भारतीय नेपाली मेघना जोशी बल्ल्भ २०१६ को अन्तर्राष्ट्रिय भारतीय श्रीमती सुन्दरी बन्न सफल भएकी छिन्। भारत जन्मभूमि भएकी मेघनाले अमेरिकालाई आफ्नो कर्मभूमि बनाएकी छन् र विगत १४ वर्ष परिवारसहित बस्दै आएकी छन्।
नेपालीहरुको प्रवासीकरणको लामो इतिहास रहेको छ। यसरी प्रवासमा बसेर पनि नेपालीपनको आभाष दिएर आफ्नो बेग्लै अस्तित्व राख्न सफल हाम्रा पूर्वज आप्रवासी नेपालीहरुको लामै इतिहास रहेको छ। गौतम बुद्धबाट शुरुभएको प्रवासीकरणमा अरनिको, भृकुटी, नोर्गे तेन्जिङ्ग शेर्पापछि धेरै नामहरु जोडिदै गए। यसरी प्रवासिए नेपाली हुनुमा गर्व गर्ने नाममा मित्रसेनपछि मनीष कोईराला र उदित नारायण झाको नाम गाभिन पुगेको थियो। यस विषयमा अनुसन्धान गर्दै जाने हो भने एउटा अनुसन्धानात्कम कृति नै तयार गर्न सकिन्छ।
हिन्दी चलचित्रमा माला सिन्हा, हिरा लाल, केशव राणा जस्तै धेरैनै नेपाली रगत संचार भएका कलाकारहरु आएगए होलान। यसरी नाम कमाएका व्यक्तीहरुमा बि.एस.थापा, जगदिश शमशेर, प्रकाश थापा, रणजित गजमेर, शम्भु प्रधान आदि चर्चित नामहरुसँगै अरु धेरैनै नामहरुको फेहरिस्त नै तयार गर्न सकिन्छ। पछिल्लो पंक्तीमा प्रबल गुरुङ्गले फैसन जगतमा देखाएको सफलता एकातिर छ भने अर्कोतिर प्रबलको पदचिन्हमा हिड्दै धेरैनै युवाहरु फैसनको दुनियामा आउन थालेका छन्। अर्कोतिर व्यापारिक सफलताको खुड्किला उक्लदै एउटै वैग्लै जमात गैरआवासीय नेपाली संस्थाका माध्यमबाट विश्व मानचित्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आईरहेका छन्।
आज भारतका विभिन्न टेलिभिजन च्यानलहरुमा आयोजना हुँदै आएका प्रतीभा प्रतियोगिताका प्रायः सबैनै च्यानलमा नेपाल वा भारतीय मूलका नेपालीहरुको प्रतिनिधित्व हुँदै आईरहेको छ। नब्बेको दशकमा सा रे ग म पा सांगीतिक प्रतियोगितामा नेपालका चर्चित गायक आनन्द थापा पनि पुगेका थिए भने त्यसपछि प्रशान्त तामङ्गको दोस्रो ईण्डियन आईडल जित्नुमा पनि विश्वभरीका नेपालीहरुको सहयोगलाई नकार्न सकिदैन। प्रशान्तले देखिएको गोरेटो कुल्चदै आजको मितिमा प्रत्येक ईण्डियन आईडलमा आप्रवासी नेपालीहरुको सहभागिता रहदै आएको छ।

यतिमात्र नभएर प्रत्येक प्रतीभा प्रतियोगितामा नेपाल र प्रवासबाट नेपालीहरको सहभायितामात्र नभएर सफलताको समाचारहरु पनि हामीले सुन्दै आएका छौं। तेरिया मगरले डिआईडी (डान्स ईण्डिया डान्स) लिटल मास्टरमा सबैलाई उछिनेर पहिलो भएकी थिईन भने उनले फेरी झलक दिखला जा नृत्य प्रतियोगितामा भारतीय सेलिबे्रटीहरुलाई उछिन्दै प्रथम भएकी थिईन। नेपाली प्रतीभाहरुबाट यो जीतको ध्वजा फरफराउने कार्यलाई निरन्तरता दिदै नृत्य प्रतियोगिताको गत वर्षको डान्स प्लसमा नेपालका सुशान्त क्षेत्री र नेपालकै वाईण्ड रिपर्स दोस्रो र तेस्रो बन्न सफल भएका थिए। यस वर्षको डान्स प्लसमा प्रवासका वीर राधा शेर्पाले सबैलाई उछिनेर पहिलो भएका थिए।
त्यस्तै सुपर डान्स प्रतियोगितामा गत वर्ष सोम्या राई तेस्रो स्थान बनाउन सफल भएकी थिईन भने डिआईडी (डान्स ईण्डिया डान्स) लिटल मास्टरमा प्रतियोगितामा प्रवासबाट ओम क्षेत्रीले आफ्नो नृत्य प्रतीभाबाट सबैलाई चकित पारिदिएका थिए। आजको मितिमा हेर्ने हो भने भारतीय टेलिभिजनका प्रत्येक प्रतीभा प्रतियोगितामा प्रवाससँगै नेपालबाट पनि कडा प्रतिष्पर्धामा सहभागिता बन्दे आएको देखिन्छ।
अहिले संचालन हुँदै आएको डिआईडी (डान्स ईण्डिया डान्स) मा प्रवासबाट सारङ्ग राई छन् भने नेपालबाट सुजन मार्गो रहेका छन्। बाल प्रतीभा प्रतियोगिताको सुपर डान्सर दुईमा प्रवासबाटै विशाल शर्मा (आसाम) र आकास थापा (देहरादुन) नेपालीहरुको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका छन्। गीत तर्फको प्रतीभामा पनि नेपालीमूलका भारतीय नेपालीहरुको सदैवनै सहभागिता रहदै आएको पाइन्छ।
गीतमा प्रसान्तले छोडेर गएको डोबहरुलाई कुल्चिदै कहिले कर्मा शेर्पा त कहिले साइराज खत्रीले आफ्नो प्रतीभाको परिचय दिईसहेका छन्। अहिले बाल प्रतीभा साइमन सेवा गीत प्रतियोगिताबाट नेपाली हुनुको परिचय दिई रहेका छन्।
नेपालमा सौन्दयर्ता प्रतियोगिता शुरु भएदेखि नेपालको प्रतिनिधित्व गर्दै नेपाली सुन्दरीहरुले २००० देखि विश्व सौन्दर्य प्रतियोगितामा सहभागी बन्दै उमा बोगटी, नीरा गौतम, आयुस्मा पोखरेल, नीशा अधिकारीपछि २०१२ मा निलम चन्द ग्लोबल ईन्टरनेसनल सौन्दर्य प्रतियोगितामा उत्कृष्ठ पाँचौसम्म पुग्न सफल भएकी थिइन भने २०१६मा विश्व सुन्दरी प्रतियोगितामा नग्मा श्रेष्ठ तेस्रो ओगट्न सफल भएकी थिईन र २०१६ मा नै सर्ज संजीत श्रेष्ठ पहिलो रनरअपसम्म पुगेकी थिईन।

प्रसङ्गवस् आएका माथिका चर्चा वास्तवमा प्रवासमा नेपाली प्रतीभालाई सम्झने प्रयासमात्र गरिएको हो। गीत र नृत्य सँगसँगै नेपाली रगतमा प्रचुरमात्रामा सुन्दरता संचार भई रहेको हुन्छ। यही सौन्दर्यताको परिचय दिन नेपाल सुन्दरीहरु विश्व सौन्दर्यता प्रतीयोगिताको रङ्गमञ्चमा प्रतिष्पर्धा गर्दै आएका समाचारहरु हामीले पढ्दै सुन्दै र देख्दै आएका छौं। विश्वभरीनै सबैभन्दा बढी जनसंख्या भएको देश भारत हो भने यही भारतभूमिबाट विश्वभरीनै आप्रवासी भारतीयहरुको संख्या दिनानुदिन बढ्दै गईहरेको छ।
त्यस्तै विश्वमा चीनपछि सबैभन्दा बढी भारतीय भूमिबाट आप्रवासीहरु छरिएर बसोबास गर्दै आईरहेका छन्। हाम्रो एनआरएन (गैरआवासीय नेपाली) संघको अवधारणा पनि एन.आर.आई.बाटै आएको थियो। आज बलिउडको नामले विश्वभरीनै विख्यात भएको भारतीय चलचित्र उद्योगले पनि चलचित्रका माध्यमबाट भारतको परिचय फैलाउँदै गई रहेको छ। यसपटक फेरी भारतबाटै मानुशी चिलर विश्व सुन्दरी बन्न सफल भएकी छिन्।
यही भारतभूमिबाट प्रवासिएर अमेरिकाको नर्थ क्यारोलोनालाई आफ्नो कर्मभूमि बनाएर २०१६ मा अन्तर्राष्ट्रिय भारतीय श्रीमती सुन्दरी बन्न सफल भएकी मेघना बल्लभ जोशीको मनभित्र नेपालीपनको ढुकढुकी अहिलेसम्म सुनिन्छ।
भारतको शिलाङ्ग, मेघालयमा जन्मेर हुर्केकी राधा जोशी र भारतको देहरादुनका चाँद बल्लभका दुई सन्तान मध्येकी छोरी मेघनाले सानैदेखि नै आमालाई समाजसेवामा लागेको देखेकोले बाल्यकालदेखि नै उनमा समाजलाई केही गरिदिने भावना जागृत हुँदै आएको थियो। आफ्नो मामा घर शिलाङ्गमा जन्मेकी मेघनाले आफ्नो सम्पूर्ण अध्ययन देहरादुनबाट पुरा गरेकी छन्। मामा घर जन्मेकी मेघनाको विवाह पनि शिलाङ्गमै हुन्छ । मेघनाकी आमा राधाले आफ्नो दुवै सन्तानको विवाह शिलाङ्गमा नै गरी दिए पनि उनका दुवै सन्तान अहिले अमेरिकाको नोर्थ क्यारोलिनाको सार्लेट शहरमा बस्दै आईरहेका छन्।

२००३ मा विवाह बन्धनमा बाँधिएकी मेघनाले आफ्नो अध्ययन पुरा गरेपछि कामकाजी महिला बनेर २००३ मा नै आप्रवास आगमन गरेकी थिईन। अमेरिकाको नर्थ क्यारोलोनाको एक प्रतिष्ठित कम्पनिमा मार्केटिङ्ग मेलेजरको पदमा कार्यरत मेघना ८ र १३ वर्षका दुई जन्तानकी आमा पनि हुन्। गृहस्थी जीवनपछि कामकाजी महिला हुनाका साथै उनी एक समाजसेवीका रुपमा पनि परिचित छिन्।
बियोण्ड क्रियेसन नामक कम्पनीको संस्थापक अध्यक्ष मेघनाको अर्को पक्ष हो समाजप्रतिको दायित्व। देहरादुनबाटै समाजसेवामा रुचि राख्दे आएकी मेघनाले यो सद्कार्यलाई आप्रवासमा पनि निरन्तरता दिदै आएको देखिन्छ। उनलाई यही मानवीय कार्यका लागि अमेरिकामा सम्मानित पनि गरिएको छ। घरेलु हिंसाका विरुद्ध आवाज उठाउँदै आएकी मेघनाले भारतमा यसबाट पीडित अशिक्षित महिलाहरुको पीडालाई मलहम लगाउने प्रयास गर्दै आएकी छिन्। उनको समाजसेवाले अमेरिकामा पनि निरन्तरता पाउदै गएको छ।
मेघनाले अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता जितेर देहरादुन पुग्दा त्यहाँका भारतीय समुदाय सँगसँगै नेपाली समुदायले पनि आफ्नो नेपाली चेलीको सफलतापछिको आगमनलाई भव्यताका साथ स्वागत गर्दै सम्मान गरेका थिए। मेघनाको सफलताले एकातिर उत्तराखण्ड राज्य गर्वान्वित भएको थियो भने अर्कोतिर दून शहर ध्वजापताकाहरुले सजाएर ससफलताको खुशियाली मनाइरहेको थियो।
त्यस्तै एकातिर भारतीय नेपालीहरु सफलतामाथि हर्सोल्लास मनाइरहेका थिए भने अर्कोतिर देहरादुनमात्र नभएर उत्तराखण्डका नेपालीहरु नै आफ्नो चेलीको सफलतालाई नेपाली समुदायको सम्मान मानिरहेका थिए। इतिहासलाई पल्टाएर हेर्ने हो भने सुगौली सन्धिपछि नेपालीहरु बेलायती सैनिकमा भर्ति भएर गोराहरुका आदेशमा विभिन्न मुलुकहरुमा गएर युद्ध गर्न थाले। युद्धपछि र आफ्नो सैनिक सेवापछि अवकास लिएर धेरैनै सैनिकहरु भारतका विभिन्न शहरमा बसोबास गर्न थाले। सैनिक जीवनबाट अवकास पाएर नेपाली जवानहरु देहरादुनमा नै बस्न थालेपछि विस्तारै त्यहाँ नेपालीहरुको बस्ति बस्न थालेको थियो।
नेपालको पहाडी वातावरणमा जन्मे हुर्केका नेपालीहरुका लागि देहरादुनको वातावरण नेपाल सरहनै लागेकोले त्यसैलाई आफ्नो कर्मभूमि बनाएर बस्दै आएका छन्। सन् १९१६ मा नै देहरादुनमा गोर्खा एशोसिएसनको नामबाट पहिलो नेपालीहरुको संस्था खुलेपछि समुदायमा पनि नेपाली गतिविधि बढ्दै जान थाल्छ। सन् १६२६ देखि गोर्खा संसार नेपाली भाषामा पत्रिका पनि प्रकाशन हुन थाल्छ। यसरी देहरादुनमा नेपालीहरुको आगमनको लामै इतिहास रहेको प्रमाणित गर्दछ।
देहरादुनले नेपाली सांगीतिक क्षेत्रमा मित्रसेन जस्ता नेपाली तानसेन जन्माएको बेग्लै इतिहास बोकेको छ। त्यही पूर्खाको लामो इतिहास बोकेको भूमिबाट अमेरिकालाई कर्मभूमि बनाएर विगत १४ वर्षदेखि बस्दै आउनु भएकी मेघना जोशी बल्लभका जिजुबुवा नेपालबाट सैनिक भएर प्रवासिएका थिए। सैनिक जीवनबाट अवकास पाएपछि पहाडी भूमि खोज्दै सिमला पुग्नु भएका चाँद बल्लभका हजुर बुवाले सिमलाबाट बसाई सरेर देहरादुनलाई आफ्नो वासस्थल बनाएपछि चाँद बल्लभ तीन पुस्तादेखि देहरादुनमा बस्दै आउनु भएको छ।
मेघनाको भनाइ अनुसार महिलाले घरको कामबाहेक बाहिरको काम पनि गर्न सक्छन् भने आफ्नो प्रतीभालाई तिखार्न पनि सक्छन्। सुन्दरताको प्रतियोगितामा मुहारको सुन्दरतामात्र हैन मनको सुन्दरता र मगजको सक्षमता हेरिन्छ। उनले आफ्नो यही छमता देखाएर अन्तर्राष्ट्रिय भारतीय सुन्दरीको उपधी जित्ने पहिलो प्रवासी नेपाली बन्न सफल भएकी हुन्।
अन्तर्राष्ट्रि भारतीय श्रीमती सुन्दरी (ईन्टरनेसनल मिसेज इण्डिया) प्रतियोगित गत २०१४ देखि शुरु भएको देखिन्छ। मेघना यस सुन्दरी प्रतियोगिताकी दोस्रो अन्तर्राष्ट्रि भारतीय श्रीमती सुन्दरी बन्न सफल भएकी थिइन्। विश्वका १६ वटा राष्ट्रबाट प्रतियोगीहरुलाई उछिन्दै मेघनाले अमेरिकाको भारतीय समुदायको मात्र शिर ठाडो पारिनन् उनले उत्तराखण्ड प्रदेश र त्यसमा पनि देहरादुन अझ भारतीय नेपाली सँगसँगै नेपाली मूलकी भारतीय नेपाली बनेर यो उपाधी पाएकी थिईन।
यो प्रतियोगिता गत २०१६ को अप्रेलमा जोर्जियाको अट्लान्टामा सम्पन्न भएको थियो। आफ्नो प्रतीभाबाट सुन्दरतामा सफलता पाएपछि मेघना समाजमा आफुलाई कमजोर ठान्ने महिलाहरुको अस्तित्व स्थापित गर्दै उनीहरु अधिकारका लागि समाजसेवामा समर्पित भएर काम गर्दै छिन्।