दलित समुदायले चलाएको नेपालकै पहिलो सामुदायिक होमस्टेमा लेखकहरूलाई घुमाइने भएको छ।
पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ ले तनहुँको व्यास नगरपालिका–१३ मा अवस्थित आँपस्वारा गाउँमा यही असार १५ गतेदेखि तीन दिन कवि, लेखक र पत्रकारलाई घुमाउन लागेको हो।
छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न मुलुकका २५ जना स्थापित लेखकलाई घुमाउन लागिएको हो।
उनीहरूले होमस्टेमा बसेर गाउँलेसँग अन्तरक्रिया गर्नेछन्। अनि यात्राबाट फर्केर मिडियामा आ–आफ्ना अनुभव लेख्नेछन्।
‘समग्र आँपस्वाराबासीको सम्मान गर्ने हाम्रो उद्देश्य हो’, कार्यक्रमका संयोजक एवं पर्यटन पत्रकार अमृत भादगाउँले भन्छन्, ‘आँपस्वारा प्रवर्द्धन गर्न हाम्रो यात्रा कोशेढुङ्गा बन्ने छ।’
यति मात्र होइन, आयोजकले आँपस्वारा गाउँको युट्युव भिडियो, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामाग्री पनि उत्पादन गर्नेछ। यसबाट गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।
पर्यटनका माध्यमबाट आर्थिक विकास र छुवाछुत अन्त्य गर्न गाउँलेले वि.सं. २०७२ सालदेखि सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन्। हाल गाउँका १८ घरमा पर्यटक राखिन्छ।
लेखकहरू होमस्टेमा बसेर गाउँघर डुल्ने छन्। काव्य–यात्रा आयोजकले स्थानीय केही दलित शिल्पिहरूलाई नगदसहित सम्मान पनि गर्नेछ। साथै कविहरूले पनि दलितका विषयमा लेखिएका कविता सुनाउनेछन्।
दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणिय गाउँ हो। ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्। गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ।
कन्सेप्ट नेपालले विगतमा ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ सफलतापूर्वक आयोजना गरेको थियो। खप्तड र फोक्सुन्डोको प्रवर्द्धन गर्न ती दुवै यात्रा कोशेढुङ्गा सावित भएका थिए।
यसैगरि उसले सुदूरपश्चिमकी लोकगायिका डिक्रा बादीलाई काठमाडौंमा ल्याएर एकल गायन कार्यक्रम पनि आयोजना गरेको थियो। आउँदो दसैं अगाडि नै पोखराका कवि इन्द्र राना प्रतीकको पनि एकल कविता वाचन कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको संयोजक भादगाउँलेले जानकारी दिए।