उचित आहार, विहार र विचार (उआविवि) मार्फत् स्वास्थ्य जागरण फैलाउँदै आएको प्रकृतिप्रेमी समूहले असार २५ गते शनिबार दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको दलचोकी क्षेत्रमा मनसुन हाइकिङ गराएको छ।
समूहका संस्थापक डा. उमेश श्रेष्ठको नेतृत्वमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका हाईकर्सहरूले आस्वा, आहा नारा गुन्जाउँदै नल्लु भञ्ज्याङबाट पाथीभरा मन्दिर, गोठभञ्ज्याङ, दलचोकी, निरोगआनन्दधाम हुँदै विर्खेधारासम्म पदयात्रा गरेका थिए।
दलचोकीमा समूहले निरोगआनन्धाम बनाएको छ। निरोग आनन्दधाम आफ्नो स्वास्थ्यको हेरचाह आफैं गरी निरोग आनन्दको व्यवहारिक स्वअध्ययन र स्वअभ्यास गर्न शान्त, रमणीय, स्वास्थ्यवर्द्धक आधुनिक आवासीय सुविधासहितको केन्द्र हो। यहाँ समूहले हरेक महिनाको १ पटक आवासीय शिविर ‘दिशा बदले दशा सप्रिन्छ’ साँचो ध्यान शिविर सञ्चालन गर्दै आएको छ।
दलचोकी आफैंमा दक्षिण ललितपुरको शितल गन्तव्य (२,३०० मिटर) हो। मनसुनमा दलचोकी भुइँकुहिरोभित्र हुन्छ। यो रमणीय डाँडाबाट आकाश उघ्रिएका बेला काठमाडौं उपत्यका र हिमालको लर्कन देखिन्छ।
त्यसैगरि नल्लुमा रहेको पाथीभरा पनि आकर्षक गन्तव्य हो। ताप्लेजुङको पाथीभरामा रहेकी देवीको झल्को दिने गरि नल्लुमा मूर्ति बनाइएको हो। प्राकृतिक सौन्दर्यमा मुस्कुराइरहेकी छिन् नल्लुकी पाथीभरा (१,८९० मिटर)। पाथीभराबाट चारैतिर हरिया डाँडा देखिन्छन्।
‘यसपालिको मनसुन हाइकिङमा हामीले १५ किलोमिटर पदयात्रा गर्यौं’, समूहकी कोषाध्यक्ष एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनले सेतोपाटीसँग भनिन्, ‘खाना खानुअघि उकालीओराली १० किलोमिटर हिँड्यौं भने खानापछि ५ किलोमिटर ओराली झर्यौं।’
यसरी समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकर्सलाई डुलाउँदै आएको छ। समूहको पदयात्रामा घुमघामका साथै स्वास्थ्य ज्ञान पनि पाइन्छ। समूहको चौंथो शनिबारे हाइकिङको १६८ औं शृंखला दलचोकीमा भएको हो।
हाइकर्सहरूलाई निरोगआनन्दधाममा स्वास्थ्यवर्द्धक खाना खुवाइएको थियो। जसमा ब्राउन राइस, दुई थरि हरियो तरकारी, राजमा, फलफूलको अचार, प्राकृतिक खुर्पानीको लालमोहन र अन्त्यमा सलादस्वरुप गाँजर खुवाइएको थियो।
‘खानामा एक भाग अ्रन्न, एक भाग हरियो तरकारी र एक भाग सलाद खाँदा कब्जियत हुँदैन’, समूहका संस्थापक डा. श्रेष्ठले भने, ‘यसलाई तीन बराबर आहार भनिन्छ। यसरी ‘तीन बराबर आहार’ मिलाएर खाँदा शरीरलाई चाहिने रेशा छोक्राबोक्रा पुग्छ। शरीर मोटो बन्दैन। स्वस्थ्य भइन्छ।’
खानापछि सहभागीबीच अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियापछि स्वास्थ्य सम्बन्धी गीतमा नाचगान गरिएको थियो। नाचगानपछि हाइकर्सहरू विर्खेधारासम्म हिँडेका थिए। उनीहरू त्यहाँबाट गाडीमा सातदोबाटोमा फर्के।
समूहले सातदोबाटोमा रहेको निरोगाधामबाट आफ्ना सदस्यहरूलाई स्वास्थ्य सम्बन्धी निःशुल्क परामर्श दिँदै आएको छ।
समूहको हाइकिङमा मदिरा, जंकफुड र फास्टफुड निषेध गरिन्छ। उसको पदयात्रामा स्वास्थ्यवर्द्धक आहार र मौसमअनुसारका फलफूल खुवाउने गर्छ यसपालिको १६८ औं पदयात्रामा मौसमअनुसारको फल आँप खुवाइएको थियो।
महिनाको चौथो शनिबार हुने हाइकिङमा समूहले नै खाजा खुवाउँछ भने दोस्रो शनिबारे हाइकिङमा पदयात्रीले नै स्वास्थ्यवर्द्धक खाजा लिएर आउनुपर्छ। साथमा करिब दुई–तीन लिटर पानी पनि बोक्नुपर्छ।
समूहको अर्को हाइकिङ साउन १४ गते शनिबार फरक ठाउँमा हुनेछ। त्यसैले छाता ओढ्दै र धानको हरियो रोपो हेर्दै मनसुन हाइकिङमा हिँड्न सहभागी हुन् ५५४१९९१ मा सम्पर्क गर्न सकिनेछ।
हेर्नुहोस् तस्बिरहरू