अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताएका छन्।
भियतनाममा एपेकको सम्मेलनपछि सोही स्थानमा भएको उनीहरूको छोटो समयको भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको छ।
उक्त वक्तव्यमा जनाइएअनुसार यी दुई देशका सेनाले गरेको समन्वयात्मक कारबाहीबाट सिरियामा धेरै आइएसका लडाकू मारिएका छन्। हाल त्यहाँ आइएसका गतिविधिहरू पहिलेको तुलनामा धेरै नै कम भएको विश्लेषण यी दुई देशको छ।
यी दुई देशको संयुक्त सैन्य कारवाही पनि विगतमा भएको थियो। जसका कारण सिरियामा आइएसका धेरै लडाकू मारिएका छन् र यसबाट दुवै देश सन्तुष्ट छन्।
उक्त भेटपछि जारी भएको वक्तव्य अमेरिकी विदेशमन्त्रालयको वेबसाइटमा राखिएको थियो। उक्त वेबसाइटमा दिइएअनुसार दुवै देशका सेनाले विभिन्न माध्यमबाट सञ्चार स्थापना गरेका छन्।
सो विज्ञप्तिमा सिरियामा जारी सैन्य कारबाही मात्र भने त्यहाँको समस्या समाधानको विकल्प नभएको पनि स्पष्ट गरिएको छ।
दुवै देशका नेताहरुद्वारा जारी गरिएको उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ– सिरियामा जारी सैन्य कारबाही समस्याको समाधान होइन, समाधानका लागि त राजनीतिक निकास नै चाहिन्छ।
सिरियामा हाल जारी हिंसाको अन्त्यका लागि अरु केही हुन सकेन भनेपनि यसको विकल्प भनेको यसअघि संयुक्त राष्ट्रसंघले अघि सारेको प्रस्ताव नं २२५४ बमोजिमको निकास निकाल्नुपर्दछ ।
उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सिरियामा आम निर्वाचन र त्यसपछिको अवस्थामा संविधानमा संशोधन या सुधार गरी यहाँबाट भागेर शरणार्थीका रुपमा विभिन्न देशमा रहेका सिरियालीलाई सकुशल घर फर्काउनुपर्छ भन्ने व्यवस्था छ ।
सिरियामा गएको पाँचवर्षभन्दा लामो समयदेखि हिंसा जारी छ। सो हिंसाका कारण त्यहाँ साढे दुई लाख भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यहाँको सुरूको राजनीतिक हिंसा हाल आएर गृहयुद्धमा परिणत भएको छ।
तर त्यहाँ शान्ति स्थापनाको प्रयास भने हुन सकेको छैन । यसअघि भएका कैयौं शान्तिवार्ताहरू तथा पछिल्लो समयमा भएको जेनेभा वार्ता पनि शान्ति स्थापनाको काममा सफल हुन सकिरहेको छैन ।
यसअघि सिरिया समस्याको समाधानका लागि संयुक्त राज्य अमेरिका र रुसको संयोजकत्वमा विभिन्न समिति निर्माण हुनुका साथै सैन्य परिचालन लगायतका प्रयासहरू भएका थिए ।
तर ती प्रयासहरूले आजका मितिसम्म पनि सिरियामा शान्ति स्थापनाको काममा सफलता पाउन सकिरहेका छैनन् ।