ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ।
प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरूवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो।
अभियानका क्रममा ज्याकराण्डा, कल्की, रूख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरूवा रोपिएको छ।
गुरूयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए।
धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजना छ।
मझुवागढी र कालिका भगवती मन्दिर आसपासको खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरूवा रोपेर आकर्षक गन्तव्यस्थल बनाइने भएको छ।
फूलैफूलको डाँडा बनाएर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए।
‘सुन्दर ठाउँ, वनजंगल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिन्छन्’, उनले भने।
मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने मझुवागढीमा १८०४ सालसम्म राजा रणवीर हाङले शासन गरेको बताइन्छ।
चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न र साहित्यिक तथा सांगितिक कार्यक्रम गर्न व्यक्ति तथा समूह पुग्ने गरेका छन्।
मझुवागढीको उत्तरतर्फ बारूद ढुंगा र हतियार निर्माण गर्ने भट्टी छ। गढीको पूर्वमा फूलपाती डाँडा, राँगा आहल र दमाहा ढुंगा छ। गढीको बीचमा मौली छ। त्यो बेला रणवीर राजाका रैतीहरूले दसैं मान्नका लागि ल्याएका राँगा–बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो।
मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ। त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ।
गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ तथा गढीवरिपरि बम्कर घेरासमेत छ। मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ।
मन्दिरमा अहिले पनि दैनिकजसो बलि दिने गरिन्छ। मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मंसिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ।
मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तीज लगायतका चाडपर्वमा ठूलो मेला लाग्छ।
मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ।
पर्यटकलाई लक्षित गरी यहाँ फलामे रेलिङ सहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैंचा र पानीको व्यवस्था छ। यहाँबाट हिमशृङ्खला र तराईका समथर भू–भागको दृष्यावलोकन गर्न सकिन्छ।
मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ। मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ। त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ।
चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी राखिएको बताइन्छ।