‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकी प्राकृतिक स्वास्थ्य प्रवद्र्धन गर्दै आएको प्रकृतिप्रेमी समूहले भदौ २५ गते शनिबार काभ्रेको नालादेखि नगरकोटसम्म स्वास्थ्यवद्र्धक पदयात्रा गराउने भएको छ।
समूहकी कोषाध्यक्ष एवं हाइकिङविज्ञ रामदेवी महर्जनकाअनुसार नाला गुम्बाबाट कृष्ण मन्दिर, आदेश्वर महादेव, कल्पेश्वर महादेव, कलमसी गाउँ, महादेव पोखरी, नगरकोट टप हुँदै शान्ति डाँडासम्म पदयात्रा गरिनेछ। यसरी करिब १५ किलोमिटर हाइकिङ गरिनेछ।
‘यो पदमार्गमा अध्यात्म र प्रकृतिको संगम छ’, हाइकिङ काठमाडौं पुस्तककी लेखक समेत रहेकी महर्जनले सेतोपाटीसँग भनिन्, ‘चारैतिरको हरियालीमा आँखा रमाउँछन्।’
समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेराका डाँडापाखामा हाइकिङ गराउँदै आएको छ। यसमा सहभागि हुन समूहको फोन नम्बर ५५४१९९ १ मा सम्पर्क गर्नु पर्नेछ।
पदयात्रीले ३ लिटर पानी, छाता वा बर्सादि, टे«किङ लौरो, जुकाबाट बच्न नुन वा सन्चो अनिवार्य बोक्नु पर्नेछ।
समूहको हाइकिङमा जंक फुड, फास्टफुड र मदिरा निषेध गरिन्छ। पदयात्रामा सहभागीलाई स्वास्थ्यबद्र्धक खानपान कसरी गर्ने भन्ने विषयमा जानकारी बाँडिन्छ।
हेर्नुहोस् तस्बिरहरू