स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्दै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले असारको दोस्रो शनिबार ११ गते भक्तपुरको चाँगुनारायण क्षेत्रमा मनसुन हाइकिङ गराएको छ।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका हाइकर्सहरूले झ्याउँकिरीको संगीत सुन्दै पदयात्रा गरेका थिए।
विश्व सम्पदामा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिरबाट त्रिशूल डाँडा (मुलाकोट गढी) तिर लागेपछि तेलकोट भञ्ज्याङसम्म निरन्तर झ्याउँकिरीको आवाज सुनिएको थियो। विशेषतः गर्मी याममा झ्याउँकिरीको आवाज सुनिन्छ।
प्राकृतिक स्वास्थ्यका माध्यमबाट स्वस्थ्य समाज निर्माणको पक्षमा काम गर्दै आएको समूहको हाइकिङ काठमाडौंको ब्रम्हखेलबाट सुरू भएर चाँगुनारायण, त्रिशूलडाँडा, तेलकोट भञ्ज्याङ हुँदै साँखु क्षेत्रको पञ्चमहालक्ष्मी मन्दिरमा पुगेर पुरा भएको थियो।
‘हामीले करिब १६ किलोमिटर पदयात्रा गर्यौं’, समूहकी कोषाध्यक्ष एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनले भनिन्, ‘हामी हिँडेको रूट अध्यात्म, प्रकृति र गाउँले जीवनशैलीको त्रिवेणी हो।’
हाइकर्सहरू मनहरा क्षेत्रको हरियाली, डाँडाको जंगल, झ्याउँकिरीको संगीत, चराको चिरबिर, घामकिरीको नृत्य र धार्मिक सम्पदाको सौन्दर्यमा मोहित बनेका थिए।
समूहले यसरी महिनाको दुई पटक, दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। दोस्रो शनिबारको हाइकिङमा पदयात्री आफैंले स्वास्थ्यबर्द्धक खाना लिएर आउनु पर्नेछ भने महिनाको चौंथो शनिबार हुने हाइकिङमा समूहले नै खाना खुवाउँछ।
समूहको हाइकिङमा निरोगी बन्ने ज्ञान बाँडिन्छ। गत शनिबारको हाइकिङमा उचित आहार, विहार र विचार (उआविवि) प्रशिक्षक समेत रहेकी हाइकिङविज्ञ महर्जनले खानापछि त्रिशूलडाँडामा अन्तरक्रिया चलाएकी थिइन्।
त्यहाँ उनले स्वस्थ्य रहन कसरी खानपान गर्ने भन्ने विषयमा जानकारी बाँडेकी थिइन्। त्यसैगरि मोटोपन घटाउने उपाय पनि सुझाइन्।
अबको पदयात्रा असारको चौंथो शनिबार २५ गते फरक ठाउँमा हुनेछ। हाइकिङमा सहभागि हुन समूहको फोन नंम्बर ५५४१९९१ मा सम्पर्क गर्न सकिने छ।
हेर्नुहोस् केही तस्बिहरू