सम्झिरहेछु आमालाई
के गर्दै होलिन् त्यहाँ उनी,
अनि नानीहरू?
के गर्दै होलान् त्यहाँ,
त्यही मेरो घरका लागि म यहाँ छु,
मेरो देश कहाँ छ,
म कहाँ छु?
कन्दराले पहिले आफ्ना पुराना हिट गीत सुनाइरहँदा जुलाईको अन्तिम साता टेक्सस डालसका नेपाली जति उफ्रिएका थिए, विवेकले यो गीत गाउने उद्घोष गरेसँगै माहोल सेलाएजस्तो भयो। किशोर/युवाकाल छँदा सुनेका हिट गीतले जस्तो किसिमको ऊर्जा दिन्थ्यो, यो गीतले मनलाई भिन्नै तहमा लैजान्छ।
भित्रैदेखि पीडा दिने शब्द भन्नुपर्दा केही मान्छे ‘दर्द’ भन्छन् नि, यो गीतमा त्यही दर्द छ। परदेशिएका नेपालीको दर्द!
यो गीत लेखेका हुन्, ब्यान्डका संस्थापक सुनील थापाले। बुद्धराज बज्राचार्य, अमित गुरुङ, असीम शेरचन, अनील गुरुङ र अविनाश गायकको वाद्यवादनमा विवेकले गाएका थिए।
विवेक, जो आफैं १२ वर्ष परदेश बसेर फर्किएका हुन्।
यो गीत लेख्ने सुनील भने कहिल्यै विदेश बसेनन्। ‘विदेश त टाढाको कुरा, म पोखरा छोडेर काठमाडौंमा पनि धेरै बस्न सक्दिन,’ सुनील भन्छन्, ‘विदेश जाँदा ‘होमसिक’ मैलाई सबैभन्दा धेरै हुन्छ।’
तर, सुनीललाई परदेशीको त्यो दर्द थाहा छ। विवेक त आफैं भोगेका भइहाले। त्यसैले उनले गाउँदा भित्री मनमा १२ वर्ष परदेश बस्दाको भावना निचोरिन्थ्यो थियो, सायद!
चार वर्षअघिको त्यो १२ वर्ष उनी आफैं देश खोजिरहेका थिए। जुलाई महिनाभर विवेकको स्वरले नेतृत्व गरेको समूहले अमेरिकाका नेपालीहरुलाई देश सोचायो।
पहिल्यै रुचाइएका गीत त छँदै थिए, आफ्नो मन परेको ब्यान्डले ‘आफ्नै लागि गाइदिएको’ गीतमा नेपालीहरुले कोरसमा गाएर मज्जा लिए, ‘म कहाँ छु, मेरो देश कहाँ छ?’
साढे दुई घण्टा चलेको कन्सर्टमा कन्दराले देश सम्झाएर भावुक मात्र बनाएन, पुराना गीतबाट ‘नोस्टाल्जिया’ पैदा गराउनुका साथै अरु समूहका गीतले पनि मनोरन्जन दियो।
‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई
हैन भने नेपाली नभन
वीरको छोरा लाछिपन नगर’
देशप्रतिको कर्तव्य सम्झाउन कन्दराले यस्ता गीत पनि गायो।
टेक्ससमा रहेर उद्यम गरिरहेका नेपालीहरु दिवस थापा, विकास उप्रेती र चिन्तामणि बरालको पहलमा कन्दरा डालस निम्त्याइएको थियो। यी तीनमध्ये एक उद्यमी बराल सुरुवातकालीन कन्दरासँग जोडिन्छन्।
कन्दराका संस्थापकद्वय विवेक श्रेष्ठ र सुनील थापा स्कुल पढ्दा स्कुलबाहिरको ग्रुप थियो, पिस ह्यांकी। यी दुईले यही ब्यान्डबाट सांगीतिक थालनी गरेका हुन्।
स्कुल सकेपछि बुद्धराज बज्राचार्यले यी दुईलाई एउटै भाँडोमा हालेर बनाए, कन्दरा समूह। छुट्टै ब्याण्डमा पुगे पनि पिस ह्यांकीसँग उनीहरुको सम्बन्ध उस्तै थियो। सँगै गीत बनाउँथे, रेकर्ड गर्थे। प्रस्तुत हुँदा मात्र छुट्टा–छुट्टै।
यी दुई ब्याण्डमा प्रत्यक्ष/अप्रत्यक्ष सरोकार राख्ने थुप्रै ठिटामध्ये चिन्तामणि बराल पनि एक थिए, जो कलेज पढ्न थालेपछिका साथी हुन्।
पोखराका फाँटका ठूला गह्रामा यिनीहरु झुरुप्प हुन्थे। कोही फुटबल खेल्थ्यो, कोही गितार बजाउँथ्यो, कोही गाउँथ्यो। गाउने बजाउने काम पिस ह्यांकी र कन्दराको भइहाल्यो। सानो कदकाँठीका बराल कहिले फुटबलको पछि दौडिन्थे, कहिले गीत सुन्ने झुन्डमा मिसिन्थे। तिनै बराल अहिले अमेरिकाको टेक्सस राज्यमा छन्। रेष्टुरेन्ट चलाउँछन्।
कन्दरा पोखराबाटै हिट हुँदै गर्दा बरालले विदेशको बाटो रोजे। बेलायत पुगे। संयोग, विवेक पनि उतै पुगे। संगीतमा हिट भइरहेका विवेकले त्यहाँ आफ्नो रुचि कसरी छोड्न सक्थे र? बराल विवेकको कन्सर्टलाई सघाउन पुगिहाल्थे।
‘कन्दरालाई डालसमा ल्याएर यहाँका नेपालीमाझ प्रस्तुत गर्दा साह्रै खुसी लागेको छ,’ बरालले सेतोपाटीसँग भने, ‘मलाई त्यो बेलाको याद आउँदैछ, जतिबेला हामी पोखराको फाँटमा कन्दराको गीतमा नाच्थ्यौं, झुम्थ्यौं। बेलायत बस्दा पनि विवेकसँग नजिक हुन पाएँ। नेपालमा पहिचान बनाइसकेको मान्छे विदेश बस्दा कस्तो हुन्छ, मलाई अलिकति भए पनि विवेकको बारेमा थाहा छ।’
विगत र साथी भन्ने कुरा कति प्यारो हुन्छ भन्ने बराललाई अहिले आएर झनै बढी महसुस भएको छ। त्यो खुसी कन्दराको ‘कमब्याक’ ले ल्याइदियो।
कन्दराको कथा धेरै कोणबाट भन्न सकिन्छ। तर, यसलाई विगतदेखि केलाउँदा कन्दरालाई ‘दुई साथीको मित्रता’ को कोणमा प्रस्तुत गर्दा अन्याय नहोला। कन्दरा सुरु भयो, साथीबाट। हिट भयो, साथीबाट। हिट भइरहेका बेला एउटा साथीले देश छोड्यो, कन्दरा पनि सुस्तायो। दुई साथीको घनिष्ठताकै परिणाम होला सायद, ब्यान्ड सांगीतिक लयमै फर्किएको छ।
कथा सुरु हुन्छ, पोखराबाट।
कक्षा सात पास गरेपछि विवेक श्रेष्ठ स्याङ्जाबाट पोखरा झर्छन्। आठ कक्षामा थुप्रै सेक्सन हुन्छन्, तर विवेक त्यहीँ पर्छन् जहाँ सुनील थापा हुन्छन्।
विवेकलाई गाइराख्नुपर्ने, सुनीललाई बजाइराख्नुपर्ने।
विवेकका लागि नयाँ ठाउँ। मनमा संकोच र डर लिएर पछिल्लो बेन्चमा बस्थे। यसो पनि हुनसक्छ, पछाडि बस्दा निर्धक्क गाउन पाइन्छ। सुनील रैथाने टाठाबाठा! उनी भने पहिलो, दोस्रो, तेस्रो बेन्च चाहारी चाहारी बस्थे। बेन्च, भित्तो, कुर्सी, चक, डस्टर जे भेट्यो ठोकाइहाल्ने, ताल निकालिहाल्ने।
एउटाको गला र अर्काको हात एक–अर्कामा आकर्षित भए। केही दिनमै विवेक र सुनीलको बेन्च एउटै भयो।
स्कुलबाहिरका ठिटाहरुको समूह थियो, पिस ह्यांकी। कथा, कविता, नाटक, संगीतजस्ता कलामा रुचि राख्ने पोखरेली विद्यार्थीहरुको सुरुवाति प्रयोगशालाजस्तै थियो यो समूह। सुनीलको वादन र विवेकको गायकी चिनेर पिस ह्यांकीले आफ्नो समूहमा आउने निम्तो दियो। उनीहरुले आफ्नो गच्छेअनुसारको कला देखाए।
जब स्कुल सकियो, बुद्धराज बज्राचार्यले यी दुईलाई लिएर समूह तयार पारे, कन्दरा।
‘चन्चले कान्छी’ विवेकको पहिलो ‘रेकर्डेड’ गीत हो। ‘तिमी पारि त्यो गाउँ’ लेखेसँगै सुनील कन्दरामा झनै सक्रिय भएर लागे। यी दुवै गीत चर्चित भए। ब्यान्डले पोखराबाटै काठमाडौंका चर्चित ब्यान्डसरह आफूलाई उभ्यायो।
दाेस्रो एल्बम निस्केको केही समयमा विवेकले बिहे गरे।
र, उडे बेलायत।
१२ वर्ष बेलायत बसिएला भनेर न विवेकले सोचेका थिए, न सुनीलमा नै शंका थियो।
‘मलाई विवेक त्यति लामो समय बस्छजस्तै लागेको थिएन,’ सुनील भन्छन्, ‘मलाई थाहा थियो, ऊ कस्तो छ। तर, बसाइ यसरी लम्बियो कि म हरेक वर्ष ऊ अबचाहिँ आउँछ, अबचाहिँ आउँछ भनेर कुरिरहन्थेँ।’
सुनील बेलायत गए पनि ब्यान्डको काम ठप्पैचाहिँ भएको होइन। एल्बमका लागि सुनील चाँजोपाँजो मिलाइराख्थे, विवेक नेपाल आएका बेला गीत रेकर्डिङ हुन्थ्यो। ‘वर्षौंपछि’ विवेक बेलायत बस्न थालेपछि सार्वजनिक एल्बम हो। हङकङ पोखरा र तगारोमा रुमाल राखी कन्दरालाई सम्झाई राख्ने गीत हुन्।
तेस्रो एल्बम निस्केसँगै कन्दराले सक्रियताको लय गुमायो। संस्थापकमध्येका एक सुनीललाई नयाँ गायक खोजेर ब्यान्डलाई पुनः लयमा ल्याउने दबाब पर्न थाल्यो। तर, सुनीलले सुनेनन्।
‘किनकि, मलाई ऊ अबचाहिँ फर्किन्छ नै जस्तो लाग्थ्यो,’ सुनील भन्छन्, ‘हामी फोनमा जति बात माथ्र्यौं, ऊ जतिखेरै म अर्को वर्ष आउँछु र ब्यान्डलाई पहिलेकै गतिमा फर्काउनुपर्छ भन्थ्यो। मलाई पनि त्यसै लाग्थ्यो।’
विदेश बस्दा विवेकलाई सबैभन्दा धेरै पहिचानको संकटले पिरोल्यो। उनलाई डिप्रेसनले गाँजेछ। पहिचानले पिरोल्थ्यो। नेपालको झल्कोले पिरोल्थ्यो।
‘हामीले ब्यान्ड सुरु गर्दा सेलिब्रेटी भइएला भन्ने सोचेका थिएनौं,’ विवेक भन्छन्, ‘हाम्रो मनमा त्यही कुरा मात्र थियो, जुन हामीलाई मन पर्छ। जुन काम गर्दा हामीलाई रमाइलो लाग्छ। चर्चाको कुरा पछिको हो। विदेश बसेपछि मन परेको काम टुट्यो। हो, म डिप्रेसनमा पुगेँ। तर, आशाको एउटा विन्दु थियो मनमा, त्यही कुराले मलाई जोगायो।’
त्यो आशाको विन्दु थियो, नेपाल फर्केर संगीतमा लाग्नु।
त्यो विरक्तिको समय विवेकका सबैभन्दा मिल्ने साथी कि लेखन हुन्थ्यो, कि उनै सुनील। लेखेका कुरा किताबमा पाे आउला कि? विवेकले संकेत दिए।
‘मेरो विदेश बसाइमा अँध्यारा कालखण्ड मात्र छन् भन्नेचाहिँ होइन,’ उनी भन्छन्, ‘समयको व्यवस्थापन र अनुशासन विदेश बसेरै बढी सिकेँ हुँला।’
विदेश बस्दा नेपाल, संगीत, परिवारजस्ता कुराले जति सताउँथ्यो, देश फर्किंदा पनि उनी मुटुमा एउटा गाँठो यथावतै राखेर फर्केका छन्। उनको परिवार उतै छ, सन्तान उतै छन्। ‘म यता आफ्नो रुचिका लागि हिँडिरहँदा उता सन्तान हुर्किरहेको पल गुमाइरहेको छु,’ उनी भन्छन्।
तर, उनी फेरि फर्किने मुडमा भने छैनन्। उनी त्यही १२ वर्षअघिकै ऊर्जामा आफूलाई ढाल्न कसरत छन्। सुनील–विवेकको जोडी यत्तिकै रोकिने पक्षमा छैन। ब्यान्डलाई आकस्मिक होइन, सुरक्षित अवतरण गराउनुपर्छ भन्ने योजना छ उनीहरुको। ब्यान्डको कमब्याक भएको चार वर्षमा जस्ता प्रतिक्रिया आएका छन्, त्यो हौसलाले उनीहरुलाई रोकिन दिँदै दिँदैन।
‘यो समय हाम्रो हो भनेर दाबी गर्दैनौं,’ सुनील भन्छन्, ‘तर, हामी निराशचाहिँ पार्दैनौं। हाम्रो समयमा हामीलाई सुनेका स्रोता त खुसी छन् नै, अहिले हुर्किरहेको पुस्तालाई पनि हामी निराश पार्दैनौं।’
विवेकको कथन समान छ। युट्युबको ‘भ्युज’को आधारमा कन्दराको ‘कमब्याक’ लाई सफलता/असफलतामा तौलनु उचित हुँदैन कि भन्ने लाग्छ उनलाई। कमब्याकपछिको यो समय अलि चुनौतिपूर्ण भए पनि एक हिसाबले सफल सुरुवात हो भन्ने ठान्छन् उनी। यति मात्र होइन, पहिलेका चर्चित तर, सुस्ताएका या हराएका ब्यान्डलाई पनि कन्दराले खुसीको सञ्चार गरेको छ।
कन्दराको ध्यान अब व्यवस्थित कन्सर्टतिर छ, व्यवस्थित कन्सर्ट, कन्दराको अभियान! नेपालका सांगीतिक समूहमध्ये ‘नेपथ्य’ मात्र व्यवस्थित कन्सर्टमार्फत् प्रस्तुत भइरहेको छ भन्छन् विवेक। ‘कन्सर्ट कल्चर’ मा विदेशका नेपाली समुदायभन्दा नेपालका नेपाली अगाडि छ भन्छन् उनी।
‘बरु नेपालमा कन्सर्ट कल्चर विकसित हुँदैछ,’ १२ वर्ष बेलायतका नेपाली समुदाय केन्द्रित कन्सर्टका नियालेका विवेक भन्छन्, ‘बेलायत बस्दा मलाई सबैभन्दा बढी खसखस कन्सर्ट व्यवस्थित नहुनुमै थियो। कन्सर्ट भन्यो, खाजा पनि त्यहीँ बेच्याछ, फेसन शो पनि त्यहीँ भइराखेको हुन्छ। रेष्टुरेन्टमा गाए पनि कन्सर्ट रे, फुड फेस्टिभलमा गाए पनि कन्सर्ट रे, पारिवारिक जमघटमा गाए पनि कन्सर्ट रे!’
‘यो पाराले हुँदैन,’ उनी थप्छन्, ‘संगीत हाम्रो सभ्यता हो। संगीतलाई ध्यान दिएर सुन्नुपर्छ। त्यसका लागि राम्रो वातावरण चाहिन्छ।’
विवेक विदेशको कार्यक्रम पाइयो भन्दैमा आफ्नो ‘भाउ’ नघटाउन कलाकारलाई अनुरोध गर्छन्। कन्सर्टका नाममा हुने अव्यवस्थित ‘पारिवारिक भोज–भतेर’ ले संगीत र संगीतकर्मीको स्तर खस्काउँछ भन्छन् उनी।
‘कन्सर्टका लागि त त्यही किसिमको हल, साउन्ड सिस्टम चाहिन्छ नि,’ उनी भन्छन्, ‘रेष्टुरेन्टमा ट्रयाकमा गीत गाउँदा राम्रो गर्न चाहने कलाकारलाई असर पर्छ। अरुले यस्तो ठाउँमा ग¥याथ्यो, तिमीहरुले किन हुँदैन भन्छन् कतिपय आयोजकहरु।’
संगीतकर्मीलाई खुल्ला हृदयले प्रस्तुत हुन पायो भने मात्र स्रोता/दर्शकले त्यसको भरपुर मजा लिन सक्छन्। अमेरिकाको एक महिने सांगीतिक यात्रा खोजेजस्तै भयो रे!
त्यसैले त डालसका नेपाली खुसीमा उफ्रिए, भावुक बने, रोए, कोरसमा गाए! र, कन्दरासँगै ‘कोरस’ गाए,
सम्झिरहेछु आमालाई
के गर्दै होलिन् त्यहाँ उनी,
अनि नानीहरू?
के गर्दै होलान् त्यहाँ,
त्यही मेरो घरका लागि म यहाँ छु,
मेरो देश कहाँ छ,
म कहाँ छु?