लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो।
विगत ढेड दशकदेखि निरन्तर पर्यटन प्रर्वद्धनमा क्रियाशील रहेको लेखक तथा फोटो पत्रकार थापालाई कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याएवापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए।
भगवतीमाई गाउँपालिका–४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन्। नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित तस्बिरमा नेपालसहित ७ वटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रूचाउँछन्।
भरतबन्धु थापा यस्ता फोटो पत्रकार हुन् जसले देशभरका दृश्य क्यामरामा कैद गर्न ७७ मध्ये ७५ जिल्ला घुमिसके।
उनी संख्या बढाउन र रेकर्ड राख्न मात्र नयाँ जिल्ला टेक्दैनन्। जुन जुन जिल्ला टेक्छन्, त्यहाँको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र वन्य जीवनलाई समेत गहिरोसँग पर्गेल्छन् र आफ्नो दृश्यकथामा उतार्छन्।
भरतबन्धुको एउटा विशेषता के भने, उनी आफू मात्र देश दर्शन गर्दैनन्, बरू त्यहाँ पुग्न असमर्थहरूलाई आफ्ना तस्बिर र दृश्यकथामार्फत् देश दर्शन पनि गराउँछन्। यसको निम्ति उनी जहाँ जहाँ पुग्छन्, त्यहाँका बारेमा कम्तीमा एउटा दृश्यकथा लिएर आउँछन् जुन विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशन हुँदै आएका छन्।
पछिल्लो समय यी फोटो पत्रकार आफ्नो दृश्यकथालाई किताबका रूपमा प्रकाशन गर्न व्यस्त छन्।
मुलुक छिचोल्ने भरतबन्धुका २८ तस्बिरमा नेपाल