरु अहिले देखिनै त्यहाँ गएर हामीले विज्ञान प्रविधिमा सामूहिक रूपमा गर्न खोजेको योजनाको आन्तरिक तयारीमा अझ बलियो सँग जुटौँ। बरु गएर सबै वैज्ञानिक हरू एकजुट होवौँ। सरकारलाई सुझाव सल्लाह दिऊँ। दातृ संस्थाहरूमाझ प्रस्तावहरू लेखौँ , दक्ष जनशक्ति सँगै पुजी र प्रविधि भित्र्याऔँ। सम्भव भए सरकारसँग पनि हातेमालो गरी अघि बढौँ।“
आऊ नेपाली आऊ, एकजुट भएर नेपाल बनाउन आऊ
खुकुरी, बन्दुक धेरै भिर्यौ अब कलम औजार समाऊ!
खप्तड छान्ना गाउँपालिका ५ (पिठातोला) बझाङ हाल: विद्यावारिधि (रसायनशास्त्र) युनिभर्सिटी अफ म्यासाचुसेट्स