अमेरिकन लेखक जोन म्याक्सवेलले भनेका छन् : अ लिडर इज वान हु नोज द वे, गोज द वे, एन्ड शोज द वे।
अर्थात् नेता त्यो जसलाई सही बाटो थाहा छ, आफू पनि सही बाटोमा हिँड्छ र अरूलाई पनि सही बाटो देखाउँछ।
परिवारमा आमाबुवाले आफ्ना सन्ततिलाई सिकाउने पनि यही नै हो।
‘भन्नु’ र ‘गर्नु’को ताल नमिले ‘भोग्नु’ को पनि ताल मिल्दैन। नेतृत्वमा पनि यो लागु हुन्छ- सही भन। भनेको गर। गरेको भन।
योग्य नेतृत्वको लागी हार्वर्डको डिग्री नै चाहिन्छ भन्ने होइन। चाहना, समय र अलि धेरै इमान्दारी भएकाहरू योग्य नेता बन्न सक्छन्।
अमेरिकाको नेपाली समुदायले पनि पछिल्लो एक दशकमा धेरै आकार, प्रकार र विचारका नेताहरू देख्यो। जात, थर, धर्म, गोत्र र क्षेत्रका नाममा खुलेका पारिवारिक ‘भुरा संगठनका’ नेतादेखि विश्वभरिका नेपालीहरूलाई एक छातामूनि राख्ने उद्देश्यले खोलिएको विशाल एनआरएनको नेतृत्व गर्न खोज्ने रंगीबिरंगी नेताहरूसम्म। नेपालका दलहरूसँग घाँटी जोडिएका र घाँटी जोडिएर पनि लाजले जोडिएको छैन भन्ने राजनैतिक सङ्गठनका कार्यकर्तादेखि अमेरिकी माटोमा नै केही गर्नु पर्छ भन्ने महत्वकांक्षाले भरिएका जोसिला, नयाँ पुस्ताका नेताहरू पनि हाम्रा सामु आए, गए।
विदेशमा नेपालीहरूको सेवाका नाममा खोलिने यी ‘चार जात छत्तिस वर्ण’ का सामाजिक संस्थाहरूमा सेवा कम झगडा ज्यादा छ। केही अपवाद छोडेर सेवाको दौडबाजीमा लागेका यी ‘नेता’हरूका कारण संस्थाको नै कन्तबिजोग भएको इतिहास छ। नेताहरूको जुँगाको लडाँ र राजनीतिक सौदाबाजीले गतिला र आशा गर्न लायकका संस्थाहरू पनि क्रमशः बिग्रँदै गएका छन्।
यो रोगबाट हामी सबैको साझा संस्था एनआरएन अमेरिका पनि बचेको छैन। कानुन व्यवसायी खगेन्द्र क्षेत्री र चिकित्सक केशव पौडेलको पोल्टाबाट अहिले एनआरएन अमेरिकाको नेतृत्व इन्जिनियर सुनिल शाहको हातमा गएको छ।
सुनिलले संस्थाको प्रमुखको रूपमा त अझै जिम्मेवारी लिएका छैनन्। तर पनि उनी ‘सेकेन्ड मेन’ भएर दुई वर्ष बिताएका अनुभवी नेता भने हुन्। नेतृत्व लिइसकेका र लिने तरखरमा रहेका यी तीन जनाको व्यक्तिगत उद्देश्य सम्भवतः संस्थालाई हानी पुर्याउने छैन होला।
संस्थाको प्रमुखको हैसियतले उनीहरूले गरेका केही निर्णय आलोचित छन्। त्यस्तै गर्नु पर्ने केही कार्य नगरेका कारण पनि उनीहरूको नेतृत्व क्षमताको आलोचना भएको छ।
पढेका, जानेका र बुझेका भनिएका नेताहरूको कामबाट एउटा सिङ्गो र ठूलो समूह सन्तुष्ट छैन। कतिपय आमनेपाली-अमेरिकनलाई भने यो संस्थाको खासै चासो पनि छैन, प्रत्येक दु ईवर्षमा भोट हाल्ने, हालिदिने र अरू कसैलाई हाल्न दिनेबाहेक।
गल्ती गर्नुमात्र कमजोरी होइन, सही नगर्नु पनि उत्तिकै अर्थमा कमजोरी हो। दोष पाउन बिगार्न नै पर्दैन, बिग्रेकोलाई बनाएन भने पनि दोष त्यतिकै मात्रामा लाग्छ। हाम्रा संस्थाका नेतृत्वहरूले नबुझेको वा बुझ्न नचाहेको मर्म पनि यही हो।
कुनै गल्ती नै नगरे पनि सायद विगतको गल्तीले बिग्रेकोको सुधार्ने काम पनि भएन कि?
यस्तै एउटा सुधार हो, पारदर्शीता। आफू पारदर्शी हुनु र संस्थाका गतिविधिलाई साँचो अर्थमा पारदर्शी बनाइनु ठूलो र आवश्यक सुधार हो। त्यसले आममानिसको विश्वास आर्जन गर्ने काम गर्छ।
यहाँ कर्मकाण्डी पारदर्शिताको कुरा गरेको होइन। त्यो महत्त्वहीन छ। त्यस्तो त बरू नदेखाएकै बेस। कर्मकाण्डी पारदर्शीता झनै घातक हुन्छ।
आफैं कार्यसमितिको पदाधिकारी रहेको संस्था एनआरएन अमेरिकालाई पृष्ठभूमिमा राखेर यो आलेख तयार गरिरहँदा मलाई धेरै आत्मग्लानी महसुस भइरहेको छ। संस्थाको ‘ब्रान्ड नेम’ सुधार्ने जिम्मेवारी बोकेको पद- सञ्चार संयोजक- बनेर मैले एनआरएन अमेरिकाको ब्रान्डलाई खासै सुधार्न सकिनँ। कमजोरी महसुस भएको छ।
कारण? हामी धेरै नचुक्ने ठाउँहरूमा चुक्यौं। नबोल्नु पर्ने ठाउँमा बोल्यौं। बोल्नै पर्ने ठाउँमा मौनताको साध्यौं। संस्थाको गरिमाभन्दा पनि व्यक्तिगत ‘इगो’लाई माथि राख्यौं। त्यही इगो हाबी बन्यो।
हालै सम्पन्न कार्यसमितिको निर्वाचनमा पनि यो ‘इगो’ र अपारदर्शिताको बेजोड नकारात्मक संगम देखियो। कर्मकाण्डी पारदर्शिताको दुहाइ दिँदै हामीले अरूको आँखामा छारो हाल्यौं। आफू ‘उल्लु’ बनेको भने पत्तै पाएनौं।
बजारमा चलेका धेरै हल्लाहरूमध्ये प्रमाणित नभएका भनिएका दुई हजार बढी सदस्यहरूको कथा पनि यही ‘इगो’ र कर्मकाण्डी पारदर्शितासँग जोडिएको छ। संस्थाको सदस्य बन्ने म्याद सकिनु ठीक अघि ‘डाउन’ भएको भनिएको सर्भरको कथा पनि यही कर्मकाण्डी पारदर्शितासँग जोडिएको हुन्छ।
हामीले नौ हजार बढी सदस्य प्रमाणित गरेको भनेर एक रिपोर्ट निर्वाचन समितिसमक्ष पेस गरेका थियौं। तर म स्वयं समावेश भएको ‘भेरिफिकेसन’ समितिले कति भेरिफाइ गर्यो, कति आफैं गरिए/भए भन्ने म यकिनका साथ भन्न सक्दिनँ। किनभने सदस्यता प्रमाणीकरणको जिम्मेवारी पाएका हामी तीन जनाबाहेक अरू को-कससँग कुन स्तरको ‘वेब एक्सेस’ थियो भन्ने हामीलाई कहिल्यै थाहा भएन। यति हुँदाहुँदै पनि एकाध ठाउँबाहेक हामीले हाम्रो धर्म पूर्ण निष्ठाले निभाएको हौं भन्न सक्छु म।
वर्तमान नेतृत्वले उत्तर दिन सकिने र दिन आवश्यक ठाउँमा उत्तर दिएन या दिन चाहेन। नियत खराब थियो या थिएन, थाहा छैन। तर नियतमाथि नै प्रश्न गर्ने आधार प्रशस्त छन्।
यो संस्थाको छविलाई धमिल्याउन नेतृत्वमात्र जिम्मेवार छैन। नेतृत्वको दौड हिँडेका सबै उत्तिकै जिम्मेवार छन्। नेता बन्ने प्रतिस्पर्धामा लागेकाहरूको नियत पनि खासै सफा देखिएन।
जित्नका लागि सकेको कोशिश सबैले गरेकै हुन्। उन्नाइस-बीसमात्र हो। जितेको भए थापा र लम्सालहरू पनि शाहझैं गमक्क फुल्थे होलान्! पराजयको पीडा सहन नसक्नेहरू किन जित-हारको खेलमा सामेल हुनु? प्रमाणित नभएका भनिएका २०९३ सदस्यको सूचना त निर्वाचनपूर्व नै आएको होइन र? जितेको भए कुर्लिन्थे होलान् यिनीहरू ? बोल्थे होलान् ‘रहस्यमयी’ सदस्यहरूबारे? हिजो रबिनाहरूको समूहको ताल पनि त्यही नै हो। नाच्न नजाने आँगन टेढो!
चुनावमुखी सदस्यता वितरण अभियान पक्कै पनि चुनाव जित्ने नियत हो। संस्थाको चिन्ता होइन। जति लाटोले पनि यो बुझ्ने कुरा हो। यदि सम्पूर्ण ‘फोकस’ चुनाव जित्नमा नै छ भने त्यो संस्थाको नियति के होला? सबैको प्रिय हुनु पर्ने एनआरएन अप्रिय हुनुको कारण पनि त्यही हो। सबैलाई चुनावमा जित्नु छ, जिताउनु छ। हारेमा अदालत जिन्दावाद! अनि कसरी बन्छ संस्थाको उज्वल छवि?
यदि यही क्रमको विकास भइरह्यो भने यो संस्था पनि अरू केही पुराना र नयाँ संस्थाहरू जस्तै अनावश्यक लाग्न थाल्नेछ। मुट्ठीभर ‘पण्डित’ हरूको रोहवरमा सम्पन्न हुने वार्षिक कर्मकाण्ड बन्नेछ सम्मेलन।
दुई कार्यकाल पूरा गरेका डाक्टर पौडेलले चाहेको भए एनआरएन अमेरिकाको ‘कम्लिट क्लिनअप’ गर्न सक्थे। सुधार्ने धेरै ठाउँहरू थिए। तर एक खास समूहको प्रभावमा भजनमा उनी नाचिरहेको प्रतीत भयो। नाचे वा नाचेनन् त्यो उनैले जानुन्।
संस्थाको छवि बिगार्ने काम उनले कहिल्यै गरेनन्। तर सुधार्ने ठाउँमा भने केही हच्किएको हो कि भन्ने धेरैको बुझाइ मैले महसुस गरेको छु। उनले संस्थाको छवि सुधार्न चाहेनन् भन्ने आरोप लगाउने नैतिक आधार मसँग छैन। सायद चाहेर पनि भनेकोजस्तो परिणाम आएन कि?
मैले आफ्नै अध्यक्षलाई पदीय सीमारेखा नाघेर धेरै ठाउँमा प्रश्न गरेको छु। यो आलेखलाई पनि धेरैले ‘सीमा नाघेको’ बुझ्ने छन्।
मेरो आसय सीमा नाघेर गाली गर्ने होइन, वर्तमान र आगामी नेतृत्वलाई सीमाभित्र राख्ने प्रयास मात्र हो। नेतृत्वले नियत सफा राख्ने हो ताकि संस्थाको नियति उज्यालो होस्!