हाइकिङ जागरण अभियान चलाउँदै आएको प्रकृतिप्रेमी समूहले भगवान शिवको प्रिय महिना ‘साउन’ को दोस्रो शनिबार (१४ गते) महादेव पदमार्गमा हाइकिङ गराएको छ।
उसले भक्तपुरको डोलेश्वरबाट पाटीभञ्ज्याङ, आशापुरेश्वर हुँदै साँगाको कैलाशनाथ भएर फनपार्कसम्म पदयात्रा गराएको हो।
पदयात्रीहरूले सिपाडोलबाट डोलेश्वर, पाटीभञ्ज्याङ हुँदै आशापुरेश्वर पुगेर स्वास्थ्यवर्द्धक खाजा खाएका थिए। खाजापछि आशापुरेस्वरस्थित श्री जागृति आधारभूत विद्यालयका लागि हाइकर्सहरूबाट उठेको सहयोग रकम १० हजार २ सय ५ रुपैयाँ समूहकी कोषाध्यक्ष एवं हाइकिङकी टोली नेता रामदेवी महर्जनले प्रधानाध्यापक राजु बस्नेतलाई हस्तान्तरण गरेकी थिइन्।
त्यसपछि उनले केही बेर पदयात्रीबीचमा अन्तरक्रिया चलाइन्। उनले स्वस्थ्य रहन उचित आहार, विहार र विचारमा जोड दिनुपर्ने बताइन्। लगत्तै गायक शेरबहादुर महर्जनको स्वास्थ्यवर्द्धक गीतमा हाइकर्सहरुले नाचगान गरे।
त्यहाँबाट पदयात्रीहरू साँगामा झरे। उनीहरू झोलुङे पुल तरेर कैलाशनाथ दर्शन गरी फनपार्कसम्म हिँडे।
‘हामी करिब १९ किलोमिटर हिँड्यौं’, हाइकिङ टोली नेता एवम् ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवीले सेतोपाटीसँग भनिन्, ‘यो पदमार्गमा प्रकृति, संस्कृति र अध्यात्मको सुवास पाइन्छ।’
हाइकिङमा ७ वर्ष उमेरदेखि ७५ वर्षसम्मका सहभागी भएका थिए। उनीहरूलाई ठाउँठाउँमा फलफूल र पानी ब्रेक गराउँदै मध्यम गतीमा हिँडाइएको थियो।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर स्वस्थ्य समाज निर्माणमा क्रियाशील समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार यसैगरि पदयात्रा गराउँदै आएको छ। उसको हाइकिङमा फास्टफुड, जंकफुड, मदिरा र मासु निषेध गरिन्छ। पदयात्रीलाई स्वस्थ रहने ज्ञान बाँडिन्छ।
समूहको अर्को हाइकिङ साउन २८ गते शनिबार फरक ठाउँमा हुनेछ। यसमा सहभागी हुन ५५४१९९१ मा सम्पर्क गर्नु पर्नेछ।